दार्जिजिङ । गोर्खाल्यान्ड राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका भारतीय गोर्खा समुदायको आन्दोलनमा प्रहरीले क्रुर दमन गरेको छ ।
पश्चिम बंगालमा आन्दोलनरत मोर्चाका कार्यकर्तामाथि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का कार्यकर्ता टासी भोटियाको मृत्यु भएको थियो ।
सोही घटनाको विरोधमा गोर्खाल्यान्ड समर्थकले दार्जिलिङमा निकालेको जुलुसमा प्रहरीले गोली चलाउँदा थप २ जनाको मृत्यु भएको हो । प्रहरीको गोली लागेर तुङसुङका सुरज सुन्दास र सिंहमारीको रोपवेका समीर गुरुङको मृत्यु भएको हो ।
घाँटी र टाउकोमा गोली लागेका उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो । मोर्चा कार्यकर्तामाथि जुन १७ मा गोली प्रहार हुँदा मोर्चाका ३ कार्यकर्ताको मृत्यु भएको थियो ।