स्थानीय तहले आज आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै

स्थानीय तहले आज आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै

काठमाडौं । स्थानीय तहले आज आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै छन् । व्यवस्थापिका संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेजस्तै स्थानीय तहका प्रमुख या तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नुपर्नेछ ।

वर्षभरी हुने चालू खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजश्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट स्थानीय व्यवस्थापिकामा प्रस्तुत गरिने छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार २५ गते पहिलो बजेट स्थानीय व्यवस्थापिकामा पेश गर्न निर्देशन दिएको थियो ।

गाउँ/नगर सभामा पेश भएको बजेट असार मसान्तसम्ममा पास गरिसक्नुपर्ने छ ।

कानुन नभई निर्देशिकामार्फत् २५ गते बजेट ल्याउनु भनेकाले प्राविधिक कठिनाइका कारण केही स्थानीय तहले भने एक÷दुई दिनपछि पनि बजेट सार्वजनिक गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

पारित गरेपछि मात्रै नयाँ आर्थिक वर्षमा स्थानीय तहले बजेट खर्च गर्न पाउने छन् । 

स्थानीय व्यवस्थापिकामा हाल निर्वाचित भएर आएका मेयर/अध्यक्ष र उपमेयर÷उपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चार सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँपालिकाका सदस्यहरु रहनेछन् ।

सभामा प्रत्येक वडाबाट कम्तिमा दुई जना महिलाको प्रतिनिधित्व हुने छ । सो सभामा पेश भएको बजेट पास भएपछि खर्च गर्न बाटो स्थानीय तहलाई खुला हुने छ ।