समान्यतया पितृसत्ताका बारेमा कुराकानी अनि छलफल हुँदै गर्दा प्रायः महिलामाथि हुने हिंसा, विभेद, बालविवाह, दाइजो, छाउपडी वा राजनीतिक प्रतिनिधित्वका विषयमा बढी बहस हुने गर्छ तर पितृसत्ताको एउटा अर्को रूप, जसबारे कमै चर्चा हुन्छ । सायद यस विषयलाई जानेरै तोडमोड गरिन्छ ।
जति पनि पितृसत्ताका आडमा महिलामाथि परम्पराका नाममा, लैगिंकताका नाममा लादिएका कुराहरू छन्, ती कुरीति हुन् भन्ने कुराको भेउ घरका पुरुषले आफ्नो घरमा देख्दैनन् । बाहिरी मासमा मात्र, त्यो पितृसत्ता हो भन्ने कुरा भाषण गर्न पछि पर्दैनन् । अनि आफ्नै आमा, दिदी, बहिनी र श्रीमतीप्रतिको असमान व्यवहार बुझ्दैनन् ।
विडम्बना के छ भने, महिलाको सम्मान, अधिकार, अस्तित्वको भाषण गर्ने समाजका केही पुरुष अर्थात राजनीति लिडर वा अभियान्ताले आफ्नै घरका महिलाको समान अस्तित्वको यात्रामा साथ दिन जानेका छैनन् । महिलालाई अझै पनि वस्तुका रूपमा लिन्छन् । नेपाली समाजमा आमा महान् हुन् आमालाई मातृभूमिको दर्जा दिनुपर्दछ भन्ने वाक्य अत्यन्तै लोकप्रिय छ । ठूलाठूला माक्र्सवादी ठेलीदेखि निबन्ध, कविता, गीतहरूसम्म आमाको त्यागको प्रशंसा गरिन्छ ।
हामीले पनि खुब प्रशंसा गर्छौं– आमा भगवान् हुन् भन्छौँ तर के हामीले एउटा प्रश्न आफैँलाई सोधेका छौँ ? हामीले आमालाई परिवारको निर्णय प्रक्रियामा बराबरीको स्थान दिएका छौँ ? एउटा आमाको भावनालाई धैर्यताका साथ सुनेका छौँ । एउटा श्रीमतीको खुसी, उनको रोजाइ, इच्छा के छ भनेर सोध्ने प्रयास कतिपटक गर्यौं होला नेता वा अभियान्ताले ? हाम्रो प्राथमिकताको लिस्टमा कति पार्ने गरेका छौ ? स्वतन्त्र रूपमा खुल्न ठाउँ कति दिएका छौँ । आमा पृथ्वी हुन्, सबै कुरा बोक्न सक्छिन् भन्ने सोचको भार उनको टाउकोमा बोकाइरहेका छौँ ? आमाले एउटा सन्तानलाई पूर्ण रूप दिनका लागि हजारौँ सपना, रहर र आफू हुनुको अर्थलाई तिलाञ्जली दिएको कुराको खुलेर कहिल्यै प्रशंसा गर्न भ्याएका छौँ
घरको सम्पत्ति, छोराछोरीको शिक्षा, आर्थिक योजना वा सामाजिक निर्णयमा आमाको मतलाई अन्तिम निर्णयको आधार बनाइन्छ कि केवल औपचारिक रूपमा सोधिन्छ कसैले त सोधेका पनि होलान् या नहोलान् ?
हामीले भाषणमा गरिएका समान अधिकार, अस्तित्वको कुरालाई घरबाटै लागू गर्न सकेमा परिवर्तनको सुरुवात घरबाटै हुन्थ्यो । एउटा उमेर आएपछि आर्थिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि उनका निर्णयलाई सम्मान गर्न सक्नुपर्छ । यस्तै प्रश्न छोरी, वुहारी दिदी र बहिनीका सन्दर्भमा पनि लागू हुन्छ । हाम्रो समाजमा धेरै दिदीबहिनीहरू छन्, जसले भाइबहिनीको शिक्षा, घरपरिवारको अवस्थालाई मध्यनजर गर्दै आफ्ना सपना त्याग गरेका उदाहरण प्रशस्त छन् ।
समाजमा त्यस्ता धेरै छोरीहरू छन्, जसले आफ्नो करिअरभन्दा परिवारको खुसी रोज्न बाध्य छन् तर उनीहरूको त्यो त्यागको मूल्यांकन भने भएको छैन, न त प्रशंसा, न त निर्णय अधिकारमा संलग्नता गराइन्छ । नेपाली समाजले बनाएको शिक्षित व्यक्तिको परिभाषा कता–कता नमिलेको साँघुरो हो कि जस्तो लाग्छ । कुनै व्यक्ति प्रोफेसनल रूपमा जागिर खानु अनि पैसा कमाउनु मात्र शिक्षित व्यक्ति हो भनेर मान्नु नै गलत होजस्तो लाग्छ ।
वास्तवमा महत्त्वपूर्ण कुरा, व्यक्ति कत्तिको व्यवहारिक छ, परिवर्तनका लागि उसको भूमिका के छ ? ऊ समग्र मानिसका लागि कस्तो धारणा बनाउँछ, ताकि महिला र पुरुष भनेर धारणा बनाउँछ भन्ने कुराले परिवार र समाजमा महत्वपूर्ण भूमिका खेल्छ ।
समाजका अनगिन्ति उदाहरणका रूपमा लिन सकिन्छ । मानिसको चेतना स्तर अनि लैंगिकताका आधारमा कसरी सोच्छ र सम्मान गर्छ भन्ने कुरा एकछिन् बसेर कुरा गर्दा नै आउँछ । महिला लिडरलाई स्वीकार गर्न, माथिल्लो तह कर्मचारी महिलालाई स्वीकार्न यस्तै यस्तै उदाहरण द्दरदेखि समाजसम्म यत्रतन्त्र सर्वत्र पाइन्छ । सबैभन्दा चिन्ताजनक कुरा के हो भने, पितृसत्तालाई धेरैपटक महिलाले होइन, पुरुषले मात्र होइन, सम्पूर्ण समाजले मिलेर निरन्तरता दिइरहेको हुन्छ । छोरालाई तँ पुरुष होस भनेर विशेष अधिकार दिइन्छ, छोरीलाई सहन गर्नुपर्छ भनेर सम्झाइन्छ । यही संस्कारले पछि गएर असमानतालाई सामान्य बनाइदिन्छ । पेसा र पढाइले मात्र मान्छे शिक्षित व्यक्ति भन्न नमिल्ने रहेछ भन्ने कुराबुझ्नु पर्दछ ।
समाजमा एकल पुरुष मात्र होइन, महिला पनि छन् । बेलैमा श्रीमती गुमाएको श्रीमान्लाई बिहे गर्दिन यो समाज आतुर हुन्छ । उनलाई विचरा भन्नेहरू, दया देखाउनेहरू र एक्लो भयो, जीवनसाथी चाहिन्छ भन्नेहरू धेरै हुन्छन् र मिल्दो जीवन साथी खोजिदिन सबै हतारिन्छन् । तर, एउटी महिला उमेरमै एकल हुँदा, हेप्न, चेप्न र सहाराविहीन भएको हेर्न यो समाज त्यत्तिकै आतुर हुन्छन् ।
तर, त्यो एकल पुरुषलाई जस्तै ती महिलालाई पनि जीवनसाथी खोज्न आतुर यहाँ कोही हुँदैनन्, न परिवार न समाज ? यदि ती महिलाले गरिहालिन् भने पनि सुन्नुपर्ने अपशब्दहरू, भोग्नुपर्ने लाञ्छनाहरूको त अर्को पहाड छँदै छ । सामाजिक संरचनाअनुसार स्वतन्त्रता, खुसी, सम्मान, स्वाभिमान भन्ने कुरा पुरुषलाई मात्र चाहिने हो र ? यो सबै कुराहरूको कारक स्रोत समाज पितृसत्तात्मक सोचको खाडलबाट माथि उठ्न खोज्दै गर्दा फेरि बीचमै ढल्नु हो ।
पितृसत्ता केवल पुरुषको प्रभुत्व होइन, यो एउटा सामाजिक सोच हो। जसले महिलाको श्रम र त्यागलाई अदृश्य बनाउँछ, आवाजलाई कमजोर ठान्छ, नेतृत्वलाई शंकाको दृष्टिले हेर्छ या त त्यसलाई स्वीकार गर्दैन । आमाले त्याग गरेका सपना, दुःखहरूमाथि हरेक पटक प्रश्न गरिन्छ– तिमीले के गर्यौ र त्यसैले अपवादबाहेक शिक्षित परिवार, सम्पन्न परिवार वा शहरमा बस्ने परिवार पनि यसबाट पूर्ण रूपमा मुक्त छैनन् ।
नेपालको संविधानले महिलालाई समानताको अधिकार दिएको छ । हजारौँ महिलाहरू निर्वाचित भएर स्थानीय सरकारमा पुगेका छन् । तर प्रश्न अझै बाँकी छ, सार्वजनिक पदमा पुगेकी महिलाले पनि घरभित्र समान सम्मान पाएकी छिन् त । धेरै निर्वाचित महिला जनप्रतिनिधिहरूले घरको काम, सामाजिक अपेक्षा र सार्वजनिक जिम्मेवारीको दोहोरो वा तेहेरो भार बोकेको अनुभव सुनाउँछन् । यसले देखाउँछ कि कानुनी प्रतिनिधित्व र सामाजिक समानता एउटै कुरा होइनन् ।
हामीले महिलाको सम्मानलाई अझै पनि उनको पेसासँग जोडेर हेर्ने गल्ती गरिरहेका छौँ– गृहिणी भए अरु के काम छ र खेतमा काम गरे कर्तव्य, सरसफाइ कर्मचारी भए सानो काम, उच्च पदमा पुगे भने , घर कसले सम्हाल्छ ? भन्ने प्रश्न । आखिर महिलाले जे गरे पनि मूल्यांकनको तराजु किन फरक हुन्छ सम्मान पेसाले होइन, व्यक्तिको मान–मर्यादाले निर्धारण हुनुपर्छ । सबैभन्दा चिन्ताजनक कुरा के हो भने, पितृसत्तालाई धेरैपटक महिलाले होइन, पुरुषले मात्र पनि होइन, सम्पूर्ण समाजले मिलेर निरन्तरता दिइरहेको हुन्छ । छोरालाई तँ पुरुष होस् भनेर विशेष अधिकार दिइन्छ, छोरीलाई सहन गर्नुपर्छ भनेर सम्झाइन्छ । यही संस्कारले पछि गएर असमानतालाई सामान्य बनाइदिन्छ ।

पितृसत्ताको अन्त्य त्यतिबेला सुरु हुन्छ, जब पुरुषले पहिलोपटक आफ्नी आमाको आवाज ध्यान दिएर सुन्छ, दिदीबहिनी वा घरको महिलाको निर्णयलाई बराबरीको मान्यता दिन्छ र महिलालाई सम्बन्धका आधारमा होइन, पूर्ण अधिकार भएको नागरिकको रूपमा स्वीकार गर्छ । यदि हामी साँच्चै समान समाज चाहन्छौँ भने परिवर्तन संसदबाट सुरु हुँदैन, घरबाट सुरु हुन्छ । आमाको श्रमलाई कर्तव्य होइन, योगदानका रूपमा स्वीकार गर्नुपर्छ । दिदीको विचारलाई भावनालाई निर्णयका रूपमा लिनुपर्छ । श्रीमतीलाई सहयोगी होइन, समान साझेदार मान्नुपर्छ । छोरीलाई संरक्षणको वस्तु होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हुर्काउनुपर्छ । कुनै पनि समाजको सभ्यता त्यसले बनाएका अग्ला भवन, सडक वा कानुनले मात्र मापन हुँदैन । त्यो समाजले आफ्नै घरकी आमा, दिदी, बहिनी र श्रीमतीलाई कति सम्मानपूर्वक व्यवहार गर्छ भन्ने कुराले मापन हुन्छ ।
अन्त्यमा, मानव समुदायले जतिवेलादेखि स्वतन्त्रता, समानता र न्यायका लागि मुक्तिका विभिन्न उपाय खोज्न थाले, त्यतिवेलैदेखि नै जन्मदेखि नमरुन्जेलसम्म दासत्वका विभिन्न जालोले जेलिएका महिलाहरूले तमाम उत्पीडनको साङ्लो चुडाउन भरपुर प्रयत्न गरेको इतिहासमा पढ्न पाइन्छ।





























