दायाँ र वायाँबाट भएको चौतर्फी हमलाको प्रतिरोध गर्दै नेपालको कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्व गर्न सफल नेकपा (क्रान्तिकारी माओवादी)ले पन्छाउनु पर्ने अझै पनि थुप्रै चुनौतीका चाङहरु विद्यमान छन् । कम्युनिष्ट आन्दोलनको प्रक्रियाको विभिन्न कालखण्डमा बाइप्रोडक्टको रुपमा जन्मिएका र जन्माइएका संशोधनवादी, नवसंशोधनवादी र अवसरवादीहरुले थुपारेका फोहर सफा गर्नुपर्ने कार्यभार क्रान्तिकारी माओवादीको काँधमा छ ।
माक्र्सवाद, माक्र्सवाद–लेनिनवाद, माक्र्सवाद–लेनिनवाद–माओविचारधारा र माक्र्सवाद–लेनिनवाद–माओवादलाई आवरणमा पार्टीको गाइडलाइन बनाएर भित्रभित्रै त्यही गाइडलाइनलाई ध्वस्त पार्न, विकृत पार्न र स्वार्थनुरुप मालेमाको गलत व्याख्या विश्लेषण गरेर हिड्नेहरुले आम जनसर्वसाधारणमा थुप्रै भ्रमहरु पारेका छन् । जनतालाई असली अर्थमा कम्युनिष्ट(माओवादी) पार्टीको पहिचान गर्न गाह«ो परिरहेको छ । जनताले बुझ्ने भाषामा यी भ्रमको चिरफार गर्न जरुरी छ ।
नक्कली कम्युनिष्ट र माओवादीहरुको बोलवाला बढिरहेको वर्तमान समयमा राप्रपा, कांग्रेस र कम्युनिष्ट(मुख्यतः एमाले र माके)बीच भेद छुट्याउन जनतालाई मुस्किल परिरहेको छ । उही व्यवस्था, उस्तै सोंच, चिन्तन, उस्तै जीवनशैली र कार्यशैली, उनीहरुबीचको तालमेल र सहकार्य देखेका जनताले अलग अलग पार्टीको ब्यानर झुण्ड्याइरहनुको अर्थ देखेका छैनन् । वास्तविक कम्युनिष्ट तथा माओवादी पार्टीलाई अगाडि आउन नदिन उनीहरुले अनेकौं चुनौतीहरु खडा गरेका छन् । संसदवादी तथा कानुनी कम्युनिष्ट तथा माओवादीले खडा गरेको चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्ने अभिभारा सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको काँधमा छ ।
साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिक्रियावादले खडा गरेको चुनौतीहरुको सामना गर्नु त छँदैछ । विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको निर्मम समीक्षा गर्दै आफ्नै कमीकमजोरीप्रति पनि निर्मम बन्नुपर्ने र कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने ऐतिहासिक कार्यभार सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुकै काँधमा छ ।
प्रकृति, मानव समाज र अहिलेसम्म मानिसले आर्जन गरेको सारा ज्ञानको अध्ययन अनुसन्धान गरेर ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा आफ्नो रणनीति र कार्यनीतिको विकास गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कार्यभार सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले नै पूरा गर्नुपरेको छ ।
नेपाली धरातलीय यथार्थको सुक्ष्म अध्ययन गरी श्रमजीवि शोषित उत्पीडित वर्गभित्रको पछिल्लो पुस्तालाई कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनतर्फ आकर्षित गर्ने योजना तथा कार्यक्रमको तर्जुमा गर्नमा पनि क्रान्तिकारीहरु खप्पिस बन्नुपरेको छ । आन्दोलनमा देखिएका निराशालाई उत्साहमा र पलायनलाई प्रतिबद्धतामा बदल्न सक्ने ल्याकतको विकास पनि गर्नुपरेको छ ।
नेपालमा पुँजीवाद आइसक्यो अब समाजवादी क्रान्तिको कार्यदिशामा अगाडि बढ्नु पर्दछ भनेर संशोधनवादी, नव संशोधनवादी र अवसरवादीहरु एकहोरो कोकोहोलो मच्चाइरहेका छन् । तर नेपाली समाजमा विद्यमान उत्पादन सम्बन्ध अझै पनि सामन्तवादी छ । यहाँ अहिले पनि टुक्रे र परम्परागत रुपमा खेती गर्ने किसानहरुको संख्या करिब ७० प्रतिशत छन् । कृषिको आधुनिकीकरण र व्यवसायीकरण अझै नारामै सीमित छ । निर्वाहमुखी अर्थतन्त्रमा ८० प्रतिशत ग्रामीण अर्थतन्त्र टिकेको छ । राज्य संरचना, राजनीतिक पार्टीहरुदेखि समाजका सबै तहमा सामन्तवादी संस्कार, मूल्य मान्यताहरुले अझै पनि बलियो उपस्थिति देखाइरहेका छन् । यी तथ्यहरुलाई नजरअन्दाज गर्दै साम्रज्यवादका दलालहरुले गरेको समाजको गलत व्याख्या र विश्लेषणलाई क्रान्तिकारीहरुले मिथ्या सावित गर्दै आफ्नो सही र वस्तुवादी विश्लेषणलाई स्थापित गर्न गराउन कडा मिहनेत गर्नुपर्दछ ।
वर्गसंघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोगबीच सन्तुलन कायम गर्दै संघर्षका बीचबाट नेतृत्व निर्माण हुने मान्यतालाई दह«ोसँग पकड्दै जनवादी केन्द्रीयतामा आधारित अनुशासनवद्ध, प्रतिबद्ध, गतिशील र जुझारु संगठन निर्माण र विस्तारमा जोड दिनु नेपालको कम्युनिष्ट तथा माओवादी आन्दोलनको तत्कालको कार्यभार बनेको छ । एकमा तीनको सिद्धान्तलाई पकडेर संगठनलाई चुस्त र गतिशिल बनाउन जरुरी छ । संगठनको मामलामा नेपालको कम्युनिष्टमा धेरै खाले समस्या देखिंदै आएको छ । युवा, बयस्क र वृद्धलाई हरेक संगठनमा मिलाउन जरुरी छ । लाल र निपूर्णको सन्तुलन कायम गर्दा लाललाई प्राथमिकतामा राख्न जरुरी छ । लाललाई निपूर्ण बनाउन जति सजिलो र सहज हुन्छ, त्यति सजिलो र सहज निपूर्णलाई लाल बनाउन हुँदैन । चौतर्फी अवसरवादको दबदबा रहेको अहिलेको परिवेशमा त अझ कठिन छ ।
उल्लेखित कार्यभारको पूरा गर्ने सामथ्र्य नेपाली कम्युनिष्ट आन्दोलनको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) बाहेकले सक्ने देखिन्न । नेपालमा अस्तित्वमा रहेका अन्य कम्युनिष्ट नामधारी पार्टीहरुले मालेमाका सर्वमान्य सिद्धान्त– वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, निरन्तर क्रान्ति, वलप्रयोगको अनिवार्यता लगायत–लाई परित्याग गरिसकेका छन् । यो सिद्धान्तलाई पकड्ने नेकपा (क्रान्तिकारी माओवादी) मात्र बँचेको छ । यसर्थमा, नेपालमा सम्पन्न गर्नुपर्ने नयाँ जनवादी क्रान्तिको कार्यभार यही पार्टीका नेता कार्यकर्ताहरुको काँधमा छ । र, यही पार्टीको नेतृत्वको वरिपरि अन्य वाम पार्टीभित्र रहेका क्रान्तिकारीहरु र समाजको आमूल परिवर्तनका पक्षधर जनपंक्ति गोलबन्द हँुदै जानेछन् । यो ऐतिहासिक कार्यभार पूरा गर्नुपर्ने दायित्वबोध क्रान्तिकारी माओवादीका सबै नेता कार्यकर्तामा हुन जरुरी छ ।