उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि

उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि

एजेन्सी । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले जापान सागरमा मंगलबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ ।

एउटा लिखित वक्तव्य जारी गर्दै उनले यसलाई अमेरिकाविरुद्ध प्योङयाङले उत्पन्न गराएको खतराको संज्ञा दिएका छन् ।

उत्तर कोरियाको यो मिसाइल परीक्षणपछि अब उसले अमेरिकी भूभागसम्म मार हान्न सक्ने भएको छ ।

वाशिङटनले पछिल्लो घटनाक्रमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ ।

चीन र रुसले पारमाणविक कार्यक्रम स्थगित गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । उनीहरुले अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न पनि अपील गरेका छन् ।

मस्कोमा भएको भेटवार्तापछि चिनियाँ राष्ट्रपति शी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले प्योङयाङलाई आफ्ना पारमाणविक गतिविधि स्थगित गर्न संयुक्त रुपमा आह्वान गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले प्योङयाङविरुद्ध कदम चाल्न सुरक्षा परिषद्लाई आग्रह गरेका छन् ।

यसअघि मंगलबार जापान सागरमा खसेको क्षेप्यास्त्रले विश्वमा रहेको जुनसुकै निशानालाई मार हान्न सक्ने उत्तर कोरियाली टेलिभिजनमा घोषणा गरिएको थियो ।

प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको पहिलो सफल परीक्षण भएको बताएको छ ।