एजेन्सी । अमेरिकाको एरिजोना राज्यस्थित फोनिक्स इलाकामा बढ्दो तापमानका कारण हवाई उडान रद्द गर्नुपरेको छ ।
अहिलेसम्म गर्मीका कारण ४० उडान रद्द भइसकेका छन् । अमेरिकी मौसम विभाग एरिजोनामा मंगलबार अधिकतम ४९ डिग्री तापक्रम पुगेको छ । यो तापक्रम विमान सञ्चालनका लागि आवश्यक भन्दा धेरै बढी हो ।
यही कारण अमेरिकी एयरलाइन्स कम्पनीले स्काई हार्बर एयरपोर्टबाट आफ्ना दर्जनौं उडान रद्द गरेको छ । स्थानीय फक्स न्युजका अनुसार क्षेत्रीय उडान समेत रद्द गरिएको छ । जसमा बाम्बार्डियर सीआरजे एयरलाइन्सको प्रयोग हुन्छ र यो विमान अधिकतम ४८ डिग्री सेल्सियस तापमानमा सुचारु रुपमा काम गर्दछन् ।
पछिल्लो समयमा फोनिक्समा सबैभन्दा धेरै तापमानको रेकर्ड २६ जुन १९९० मा भएको थियो । त्यसबेला त्यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो ।
के हुन्छ समस्या ?
यस्तो अवस्थामा धेरै तापमानमा विमान उडाउन के समस्या हुन्छ भन्ने प्रश्न उठ्छ । जब तापमान बढ्छ, तब वायुको घनत्व कम हुनेगर्छ र यो विमान उडाउनका लागि आवश्यक घनत्वभन्दा कम हुन्छ ।
यस्तो अवस्थामा विमानलाई धेरै क्षमता भएको इन्जिनको आवश्यकता पर्दछ । यो यस्तै समस्या हो, जुन सन् २०१६ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकणले जलवायु परिवर्तनको गम्भीर असर नागरिक उड्डयनमा गर्ने औल्याएको थियो ।
यस्तो समस्या मध्यपूर्वका देशका अलावा दक्षिण अमेरिकी देशमा देखिने गर्दछ । बोइङ ७४७ र एयरबसजस्ता केही विमानले उडान भर्न सक्छन् । अमेरिकी एयरलाइन्सल् यस्ता विमानले ५३ डिग्री तापक्रमसम्म उडान भर्न सक्ने जनाएको छ ।