एजेन्सी । बेलायती प्रहरीले ३ दिनअघि लण्डनस्थित लण्डन ब्रिजमा भएको आतंकवादी हमलामा संलग्न तीन जनाको नाम सार्वजनिक गरेको छ ।
मंगलबार बिहानै दुई हमलाकारीको नाम सार्वजनिक गरेको प्रहरीले बेलुका तेस्रो हमलाकारीको समेत नाम सार्वजनिक गरेको हो ।
शनिबारराति लण्डन ब्रिजमा हमला गर्नेहरु २७ वर्षीय खुराम बट र ३० वर्षीय रसीद रेदवान र २२ वर्षीय युशेफ जाघ्बा रहेको प्रहरीले जनाएको छ ।
पाकिस्तानमा जन्मिएका खुराम बट र रेदवान दुवै जना अन्य दुई घटनामा समेत संलग्न रहेको प्रहरीको भनाई छ । तेस्रो आक्रमणकारी युशेफ भने मोरोक्कन–इटालियन नागरिक भएको जनाएको छ । खुरामको एक सन्तान रहेको बताइएको छ ।
उनले इस्लामवादी उग्रवाद बारेको एउटा टेलिभिजन डकुमेन्ट्रीमा भाग लिएको समेत जनाइएको छ । लण्डनमा भएको सो हमलामा परी ७ जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका छन् ।
आक्रमणमा परी मारिएकी अस्ट्रेलियन नर्सको समेत नाम खुलेको छ । उनी २८ वर्षीय नर्स क्रिष्टी बोडेन रहेको खुलेको छ ।
लण्डन ब्रिजमा शनिबार राति तीन आक्रमणकारीले सेतो कार ठोक्काएर चक्कु आक्रमण गरेका थिए । सो क्रममा घाइते भएका ४८ जना मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।






























