एजेन्सी । कतारले आफूसँग सम्बन्धविच्छेदको निर्णय गरेका राष्ट्रलाई कूटनीतिक समस्या समाधानका लागि वार्तामा आउन आग्रह गरेको छ ।
कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने भन्दै वार्तामा बस्न आग्रह गरेको हो ।
साउदी अरब, इजिप्ट, युएई, बहराइनसहित केही राष्ट्रले कतारले चरमपन्थीलाई सहयोग गरेको आरोप लगाउँदै सम्बन्ध विच्छेदको निर्णय गरेपछि त्यस क्षेत्रमा तनाव झनै गहिरिएको छ ।
साउदी अरब, इजिप्ट र बहराइनले मंगलबारदेखि कतारका जहाजहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न नदिने जनाएका छन् ।
यस्तै इत्तिहाद, इमिरेड्ससहित केही हवाई सेवा प्रदायक संस्थाले कतारका लागि आफ्ना उडानहरु बन्द गरेका छन् । कतारले पछिल्लो घटनाक्रममा जनताको जनजीवनमा कुनै असर पर्न नदिने बताएपनि सर्वसाधारण सोमबारदेखि नै खाद्यान्न भण्डारमा लागेका छन् ।
साउदी अरबले कतारसँगका सबै प्रकारका सीमा बन्द गरेको छ । कतारमा जाने खाद्यान्नको ४० प्रतिशत आपूर्ति कतारबाट लोरीमार्फत हुने अनुमान गरिएको छ ।
कुवेतले भने कतार र अन्य खाडी राष्ट्रबीच बिग्रिएको सम्बन्ध सुधार गर्नका लागि मध्यस्थता गर्ने जनाएको छ ।
कुवेतका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका शासक अमीर शेख तामिम बिन हमाद अल थानीसँग यस विषयमा कुराकानी गरेका छन् ।
बिग्रिएको सम्बन्ध पुनःस्थापना गरी पुरानै स्थितिमा फर्काउन कुवेतले सक्दो प्रयास गर्ने र कतारका कुनै पनि नेता वा अधिकारीले यस संकटबारे हाल मुख नखोल्न कुवेतका शासकले कतारका अमीर शेख तामिम बिन हमादसँग अनुरोध गरेको बताइएको छ ।
कतारको राजधानी दोहामा केन्द्रिय कार्यालय रहेको भू–उपग्रहीय टेलिभिजन प्रसारण सञ्जाल अल–जजिरालाई एक अन्तर्वार्ता दिने क्रममा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमानले कतारमाथि आफ्नो मनोमानी लाद्न खोज्ने र उसको आन्तरिक मामिलामा हस्तक्षेप हुने कुनै पनि गतिबिधि कुवेतलाई मान्य नहुने पनि बताएका छन् ।
सन् १९९१ मा अमेरिकी तथा बहुराष्ट्रिय सेना र इराकबीच भएको खाडीको युद्धपश्चात् पहिलो पटक गल्फका अरबी राष्ट्रहरुबीच यस प्रकारको चरम कूटनीतिक संकट उत्पन्न भएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेतका कारण कतारसँग अन्य देशले कूटनीतिक सम्बन्ध विच्छेद गरेको देखिएको छ । ट्रम्पले हालै साउदी अरबको भ्रमणका क्रममा आफूले कतारले चरमपन्थी विचारधारालाई आर्थिक सहायता दिएको बताएको उल्लेख गरेका छन् ।
एक ट्विटमा उनले भनेका छन्, ‘मध्य पूर्वको मेरो भ्रमणका क्रममा अब चरमपन्थीलाई वित्तीय सहयोग गर्न नसकिने बताएको थिए । नेताहरुले कतारतर्फ इशारा गरेका छन् ।’
गल्फ राष्ट्रले कतारसँगको हवाई सम्बन्ध समेत विच्छेद गरेपछि कतार भएर उड्ने अन्तर्राष्ट्रिय उडान समेत प्रभावित बनेका छन् । कतारको राजधानी दोहाको विमानस्थल अन्तर्राष्ट्रिय उडान बदल्ने प्रमुख बिन्दु हो । यो निर्णयसँगै कतार, इत्तिहाद र इमिरेड्स एयरको उडान प्रभावित भएको छ ।