शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित, निश्कलंक छवी बनाउने चुनौती

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा झण्डै दुईतिहाई सांसदको मत पाएर देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित बनेका हुन् ।

उनी समग्रमा चौथो पटक प्रधानमन्त्री बनेका हुन् भने गणतान्त्रिक मुलुकको नवौं प्रधानमन्त्री हुन् । मंगलबारको बैठकमा उपस्थित ५५८ सांसदमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

छवी सुधार्ने मौका
हरेक पटक प्रधानमन्त्री बन्दा कलंकको कालो दाग बोक्न पुगेका देउवालाई यो कार्यकाल भने त्यसलाई सुधार गर्दै निश्कलंक छबी बनाउने मौका हुनेछ ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो समेत हुन् । उनीकी पत्नी डा.आरजु राणा देउवा सांसद छिन् भने छोरा लण्डनमा अध्ययनरत छन् ।

विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्री बनेका थिए । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए ।

सोही कार्यकालमा तत्कालीन नेकपा (माओवादी) ले उठाएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ४० सुत्रीय माग देउवाले पूरा नगरेपछि २०५२ फागुन १ देखि जनयुद्धको सुरुवात भएको थियो ।

उनी दोस्रो पटक २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए भने सोही समयमा संसद विघटनजस्तो अलोकप्रिय निर्णय गरेपछि काँग्रेसले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि सोही वर्ष उनले आफ्नो नेतृत्वमा नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक निर्वाचन गराउने लगायतका म्यान्डेडसहित प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले उनलाई असक्षम घोषणा गरी २०६१ माघ १९ गते पदबाट हटाएर आफ्नै नेतृत्वमा मन्त्रिपरिषद बनाएका थिए ।

त्यसपछि तत्कालीन जनयुद्धरत माओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीका आधारमा भएको २०६२÷६३ सालको जनआन्दोलनमार्फत नेपालमा राजनीतिको नयाँ कोर्सको थालनी भएको थियो ।

सोही अनुसार २०६३ मंसिर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता, माघ १ गते अन्तरिम संविधान हुँदै २०६४ चैत्र २८ गते संविधान सभाको निर्वाचन भएपनि त्यसले संविधान दिन सकेन ।

जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्वसहितको एउटा पंक्ति यतिबेला जनयुद्धमा गरेको बलिदानीको बेवास्ता गर्दै संसदमा छ भने त्यसबाट अलग भएको क्रान्तिकारी माओवादीले नेपाली जनयुद्धको कार्यभार पुरा गर्ने अभियान जारी राखेको छ ।

२०५२ सालमा जनयुद्धको सुरुवात गरेको माओवादीको एउटा हिस्साको समर्थनमा जनयुद्धमा जान बाध्य बनाउने देउवा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री बन्दा कुनै नै कुनै घटनाक्रमका कारण विवादमा तानिएका देउवालाई त्यो छवी सुधार्ने मौका समेत प्राप्त भएको छ ।

देउवाले बुधबार प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । उनले बुधबार नै सानो आकारको मन्त्रिपरिषद समेत गठन गर्ने तयारी गरेका छन् ।