लण्डनमा भ्यानले ठक्कर दिँदै छुरा प्रहार, तीन महिनामा तेस्रो आतंकवादी हमला

लण्डनमा भ्यानले ठक्कर दिँदै छुरा प्रहार, तीन महिनामा तेस्रो आतंकवादी हमला

एजेन्सी । बेलायतको राजधानी लण्डनमा पुनः अर्को आतंकवादी हमला भएको छ ।

चर्चित लण्डन ब्रिजमा भ्यानमा आएका आतंकवादीले सर्वसाधारणलाई ठक्कर दिँदै छुरा प्रहार गरेका थिए ।

सो हमलामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य केहीको मृत्यु भएको अनुमान गरिएको छ । घटनामा अन्य केही घाइते भएको जनाइएको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले यसलाई आतंकवादी हमलाको संज्ञा दिएकी छन् । पछिल्लो घटनाको बारेमा गुप्तचर एजेन्सीलाई समेत कुनै जानकारी नभएको बताइएको छ ।

बेलायतमा पछिल्ला तीन महिनामा भएको यो तेस्रो आतंकवादी हमलाले त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइदिएको छ । गत मार्चमा वेस्टमिन्स्टरमा सर्वसाधारणमाथि कार चढाएर छुरा प्रहार गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो ।

२२ मार्चमा लण्डनमा प्यालेस अफ वेस्टमिन्स्टर नजिकै ५२ वर्षीय बेलायती नागरिक खालिद मसुदले पैदल यात्रुमाथि कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको थियो भने अन्य ५० जना घाइते भएका थिए ।

त्यसपछि उनले नजिकै रहेका एक प्रहरी अधिकारीको चक्कु प्रहार गरी हत्या गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको थियो ।

यसैगरी २२ मेमा म्यान्चेस्टरमा अमेरिकी पप गायिका एरियाना ग्रान्डको कन्सर्टपछि म्यान्चेस्टर एरिनाको मुख्य प्रवेशद्वारमा आत्मघाती हमला हुँदा २२ जनाको मृत्यु भएको थियो ।

यो हमला २२ वर्षीय सलमान अबादीले गरेका थिए । लिबियाली मूलका बेलायती मुस्लिम अबादीले गरेको सो हमलामा अन्य ११६ जना घाइते भएकामध्ये केहीको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।