काठमाडौ, १८ जेठ । क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु हँदैछ । आज हुने उद्धघाटन खेलमा आयोजक इङ्ल्यान्डले द ओभल मैदानमा बंगलादेशको सामना गर्नेछ ।
५० ओभरको ढाँचामा सञ्चालन हुने च्याम्पियन्स ट्रफीका सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा इंग्ल्याण्ड, बंगलादेश, अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।
वेष्ट इन्डिज भने यसपटक सहभागी हुन पाएन । सन् २००४ को च्याम्पियन वेष्ट इन्डिज पहिलो पटक प्रतियोगिताबाट बाहिर भएको हो ।वेष्ट इन्डिज बाहिरिँदा बंगलादेशले सन् २००६ पछि पाहिलो पटक च्याम्पियन्स ट्रफी खेल्ने मौका पाएको छ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गरेको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
आईसीसी एक दिवसीय वरीयतामा शीर्ष आठ स्थानमा रहेका टोलीहरुले यो खेलमा सहभागी हुने अवसर पाएका हुन् ।































