जिन्दगी, समाजवाद वा अरु कुनै चिज….

प्रकाशित मिति : २०७४ जेष्ठ ६

- प्रा.डा. जगदीश चन्द्र भण्डारी

अश्रुग्याँसका धुँवामा नुनको स्वाद पाउनु
अथवा आफ्नै जिब्रोले आफ्नै रगतको स्वाद चाख्नु
कसैका निम्ति पनि मनोरञ्जन हुन सक्दैन
परन्तु
म झुठमुठको केही पनि चाहन्न
र म सबै चिज साँच्चिकैको हेर्न चाहन्छु
जिन्दगी, समाजवाद वा अरु कुनै चिज ….

क्रान्तिकारी कवि पासका कविताका यी पंक्तिले क्रान्तिकारी मानिसका प्रतिबद्धता र सत्यार्पणलाई देखाएका छन् । जीवनको यथार्थ र त्यसप्रतिको संज्ञान नै क्रान्तिकारी मानिसका निम्ति महत्वपूर्ण हुन्छ । आफैलाई ढाँट्ने, छल्ने र जीवनको वास्तविकतालाई लुकाउन खोज्ने पाखण्डी तत्व मानिस हुन नसक्ने कुराको आशय कवितामा अभिव्यक्त भएको छ । विश्वास, आस्थाप्रतिको प्रतिबद्धतालाई छाडी छद्म प्रवृत्ति लिई कला वा अन्य क्षेत्रमा देखापर्ने कुरुप तत्व जीवन र समाजका क्षेत्रमा गर्हित हुनु स्वभाविक नै छ । महान विचारका प्रणेताहरुले मिथ्या चेतनालाई नकारेका छन् । बुर्जुवा चिन्तन र समाजवादी विचारधाराका बीच रहेको असंगति, वैषम्य र विभेदलाई स्पष्ट रुपमा कवितामा देखाएका छन् र संशोधनवादी दृष्टिकोणको विरोध गरेका छन् ।

आजभोलि हाम्रो समाजमा देखापरेको वैचारिक आत्मसमर्पण, वर्गीय आत्मसमर्पण तथा राष्ट्रिय आत्मसमर्पणलाई साहित्यकारहरुले के कस्तो किसिमबाट अभिव्यक्ति दिएका छन् वा यथार्थ किसिमबाट प्रस्तुति गरेका छन् कि त्यसलाई लुकाउने प्रयत्न गरेका छन् । यो महत्वपूर्ण सवालका रुपमा आएको छ र वर्तमान जीवनको महत्वपूर्ण प्रश्न र जिज्ञासा पनि लेखक प्रा.डा. जगदीश चन्द्र भण्डारी

हो । क्रान्तिकारी विचारधारारहित पलायनमुखी तथा प्रतिक्रियावादन्मुख विचारधाराबाट प्रभावित रहेको समकालीन साहित्यिक धारा मालेमावादी बोधलाई जानिबुझीकन त्यागेको, सचेतताबश बुर्जुवापन्थी हुन पुगेको र संशोधन–नवसंशोनवादी दृष्टिकोण÷विचारयुक्त रहेको छ । यथार्थका विपरीत भ्रमपूर्ण, संशयपूर्ण र विचलनयुक्त धारणाले प्रभुत्वसम्पन्न वर्गकै हितसिद्धि गर्दछ भने विस्तारै कला साहित्य विचारधारा निरपेक्ष, जीवन निरपेक्ष तथा क्रान्तिकर्म निरपेक्ष बनाउनेतर्फ अग्रसर हुन सक्छ । क्रान्तिबाट पलायन भई प्रतिक्रियावादन्मुख तथा प्रतिक्रियावादमा पतन, स्खलन हुन पुगेको नेतृत्वपंक्ति र त्यसकै दृष्टिबाट जीवन र समाजलाई हेर्न खोज्ने संशोधनवाद र त्यसका अनुगामी साहित्यकार÷कलाकार रहस्य, मिथ्या र यथार्थको भन्जन गरी बुर्जुवा चिन्तन पोषकका रुपमा आफूलाई उभ्याउन उद्यत छन् । वैज्ञानिक एवम् कलात्मक मूल्यविरोधी रहेको त्यो तत्व सौन्दर्यका दृष्टिमा नकारात्मक, निषेधात्मक, हानीकारक एवम् घातक रहेको छ । राजतन्त्रात्मक सामन्तवादको सहयोगी रहेको सर्जक र सिर्जनालाई महान ठान्ने हिजोदेखि नै बुर्जुवामुखी, संशोधनवादी–नवसंशोधनवादी हुन पुगेको एउटा समूह र त्यसकै सन्निकट हुन पुगेको– जनयुद्धको नेतृत्वसमेत गरेको– अर्को समूह दुवैले साहित्य र कलाका क्षेत्रमा सुधारवादसँगै संसदवादमा उधोपतन भई क्रान्तिकारी विचारधाराको ओजता, महत्व र प्रभावलाई समाप्त पार्न प्रवल रुपमा लागेका छन् ।

जनवादी क्रान्तिद्वारा जनवादी÷समाजवादी रुपान्तरण गर्ने र वास्तविक उद्देश्य पूरा गर्ने तथा शोषणबाट उत्पीडित मानिसहरुका समस्या समाधान गर्ने र मानवीय जीवनलाई कलात्मक एवम् सौन्दर्ययुक्त बनाउने कुरालाई छाडी क्रान्तिविरोधी चिन्तनधारामा समाहित भई सर्वहारावर्गविरोधी हुन पुगेको सन्दर्भ नै वर्तमानको यथार्थ हो । क्रान्तिकारी विचारधाराबाट सम्बन्ध–विच्छेद् गरी जन्मिएको चेतना र तत्जन्य सिर्जनाले जीवनको गतिशिलताको चित्रण गर्न नसक्ने त छँदैछ, यससँगै त्यसले विचारधारात्मक संघर्षलाई समेत कमजोर बनाएको छ । साथै, सिर्जना, सौन्दर्य चिन्तन र सौन्दर्य निरुपणमा समेत विभ्रम जन्माएको छ ।

पछिल्लो समयमा विकसित भएका जनवाद तथा समाजवादविरोधी मान्यता र प्रवृत्ति सर्वहारावर्ग, जनवादी क्रान्ति र मुक्तिका पनि विरोधी हुन् । तिनले सिर्जना र तिनको अन्तर्यमा प्रभाव पार्छन् र जीवनको यथार्थलाई विकृत बनाउछन् । मालेमावादी कला साहित्य मान्यताको विरुद्धमा उभिएको त्यो तत्व नयाँ जनवाद र समाजवादसँगै क्रान्ति र मुक्तिविरोधी पनि हो । त्यो नक्कली समाजवादको पक्षधर र वैज्ञानिक समाजवादको विरोधी हो । मालेमावादको क्रान्ति र विद्रोह तथा सौन्दर्यको मान्यतालाई नकार्ने हुनाले त्यो यथार्थलाई आत्मसात् नगरी बुर्जुवापथमा लाग्छ र कलात्मकता, सौन्दर्यात्मकता तथा विचारधारात्मकताको तीव्र विरोधमा उभिन्छ र प्रतिक्रियावादमा लहसिन पुग्छ, रमाउन पुग्छ । उसका दृष्टिकोण, संकल्पना, प्रतिबद्धता, सौन्दर्यात्मक मूल्य समेत दलालपन्थ हुँदै बुर्जुवाकरणमै महत्ता देख्न थाल्छ । त्याग, क्रान्ति, समर्पण, मुक्ति र सौन्दर्यमा भन्दा निजी सुख, स्वार्थमै रमाउन पुग्छ ।

वास्तविकताबाट पलायन हुँदै समर्पणमुखी हुनु संशोधन–नवसंशोधनवादी साहित्यकारहरुको विशेषता हो । त्यसको अभिव्यक्ति हाम्रो समयमा भइरहेको छ । त्यसको क्रान्तिकारी साहित्यकार, कलाकारहरुले विरोध गर्नु र क्रान्ति र मुक्ति साँच्चिकै हेर्न चाहनु अनि वास्तविक सौन्दर्य मूल्यको खोजी गर्नु क्रान्तिकारी साहित्यकारहरुको दायित्व हो ।