भरतपुरको मतगणना पुनः सुरु, राजनीतिक दलहरुबीच १० बुँदे सहमति

भरतपुरको मतगणना पुनः सुरु, राजनीतिक दलहरुबीच १० बुँदे सहमति

चितवन । राजनीतिक दलहरुबीच १० बुँदे समझदारीपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।

शुक्रबार मतगणनामा प्रमुख निर्वाचन अधिकृतले नै धाँधली गर्न खोजेको भन्दै काँग्रेस, माओवादी केन्द्र र राप्रपाले मतगणना बहिस्कार गरेका थिए ।

सहमतिसँगै शुक्रबार साँझदेखि रोकिएको मतगणना शनिबार बिहानबाट सुचारु भएको हो । शनिबार बिहान भएको छलफलमा १० बुँदे सहमतिसँगै मतगणना पुनः सुरु भएको हो ।

सहमति अनुसार अब प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकेर एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाइनेछ ।

मतगणना स्थलमा राजनीतिक दलका प्रतिनिधिहरुको छुट्टै डेस्क राख्ने, प्रत्येक समूहबाट आउने परिणाम राजनीतिक दलका प्रतिनिधिहरुको डेस्कमा सुनाउने÷देखाउने र त्यसपछि सार्बजनिक गर्ने र अन्तमा कम्प्युटरमा इन्ट्री गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

कांग्रेस, माओवादी र राप्रपाले गणनामा बसेका मुख्य निर्वाचन अधिकृतले कम्प्युटरमा मत परिणाम इन्ट्री गर्दा गलत इन्ट्री गरेको आरोप लगाएका थिए ।