प्रेमका लागि राजघराना छाड्दै जापानी राजकुमारी माको

प्रेमका लागि राजघराना छाड्दै जापानी राजकुमारी माको

एजेन्सी । जापानको शाही परिवारकी राजकुमारीले एक सर्वसाधारण व्यक्तिसँगको विवाहका लागि आफ्नो राजघराना छाड्नुपर्ने भएको छ ।

२५ वर्षीय राजकुमारी माको वर्तमान राजा अकिहितोकी नातिनी हुन् । उनी कानुनी फर्ममा काम गर्ने कर्मचारी २५ वर्षीया केई कोमुरोसँग प्रेममा थिइन् ।

माको र केईबीच एकै विश्वविद्यालयमा अध्ययनका क्रममा भेट भएर प्रेममा परेका थिए । जापानको राजघरानाको निमयअनुसार शाही परिवारका कुनै पनि सदस्यले आम जनतासँग विवाह गरेमा राजघराना छाड्नुपर्छ ।

राजकुमारी माकाकी फुपु सायाको पनि सर्वसाधारणमा विवाह गरेपछि सन् २००५ मा राजघरानाबाट सर्वसाधारण बनेकी थिइन् । यो खबर बाहिर आएपछि जापानको परम्परागत शाही परिवारबारे पुनः एक पटक बहस बाहिर आउने अट्कल गरिएको छ ।

पहिलो कुराकानी
राजकुमारी माको र केई केमुरो २०१२ मा टोकियोको इन्टरनेशनल क्रिश्चियन विश्वविद्यालयमा भेट भएका थिए । जापानमा पर्यटनलाई बढावा दिनका केईले एक पटक ‘प्रिन्स अफ सी’ का रुपमा काम गरेका थिए ।

कोमुरोसँग उनको ‘इङगेजमेन्ट’ का बारेमा सोधिएपछि उनले भने, ‘म यो समयमा यसबारेमा टिप्पणी गर्न सक्दिन, म सही समयमा यसबारेमा आफ्नो कुरा भन्नेछु ।’ अमेरिकी टेलिभिजन च्यानल सीएनएनले राजघरानाको यो खबरको पुष्टि गर्दै राजकुमारीको विवाहको तयारी भइरहेको जनाएको छ ।

राजघरानाको नियम
जापानी सम्राट अकिहितोले गत वर्षको अगस्टमा आफ्नो उमेरका कारण राजगद्दी त्याग्न चाहेको संकेत गरेका थिए । उनले आफ्नो बढ्दो उमेरका कारण राजकाजको काम कर्तव्य सही रुपमा निर्वाह गर्न नसकिरहेको उल्लेख गरेका थिए ।

राजगद्दीको त्यागका लागि जापानले केही कानुनी परिवर्तन गर्ने तयारी गरिरहेको बताइन्छ । पछिल्ला दुई शताब्दीमा जापानी राजाले जीवित रहँदै राजगद्दी त्याग गर्न खोजेको यो पहिलो घटना हो ।

यद्यपि जापानी कानुनले जीवित राजालाई राजगद्दी त्याग गर्न दिदैन । तर जापानको राजपरिवारबारे आउन लागेको नयाँ कानुनमा राजघरानामा पुरुष उत्तराधिकारी सम्बन्धि व्यवस्थामा परिवर्तन नगर्ने विश्वास लिइएको छ ।

जापानका एक केन्द्रीय मन्त्री योशिहिदे सुगाले राजघरानामा उत्तराधिकारीका लागि स्थापित परम्परामा कुनै परिवर्तन गर्ने नसोचिएको जनाएका छन् ।

जापानको राजपरिवारमा उत्तराधिकारीमा चार जना रहेका छन् । जसमा अकिहितोका छोरा युवराज नारुहितो, राजकुमार फुमिहितो, फुमिहिजोका छोरा हिसाहितो र राजा अकिहितोका भाई मासिहितो रहेका छन् ।