एजेन्सी । संसारका धेरै देशका कम्प्युटरमा हमला गर्ने फिरौती भाइरसको सम्बन्ध अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी अर्थात एनएसएसँग जोडिएको पाइएको छ ।
यो नयाँ जानकारीले अमेरिका सरकारको यस प्रकारको गडबडी भएको भाइरसलाई लुकाएर राख्ने निर्णयमाथि प्रश्न उठेको छ । गत अप्रिलमा ह्याकिङ समूह श्याडो ब्रोकर्सले यस प्रकारको भाइरसको ठूलो हिस्सा लीक गरेको थियो ।
शुक्रबार भएको साइबर हमलामा प्रयोग भएको रेनसमवेयर अर्थात फिरौती भाइरसको केही हिस्सा लीक भएकोसँग मिल्दोजुल्दो पाइएको छ ।
प्राविधिक वेबसाइट एआरएस टेक्निकाका अनुसार ह्याकर्स समूह श्याडो ब्रोकर्सले पछिल्ला ८ महिनामा एनएसएका साइबर हतियारको जानकारी लीक गरिरहेको थियो । यो भाइरस अमेरिकाले आतंकवादविरुद्ध प्रयोगका लागि निर्माण गरेको हो ।
जसले अहिले विश्वमा एक प्रकारको साइबर हमलाको आतंक नै मच्चाएको छ । यसरी प्रभावित हुनेमध्ये सबैभन्दा बढी ७५ हजार रुसी कम्प्युटर रहेका छन् ।
यसैबीच युरोपेली युनियन प्रहरी एजेन्सी (युरोपोल) ले शुक्रबार भएको साइबर हमलाबाट विश्वका १ सय ५० देशका २ लाख सिस्टम प्रभावित भएको र सोमबार विश्वमा कार्यालय सञ्चालनमा आएपछि यसको संख्या थप बढ्ने चेतावनी दिएको छ ।
युरोपोलका प्रमुख रोब भेनराइटले बेलायती आईटीवीसँगको कुराकानीका क्रममा यसलाई संसारका लागि बढ्दो खतरा भएको जनाउँदै अब हुने सम्भावित हमलालाई लिएर चिन्ता जनाएका हुन् । साइबर हमलामा रुस र बेलायत सबैभन्दा बढी प्रभावित भएका छन् ।
यो साइबर हमलालाई भीषण बताउँदै उनले भने, ‘हाम्रा सामु गम्भीर खतरा छ । प्रभावित हुनेको संख्या बढिरहेको छ । हामी हरेक वर्ष साइबर अपराधका विरुद्ध २ सय वैश्विक अभियान चलाइएको छ, तर हामीले कहिल्यै यस्तो देखेका छैनौं ।’ भेनराइटले भने, ‘ताजा आकडा कम्तिमा पनि १ सय ५० देशमा २ लाख भन्दा बढी पीडित रहेका छन्, यसको विश्वव्यापी पहुँच आश्चर्यजनक रहेको छ ।’
साइबर हमलाका पीडितमध्ये केहीले भने फिरौती समेत तिरेको उनको भनाई छ । यो साइबर हमलाबाट बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) नराम्ररी प्रभावित भएको छ ।
जसका कारण विरामीको अनलाईन रेकर्डबाट समेत पहुँच बाहिर पुगेको छ । यो हमलापछि एक प्रोग्रामले हजारौं स्थानमा कम्प्युटर लक गरेर पेमेन्ट नेटवर्क ‘बिटकाइन’ बाट फिरौती मागिएको थियो ।
अमेरिकी सुरक्षा एजेन्सीले बनाएको प्रविधिको प्रयोग गरेर गरिएको यो हमलामा स्वास्थ्य सेवासँग जोडिएका ४० वटा संस्था प्रभावित बनेका छन् । यो प्रणाली ह्याक गर्न प्रयोग भएको रेनसमवेयर एक कम्प्युटर भाइरस हो ।
यो भाईरसले कम्प्युटरमा रहेका फाइल र भिडियोलाई खुल्न दिँदैन र पैसा दिएपछि मात्रै त्यसलाई खुल्ने बनाउँछ । यस्तो भाइरस प्रयोगकर्ताले नै फिरौती बुझाउनका लागि पनि समयसिमा निर्धारण गरेको हुन्छ । यदि समयसीमामा पैसा नदिएमा फिरौती रकमसमेत बढाउँदै जान्छ ।
आतंककारी विरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्राम कै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो साइबर हमला अहिलेसम्म रेकर्ड भएका मध्ये सबैभन्दा ठूलो भएको बताइएको छ ।
रेनसमवेयर सरकारका लागि चेतावनी !
माइक्रोसफ्टका अध्यक्ष ब्याड स्मिथले संसारका सरकारसँग शुक्रबार भएको साइबर हमलालाई चेतावनीका रुपमा लिन भनेका छन् ।
उनले यो हमला आश्चर्यजनक रहेको र अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) सँग जोडिएको उल्लेख गरेका छन् । उनले सरकारलाई साइबर हतियारप्रतिको आफ्नो नीति परिवर्तन गर्न जरुरी रहेको बताए ।
आइतबार माइक्रोसफ्टले एक विज्ञप्ति नै जारी गरेर कम्प्युटर सिस्टममा सुरक्षासँग जोडिएका जानकारी राख्ने सरकारी नीतिको आलोचना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हमलामा सीआईएले अति संवेदनशील सूचना विकिलिक्सले कसरी हात पार्न सफल भयो र अब एनएसएका यस्तै संवेदनशील सूचना चोरी गर्ने अभिप्रायबाट संसारभरका कम्प्युटर प्रभावित भए ।’ माइक्रोसफ्ट ले गत वर्ष नै माइक्रोसफ्टले यो अपरेटिङ सिस्टमको प्रयोग गर्ने प्रयोगकर्तालाई राम्रो अपरेटिङ सिस्टममा काम गर्न अपिल पनि गरेको थियो ।