पहिलो चरणको निर्वाचन सम्पन्न, ७३ प्रतिशत मत खसेको आयोगको दावी

पहिलो चरणको निर्वाचन सम्पन्न, ७३ प्रतिशत मत खसेको आयोगको दावी

काठमाडौ । पहिलो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. २, ४ र ६ का ३४ जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । २० वर्षपछि भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उत्साहपूर्वक जनसहभागीता रह्यो । २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार ९२५ मतदाता रहेकोमा निर्वाचन आयोगले आज सम्पन्न निर्वाचनमा ७३ प्रतिशत मत खसेको दावी गरेको छ । ३४ जिल्लामा भएको निर्वाचनमा कुल कति मत खस्यो भन्ने समग्र विवरण आउन भनै बाँकी नै छ ।

अधिकाङ्श ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भए पनि काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गतको एउटा मतदान केन्द्रमा मतदान कार्य सुरु हुन सकेन भने दोलखा जिल्लाको मेलुङस्थित सत्येश्वर मावि मतदान केन्द्रमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट एक जनाको ज्यानसमेत गएको छ । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रको सुरक्षा खलबलिएपछि सुरक्षार्थ गोली चलाउनु परेको हो ।
निर्वाचन समापन भएसँगै मतपेटिका सम्बन्धित स्थानीय तहको केन्द्रतर्फ लैजाने काम भइरहेको जानकारी आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले दिएका छन् । निर्वाचन सम्पन्न भएको तीन घन्टाभित्र मतदान अधिकृतको कार्यालयसम्म मतपेटिका पु¥याउने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
काठमाडौं र ललितपुरको मतगणना आज रातीबाटै थालिने निर्वाचन आयोगले जनाएको छ ।