धनगढी । स्थानीय तहको निर्वाचनमा अवरोध पैदा गर्नका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव न्युन देखिएको छ ।
धनगढीमा दुई वटा सडकमा प्रेसर कुकर बम राखेर यातायात अवरोध गराइएको छ ।
धनगढीको चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम राखेर यातायात अवरुद्ध गरिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको छ । स्थानीय तहको निर्वाचन बहिस्कार गरेको विप्लव पार्टीले त्यसलाई असफल पार्नका लागि नेपाल बन्द गराएको हो ।
यसैगरी धनगढी डडेल्धुरा जोड्ने पहाडी रुट भीमदत्त राजमार्गमा एक ट्रकमा आगजनी पनि गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बराह नगरपालिका महेन्द्रनगरबाट पनि ६ जना पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका ज्यामरुककोटको भकुण्डेस्थित अर्जुन मावि मतदान केन्द्र नजिक दुई पटक विष्फोटको गराइएको थियो ।