यस्तो छ उत्तर कोरियाको समाजवादी सत्ताले गरेको विकास

यस्तो छ उत्तर कोरियाको समाजवादी सत्ताले गरेको विकास

जनवादी गणतन्त्र कोरिया सरकारको निमन्त्रणा र नेपाल जनवादी कोरिया लेखक÷पत्रकार मञ्च (NEPAL-DPRK WJF)  को पहलकदमी र निर्णय बमोजिम म लगायत ६ जनाको टोली २०७३ चैत्र २७ (९ अप्रिल २०१७) गते चीत हुँदै उत्तर कोरिया भ्रमणका लागि प्रस्थान गर्यौं । हाम्रो टोलीको नेतृत्व नेपाल–जनवादी कोरिया लेखक÷पत्रकार मञ्च (NEPAL-DPRK WJF) का अध्यक्ष अशोक सुवेदीले गर्नु भएको थियो ।
हाम्रो टोली बाहेक मानिक लामाले नेतृत्व गरेको टोलीसँग दुइजना, शंकर भारतीले नेतृत्वको गरेको टोलीसँग तीन जना र पुराना पत्रकार मञ्जुरत्न शाक्यले नेतृत्व गरेको टोलीसँग चारजना गरि जम्मा १५ जनाको नेपाली टोली कोरिया भ्रमणका लागि चीन हुदै उत्तर कोरिया पुगेको थियो ।

अशोक सुवेदीले नेतृत्व गरेको हाम्रो उत्तर कोरियाली भ्रमण टोली २०७३ चैत्र २७ गते  Air China को विमानद्वारा काठमाडौंबाट तिब्बतको ल्हासा हुँदै साझ चीनको सिचुआन प्रान्तको राजधानी Chengdu पुगेका थियौं । त्यस दिन त्यहाँ बास बसेर भोलिपल्ट २०७३ चैत्र २८ गते Air China कै विमानद्वारा दिउँसो १२ बजे चीनको सबैभन्दा ठूलो औद्योगिक सहर सांघाई पुग्यौं । त्यस दिन सांघाईको अवलोकन भ्रमण गरेर २०७३ चैत्र २९ गते १२ बजे रेल मार्ग भएर चीनको राजधानी वेइजिङका लागि यात्रा शुरु गर्यौं । २२ घण्टाको यात्रा पश्चात २०७३ चैत्र ३० गते बेइजिङ पुगियो । बिचबाटोमा पर्ने चीनको पुरानो राजधानी नानचिङको सामान्य अवलोकन गर्ने मौका पनि मिल्यो ।

२०७३ चैत्र ३१ गते चीनको बेइजिङबाट Air Koreo को विमानद्वारा उत्तर कोरियाको राजधानी प्योङयाङका लागि उडान भर्यौं । स्थानीय समयानुसार साँझको ९ बजे प्योङयाङस्थित Koreo Airport मा ओर्लियौं । बेइजिङबाट जनवादी गणतन्त्र कोरिया सरकारको संगठन KASS (कास) कोरियाली समाज वैज्ञानिक संगठनले १४ अप्रिल २०१७ देखि १९ अप्रिल सम्म प्योङयाङमा आयोजना गर्ने साम्राज्यवाद विरोधी तथा समाजवादी समर्थक लेखक/पत्रकार (Writer and Journalist) हरूको अन्तरराष्ट्रिय सेमिनारमा भाग लिन जानका लागि विश्वभरका विभिन्न साहित्यिक प्रतिष्ठान र संघसंगठनका प्रतिनिधि एउटै विमानबाट प्योङयाङ पुगेका थियौं ।

प्योङयाङस्थित Koreo अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक संस्था KASS (Korean Association of Social Scientists  Pyongyang) का प्रतिनिधिहरू हामीलाई लिन आउनु भएको रहेछ । Airport बाट बाहिरिने वित्तिकै कासका प्रतिनिधिहरूले हामी सबैलाई प्योङयाङस्थित Pyongyang Koreo होटेलमा लगेर राखे । त्यो ५ तारे होटेल हो । त्यस होटेलमा शुरुदेखि अन्त्यसम्म विश्वभरबाट त्यहाँ जम्मा भएका सम्पूर्ण लेखक/पत्रकारहरूलाई खान बस्नको व्यवस्था मिलाइएको थियो ।

१४ अप्रिल २०१७ (१ वैशाख २०७३) का दिन बिहान ९ बजे सेमिनारको उद्घाटन कार्यक्रम आयोजना गर्यो । उद्घाटन कार्यक्रम भव्य र शानदार रह्यो । त्यस सेमिनारमा कोरियाली वर्कर्स पार्टीद्वारा Worker’s Party of Korea that Makes Selfless Devoted Efforts for the Good of the People” विषयक कार्यक्रम प्रस्तुत गरियो भने KASS ले “Victory of Democratic People’s Republic of Korea is A Science” विषयक कार्यपत्र प्रस्तुत गरियो । त्यस सेमिनारमा नेपाल, चीन, बंगलादेश, बेलायत, फ्रान्स, रुस, फिनल्याण्ड, बेल्जियम, घाना, गिनी लगायतका देशका तर्फबाट पनि आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गरियो । सबै कार्यक्रमहरू प्रति व्यापक छलफल र अन्र्तक्रिया पश्चात एक मतले पारित गरियो । सेमिनार अत्यन्तै उत्साहजनक, प्रेरणादायक र भव्यताका साथ सम्पन्न भयो ।

त्यस सेमिनारमा विश्वभरका ४६ देशका करीब एक सय ५० जना विभिन्न साहित्यिक प्रतिष्ठान र संघ–संस्थाको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । कोरिया सरकार केही वर्ष पहिले देखि नै भाइचारा पार्टीहरूसँगको आवतजावत र विचार आदान प्रदान गर्ने कार्यलाई स्थगित गरिएको रहेछ ।

लेखक/पत्रकारहरूको त्यस अन्तराष्ट्रिय सेमिनारमा प्रमुख अतिथिका रुपमा Worker’s Party of Korea का उपाध्यक्ष (Vice-Chairman of the Central Committee of the WPK)  कमरेड किम कि नाम हुनुहुन्थ्यो ।

१५ अप्रिल २०१७ (२ वैशाख २०७४) जनवादी गणतन्त्र कोरियाका संस्थापक नेता कमरेड किल इल सुङको १०५ औं जन्मदिवस परेको थियो । त्यस दिन कोरिया सरकारले आफ्ना संस्थागत नेत सुङको १०५ औं जन्मजयन्ती बढो भव्य र उल्लासमय ढंगले प्योङयाङमा मनायो । हामी लेखक/पत्रकारहरूलाई त्यस दिन बिहान सात बजे नै जनमुक्ति सेना र जनता समेत गरि एक लाख भन्दा बढिको उपस्थिति रहेको उक्त जन्मजयन्ती समारोह स्थलमा पुर्याइएको थियो ।

उक्त समारोहमा जनमुक्ति सेनाले ब्यान्डबाजा सहिज पीटी प्रदर्शन गरेको थियो भने हजारौं जनताले हातमा फूल लिएर नाचसहित प्रवेश गरिरहेका थिए । हामीलाई उत्तरतिरको प्याराफिडमा बसालिएको थियो । त्यसको ठीक माथि कोरियाली नेता किम जोङ उन बस्नु भएको थियो ।

कार्यक्रम अवधिभर जनमुक्तिसेनाले व्यान्डबाजा बजाइ रह्यो र कास पनि गरि रहयो । त्यो भव्य समारोहको दक्षिणतिरबाट बाहिरबाट हजारौं जनसमुदाय हातमा फूल समातेर नाच्दै गाउदै भित्र पस्ने र पूर्वतीरबाट हजारौं जनमुक्ति सेना अत्याधुनिक हतियार सहित मार्च पास गर्दै पश्चिमतिर बाहिरिने व्यवस्था मिलाइएको थियो । अन्तिममा जनमुक्ति सेना अहिलेसम्म निर्माण गरिएका हातहतियार र मिसाइलहरू टिप्पर र ट्यांक बोकेर विश्वलाई नै चकित पार्ने गरि प्रदर्शन गरेर बाहिरिने गरेको थियो ।

कार्यक्रम अवधिभर आकासमा फाइटर विमानहरू उडाइएको थियो । कार्यक्रम विश्वभर सञ्चार माध्यमहरूलाई बोलाइएको थियो र ठूलो संख्यामा पश्चिमी मुलुकका पत्रकारहरू त्यहाँ पुगेका थिए । सीसीटिभी लगायत अत्याधुनिक क्यामराहरूले सम्पूर्ण कार्यक्रम फोटो खिच्ने काम गरिएको थियो ।

साँझ ७ बजेदेखि ९ बजेसम्म त्यही मैदानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । एकलाख भन्दा बढि जनता उक्त कार्यक्रममा नाचगान सहित सहभागी थिए । त्यसपछिका बाँकी दिनहरूमा हामी सम्पूर्ण लेखक÷पत्रकारहरूलाई पहिलो दिन कमरेड किम इल सुङको जन्मघर Mangyongdae मा पुर्याएर कमरेड किमको घर (जो एउटा म्यूजियमको रुपमा खडा गरिएको रहेछ) त्यसको समग्र पक्षको अवलोकन गराएको थियो । त्यस घर अगाडि कोरियन मित्रहरूसहित सामुहिक फोटो पनि खिचाइयो । त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गरिएको बढो रमणीय स्थल रहेछ, जस्को पूर्वपट्टीबाट विशाल Te Dung River बगिरहेको छ ।

त्यसपछि बाँकी दिनहरूमा War Muguam, Kim III Sung Memorial Building, Central Party School Building of Korea, सांस्कृतिक हाउस, खेलकुद कमर्ट हल, Science and Technology Building आदि अत्यन्त वैज्ञानिक ढंगले निर्माण गरिएका ती स्थल र भवनहरूको अवलोकन गराइयो र किम इल सुङको पार्थिव शरीर राखेको ऐतिहासिक स्थलको अवलोकन गराइयो ।

Science and Technology Building एकै समयमा करीब पाँच हजार वैज्ञानिकहरू एकैसाथ कम्प्युटरमा बसेर काम गर्न मिल्ने हलको व्यवस्था गरिएको छ; जुन भवनमा कोरिया सरकारले निर्माण गरेका मिसाइलहरूको नमूना प्रदर्शनका लागि राखिएको छ ती सबैको अवलोकन गराइयो ।

हामीलाई एक सय मिटर भन्दा तल जमिनमुनी रहेको मेट्रो रेल यात्राको अवलोकन समेत गराइयो । साथै बाल शिक्षण अस्पताल आदि भौतिक संरचनाहरूको सुव्यवस्थित र योजनाबद्ध ढंगले अध्ययन अवलोकन गराइएको थियो । त्यहाँबाट घरहरू, सडक र अन्य भौतिक संरचनाहरू अत्यन्तै वैज्ञानिक ढंगले निर्माण गरिएको छ । सडकहरू अत्यन्तै ठूला र फराकिलो गरि निर्माण गरिएको छ ।

हामी माक्र्सवादीहरूले हरेक समाज व्यवस्थालाई माक्र्सवादका तीन संघटक अँग र ऐतिहासिक भौतिकवादी द्वन्द्ववादका आधारमा बुझ्ने, अध्ययन, अनुसन्धान गर्ने, त्यसको बारेमा व्याख्या र विश्लेषण तथा संश्लेषण गर्नु पर्ने हुन्छ । कोरियामा वर्कर्स पार्टीले संचालन गरिरहेको समाजवादी व्यवस्थालाई त्यही माक्र्सवादी पद्धतिका आधारमा बुझ्ने, अध्ययन गर्ने र व्याख्या विश्लेषण तथा संस्लेषण गर्नु पर्ने हुन्छ ।

कोरिया वर्कस पार्टीद्वारा कमरेड किम इल सुङको नेतृत्वमा सन १९४५ मा सामन्तवाद र जापानी साम्राज्यवादलाई पराजित गरेर समाजवादी व्यवस्थाको स्थापना गरिएको थियो । त्यसपछि उत्तर र दक्षिण गरि दुवै देशमा विभाजन हुन पुगेका थिए ।
सन् १९५० मा अमेरिकी साम्राज्यवादले कोरियामाथि आक्रमण गर्यो । कोरिया र अमेरिका बीचमा भीषण युद्ध चल्यो । करीब १५ लाख कोरियन जनता, जनमुक्ति सेना समेतको शाहदत भयो । सन् १९५३ मा अमेरिका पराजित भयो । त्यस पछि सन् १९५३ पानमान जुङ्गकम सम्झौता भयो र उत्तर कोरियामा समाजवादी व्यवस्था कायमै राखियो ।

दक्षिणमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष उपस्थितिमा पुँजीवादी व्यवस्थाको स्थापना गरियो । अहिलेसम्म उत्तर कोरियाले एकीकरणको अभियान जारी राख्दै आएको छ । अमेरिकी साम्राज्यवाद यसको मुख्य बाधक शक्तिका रुपमा दक्षिणकोरियामा खडा छ । हजारौं अमेरिकी सेनाहरू दक्षिण कोरियामा तैनाथ गरिएको छ । उत्तरकोरियाले अमेरिकासँग फौजी रुपमा लड्न पछाडि नहट्ने भन्दै मिसाइलदेखि परमाणु बमसम्मको निर्माण गरिसकेको बुझिन्छ र कोरिया–अमेरिका तनाव पनि विश्वभर व्यापक चर्चामा छ यतिबेला पनि ।

उत्तरकोरियामा मजदूरहरूको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको नाम राखिएको छैन । कम्युनिष्ट पार्टीको काम गर्ने गरि शुरुदेखि त्यहाँ वर्कर्स पार्टी कोरिया भन्ने छ । त्यसकै निर्देशन र योजनामा किम इल सुङको नेतृत्वमा कोरियामा समाजवादको स्थापना गरियो र दुईवटा जापानी र अमेरिकी साम्राज्यवादलाई खरानी पारेर पठाइयो र राष्ट्रिय स्वाधिनतालाई अभेद्य किल्लाको रुपमा निर्माण गरिएको छ । अमेरिकी साम्राज्यवाद भिडन्तमा आए, हामी लड्न तयार छौं, भन्दै आम नागरिक तयार भएको पाइन्छ । कोरियामा राष्ट्रियताको भावना ज्यादै प्रखर रहेको छ ।

कोरियामा सर्वहारावर्गको अधिनायकत्व अन्तरगत समाजवादी व्यवस्था संचालनमा छ । सबैथोक र निर्णायक वर्कर्स पार्टी कोरिया मात्र हो भन्ने आम जनताको मनमस्तिष्कमा बलियो गरि घुसाइएको छ । सबैमा पार्टी पहिलो हो, त्यसपछि अरु चीज हो भन्ने रहेको छ । आम जनतालाई सैनिकीकरण गरिएको छ । पार्टी भित्र र राज्य भित्र कानून कडा छ । कार्यान्वयन पनि त्यतिकै कडाइका साथ लागु गरिदो रहेछ ।
वर्कर्स पार्टी कोरियाको केन्द्रीय समिति ३ सय सदस्य रहेको छ । ५० वर्षमाथिका पाका र अनुभव प्राप्त व्यक्तिलाई मात्र पार्टीको नेतृत्व तहमा राखिने व्यवस्था रहेछ । केन्द्रीय तह, क्षेत्रीय तह, काउन्टी (जिल्ला) तह र स्थानीय तह गरि चार तह पार्टी संचालनको विधि पद्धति कायम गरिएको रहेछ । राज्यमा यसै बमोजिमको व्यवस्था गरिएको रहेछ ।

जनताका लागि गाँस, बास र कपासको ग्यारेन्टी राज्यले गरेको छ । जनताका लागि शिक्षा, स्वास्थ्य, यातायात निःशुल्क रहेछ । जनसंख्या करीब ३ करोड छ । साक्षरता १००% रहेको छ । शहर र गाउँको विभेद अन्त्य गर्न तीब्रगतिका साथ सरकारले सहरीकरणको नीतिलाई कार्यान्वयनको तहमा अगाडि बढाएको पाइन्छ । सहरमा जनताका लागि ४०/५० तले गगनचुमी महल निर्माण गरिएको रहेछ र एक परिवारलाई एक फ्ल्याट निःशुल्क बस्ने व्यवस्था मिलाइएको रहेछ । गाउँमा देशभर वैज्ञानिक बसोबास नीति अनुसार एउटै रंग र साइजका तीन तले भवन निर्माण गरेर सरकारले आम किसानहरूलाई निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरेको रहेछ । कोरियामा धान खेती मुख्य रहेछ । गहु, जौ, मकै र अन्य ठाउँ र सिजन अनुसारको खेती पाती हुँदोरहेछ । त्यहाँको मुख्य खाना भात रहेछ ।

नीजि सम्पत्ति छैन । बैंकहरू खोलिएको छैन । एक रुपैयाँ देखि पाँह हजारसम्मका नोटहरू काटिएको छ । तर प्रचलनमा छैनन ती नोटहरू । मजदूर, कर्मचारीलाई ८ घण्टा अनिवार्य श्रम गर्ने पर्ने व्यवस्था छ । त्यसमा श्रमको न्यूनतम ज्याला दिने व्यवस्था रहेछ । उनीहरूले सामान्य सीमा भित्र रहेर इच्छा लागेका खाने/लगाउने वा अन्य प्रयोजनका वस्तुहरू सुलभ मूल्यमा प्राप्त गर्ने व्यवस्था मिलाइएको रहेछ । किसानहरूलाई पनि उत्पादनबाट वस्तु विक्रीबाट आउने आयको सानो हिस्सा उपलब्ध गराउने व्यवस्था रहेछ । त्यसैबाट किसानहरूले पनि आफ्ना थप इच्छा, आकांक्षाहरू पूर्ति गर्ने व्यवस्था मिलाई दिएको रहेछ । व्यक्तिगत सम्पत्ति नभएपछि उच नीच र होचो, हेलो हुनुपर्ने हेपिनु पर्ने अवस्था जनताका बीचबाट निषेध गरिएको रहेछ । ‘हामी सबै कोरियाली, कोरिया हामी सबैको’ भन्ने भावनाको विकास गरिएको पाइयो ।

सामाजिक व्यवस्था शान्त, सुन्दर र समुन्नत रहेको देखिन्छ । ‘समग्र कोरिया नै आम कोरियाली जनताको साझा फूलबारी’ भन्ने धारणाको विकास गराइएको छ जनतालाई । जनताको सांस्कृतिक चेतना पनि धेरै उच्च रहेको देखिन्छ । समाजवादी संस्कृति नै त्यहाँको मुख्य संस्कृति हो । पुरुष–महिला दुवैले कालो सुट लगाउछन् । महिलाहरूले मिनी स्कट र हिल जुत्ता बढि लगाउछन् । राष्ट्रिय पोषाकको पनि त्यतिकै माया र कदर गर्दछन् कोरियन महिलाहरू ।

लवाई, खुवाई एउटै स्तरको भएकाले सबै समान देखिन्छन् । सहर बजारमा मात्र होइन रेल वे स्टेशनमा रेलबाट ओर्लने र चढने हजारौं जनताहरू एउटै समान पोषाक टाइसुटमा सजिएर हिडेको देखिन्छ । वर्कस पार्टी कोरिया र कोरियाली समाजवादले जनताको जीवन स्तर धेरै माथि पुर्याइदिएको पाइयो ।

कोरियाका जनताले खान, लाउन पाउदैनन् भोकभोकै मरिरहेका छन् । जनताहरू कुपोषणले ग्रस्त छन् भन्ने जुन प्रचार साम्राज्यवादी तथा पुँजीवादी संचार माध्यमहरूले फैलाएको थिए ती सबै झूठ प्रचारबाजी र मात्र रहेछ र कम्युनिष्टहरूलाई बदनाम गर्ने, विश्व जनतालाई समाजवादी व्यवस्थाप्रति घृणा पैदा गर्ने षडयन्त्र मात्र रहेछ भन्ने कुरा म आफैं उत्तर कोरिया पुगेर भित्रैसम्म पुगेर आफ्नै आँखाले देख्न पाउदा ती सबै प्रचारवादीहरू विश्वजनताका शत्रुहरूले फैलाएका झुठा समाचार मात्रै रहेछन् भन्ने मैले अनुभूति गरेको छु ।

कोरिया जनतालाई चुसम्म पनि बोल्न पाइदैन, संचार माध्यमबाट समेत वञ्चित गराएर बाधक बनाई राखिएको छ भन्ने जुन प्रचार गरिन्थ्यो ती सबै फुस्सा साबित भएको हामीले पायौं । त्याहाँ आम जनताले माक्र्सवाद–लेनिनवाद–जुछे विचारधारा –आत्मनिर्भरताको सिद्धान्त) लाई आत्मसाथ गर्दछन् । समाजवादी व्यवस्थालाई स्वीकारेछन् । अनुशासन त कडा छ । जुछे विचार धारा र समाजवादी व्यवस्थाका विरुद्ध जान भने पाइदैन त्यहाँ ।

कोरियाली जनताका लागि नेट, इन्टरनेट फोन, मोबाइल सब प्रयोग निःशुल्क रुपमा गर्न पाउँछन् । कोरियाकै विशेषतामा सामाजिक संजाल पनि जनताले प्रयोग गर्न पाउँछन् । विदेशी नागरिकहरूलाई भने संचार सरकार नियन्त्रित छ र महंगो छ । एक मिनेट कल गरे वापत ५ सय अमेरिकी डलर लाग्ने रहेछ । अरु सबै छुट छ त्यहाँका जनतालाई ।

सडक, गाडी, यातायातका साधनहरू, भवन, महल, Science and Technology Building लगायतका जुन भौतिक संरचनाहरू राजधानी प्योङयाङ लगायत देशभरी जुन वैज्ञानिक र उच्च स्तरको प्रवृत्तियुक्त गरिएको हातहतियारको निर्माण सबैको विकासलाई भित्री पसेर हेर्दा के देखिन्छ कोरियाली समाजवादले विश्व जनतालाई प्रेरणादायी र शिक्षाप्रदका रुपमा लिनु पर्ने गरि अत्याधिक विकास गरेको छ र आम कोरियाली सन्तुष्ट तुल्याएको देखिन्छ ।

यो समाजवादी व्यवस्थाको पहिलो विशेषता हो, त्यो उत्तर कोरियाले विश्वजनताका सामु प्रस्तुत गरि रहेको छ । मसँग वर्कर्स पार्टी कोरियाका उपाध्यक्ष कमरेड किम कि नाम सँग भेट भयो । कमरेड नामसँग भेटमा उहाँले ‘हाम्रै विशेषतामा आधारित उत्कृष्ट प्रकारको समाजव्यवस्था कायम गरेको छौं, यसलाई बचाइ राख्ने हाम्रो प्रतिबद्धता भने जनताप्रति समर्पित वर्कर्स पार्टी कोरिया र कडा अनुशासन हो’ भन्नु भएको थियो । सेमिनारमा पनि यसै प्रकारको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

अन्त्यमा हामी क्रान्तिकारी कम्युनिस्टहरूले उत्तर कोरियाबाट विशेष गरि के कुराहरू शिक्षाको रुपमा ग्रहण गरेर सिक्न सकिन्छ भने पहिलो–वर्कर्स पार्टी कोरिया भित्र शुरु देखि कायम गरिदै आएको लौह अनुशासन र पार्टी पद्धति । दोस्रो वर्कर्स पार्टी कोरियाले सधै व्यवहारमै पुष्टि गर्दै आएको देश र जनता प्रतिको समर्पण । तेस्रो पार्टी नेतृत्वको देश र जनता प्रति गर्दै योगदान, बलिदान, निस्वार्थ भाव । चौथो–त्यहाँका कम्युनिस्टहरूले व्यवहारमै प्रदर्शन गर्दै वर्गीय मायाँ र कामरेडली व्यवहार ।

पाचौं– अत्यन्तै व्यवस्थित योजनाबद्ध र नियमित पार्टी स्कुलिङ्ग । छैठौ– समाजवादको स्थापना पश्चात मुलुकको पुनर्निमाण र आधुनिकीकरण त्यहाँ पार्टी नेतृत्व र सरकार कटिबद्ध भएर लाग्ने संस्कारको निर्माण । सातौं–जनतालाई देशको मालिक बनाउनमा नमूना योग्य बन्नु । आठौं– पार्टी, देश र जनतालाई सधैं एकताबद्ध तुल्याउन सफल भइरहनु । नवौं–हरक्षेत्रमा पार्टीलाई पहिलो राख्नु, दशौं– जनताको जीवनस्तर उच्चस्तरमा पुर्याउनु । एघारौं– विकास निर्माण, सडक, यातायात र अन्य भौतिक विकासलाई चरम सिमामा पुर्याउनु । बाह्रौं–विज्ञान र प्रविधिका क्षेत्रमा अतुलनीय प्रगति गर्नु । तेह्रौं– आम जनतालाई अमेरिकी साम्राज्यवाद प्रति तीव्र घृणा व्यक्त गर्न र त्यसका विरुद्ध लड्न तयार पार्नु । चौधौं– पार्टी, सेना र आम जनताका बीचमा जनवादी तथा समाजवादी संस्कृतिको उच्च विकास र परिपालन गर्नु गराउनु । पन्ध्रौं वर्कर्स पार्टी कोरियाले पार्टी, देश र जनतालाई सधै एकताबद्ध तुल्याई राख्न सफल हुनु ।

उत्तर कोरियाको त्यस ऐतिहासिक भ्रमणबाट मैले अनुभूति र जीवन व्यवहारमा लागु गर्न, सधैं तयार हुन सक्नुपर्छ भन्ने लागेका विषयहरू यिनै हुन् ।