गत सिजनको खराब लय बिर्साउँदै चेल्सी बन्यो प्रिमियर लिग च्याम्पियन

गत सिजनको खराब लय बिर्साउँदै चेल्सी बन्यो प्रिमियर लिग च्याम्पियन

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी छँदै उपाधि जितेको हो ।

चेल्सीको जितमा मिसी बात्सुईले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । वेस्टब्रोमको घरेलु मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।

राम्रो खेल्नुका बाबजुद उसलाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।

एन्टोनी कोन्टेको टिम चेल्सीका लागि विजयी गोल गरेका बात्सुई यही सिजन मार्सेइलीबाट चेल्सी आएका हुन् । यो उपाधीसँगै चेल्सीले गत सिजनको खराब लयलाई समेत बिर्साएको छ ।

सन् २०१४/१५ को सिजनमा उपाधी जितेको चेल्सी गत सिजनमा खराब प्रदर्शन गर्दै १० औं स्थानमा रहँदै लिग सकाएको थियो । यो उपाधीसँगै चेल्सीले पछिल्ला तीन सिजनमा दोस्रो पटक प्रिमियर लिगको उपाधी जितेको हो ।

नाटकीय बनेको अघिल्लो सिजनमा लेस्टर सिटीले उपाधी जितेको थियो । लेस्टर सिटी यो सिजन ९ औं स्थानमा रहेको छ ।

लिगमा दुई खेल बाँकी हुँदा चेल्सीको ३६ खेलबाट ८७ अंक रहेको छ भने दोस्रो स्थानको टोटलह्यामको ३५ खेलबाट ७७ अंक रहेको छ ।

प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि नजिक रहेको छ । चेल्सीले एफए कपको उपाधीका लागि यही मे २७ मा अर्को प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ ।