एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच एजेन्सी (एफबीआई) का निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले समेत उनलाई बर्खास्त गरेको पुष्टि गरेको छ । एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रपति डोनाल्ड जे ट्रम्पले एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट हटाएको जानकारी दिइएको छ ।’
ह्वाइट हाउसले जेम्स कोमीलाई महान्यायधिवक्ता जेफ सेसन्सको सिफारिसका आधारमा पदबाट हटाइएको जनाएको छ ।
जेम्स कोमी अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको चुनाव प्रचार अभियानको रुससँगको सम्बन्धबारे भइरहेको अनुसन्धानको नेतृत्व गरिरहेका थिए । राष्ट्रपति ट्रम्पले एक पत्र लेखेर प्रभावकारी रुपमा एफबीआईको नेतृत्व नगरेको आरोप लगाएका थिए ।
ट्रम्पको यो निर्णय गत साता कोमीले अमेरिकी कंग्रेसलाई हिलारी क्लिन्टनका इमेलका बारेमा गलत जानकारी दिएको विषय सेलाउन नपाउँदै आएको हो ।
गत वर्षको नोभेम्बरमा राष्ट्रपति निर्वाचनअघि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनका विदेशमन्त्री रहेका बेला निजी सर्वरबाट इमेल पठाएको मामलामा नयाँ इमेल पाइएको भन्दै दोस्रो पटक छानविन सुरु गरेका थिए ।
जसलाई हिलारी क्लिन्टनको हारको प्रमुख कारण मानिएको छ । अमेरिकी चुनावमा हिलारी क्लिन्टनको इमेल काण्ड धेरै चर्चामा आएको थियो । यसलाई आधार बनाएर डोनाल्ड ट्रम्पले पटक पटक हिलारीमाथि आरोप लगाएका थिए ।
हिलारीले आफ्ना इमेलमा छानविन गरेर अभियानमा जबरजस्ती धक्का पुर्याएको बताउँदै आएकी छिन् । हिलारीमाथि विदेशमन्त्री रहेका बेला आधिकारिक इमेल आफ्नो निजी सर्वरबाट पठाएको आरोप थियो । एफबीआईले उनको इमेलमा कुनै प्रकारका गलत क्रियाकलाप भएको नपाइएको जनाइसकेको छ ।