जकार्ता । संसारकै सबैभन्दा वृद्ध दाबी गरिएका १ सय ४६ वर्षीय बाह घोटोको इन्डोनेशियामा मृत्यु भएको छ ।
उनका दस्तावेजअनुसार सोदीमेजो नामले चिनिने बाह घोटोको जन्म सन् १८७० मा भएको थियो । तर इन्डोनेशियाले सन् १९०० पछि जन्मदर्ता सुरु गरेका कारण उनको जन्मदर्तामा सोही मिति उल्लेख छ ।
गत १२ अप्रिलमा स्वास्थ्यमा आएको खराबीका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले अस्पताल लगेको ६ दिनपछि नै घर लैजान माग गरेका थिए ।
उनका नाती सुर्यंतोले अस्पतालमा उनले धेरै कममात्रै खानेकुरा र पानी खाएको तथा मृत्यु हुने दिनसम्ममा सबैकुरा खान छाडेको बताएका छन् । उनले गत वर्ष बीबीसीलाई दिएको अन्र्तवार्तामा आफ्नो लामो उमेरको राज आफ्ना परिवारको हेरचाह र प्रेम भएको बताएका थिए ।
अन्तिम समयसम्म धुम्रपान गर्ने घोटोका अघि चार पत्नी, १० जना भाईबहिनी र सबै छोराछोरीको मृत्यु भएको थियो । बाह घोटो आफ्नो गाउँमा जापान र नेदरल्यान्डको उपनिबेशकालका युद्धको कहानीलाई लिएर चर्चित थिए ।
उनले त्यसबेलाका कथा सुनाउँदा सुन्नका लागि गाउँका मानिसहरु भेला हुने गर्दथे । उनका नाती सूर्यंतोले आफ्ना हजुरबुबाको उनले नै किनेको जमिनमा अन्तिम संस्कार गरिएको जनाएका छन् ।
यसैगरी उनको कब्रस्थानमा उनकै घरमा केही वर्षदेखि राखिएका ढुंगाको प्रयोग गरिएको छ । यदी उनको उमेरबारे स्वतन्त्र पुष्टि हुने हो भने घोटो फ्रान्सका जान कालमाओको रेकर्डलाई तोडेर मानव इतिहासकै सबैभन्दा वृद्ध मानिस हुनेछन् ।