–क्रान्तिविना राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधान हुन सक्तैन । क्रान्तिको तयारीको दिशामा लाग्न हामी सबैले विशेष जोड दिनु पर्दछ ।
– हाम्रो मूल लक्ष्य वर्तमान प्रतिगामी राज्यसत्ता, व्यवस्था र त्यसका पक्षधर राजनीतिक शक्तिहरुको भण्डाफोर गर्नु, जनताका बीचमा गई जनाधार तयार पार्नु, संगठन विस्तार गर्नु, आदि थिए र ती लक्ष्य केहीहदसम्म हासिल भएका छन् । निर्वाचनमा विजय हासिल गर्नुलाइ मूल लक्ष्य बनाइएको थिएन ।
– वर्तमान सत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरुबीच गम्भीर प्रकारका अन्तर्विरोध छन् । त्यसैगरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचका अन्तर्विरोध थप चुलिदै गएका छन् । साम, दाम, दण्ड, भेदका पद्धति अवलम्बन गरेर गरिने चुनावी नौटंकीले अन्ततः प्रतिक्रियावादको आयुलाई कुनै पनि हालतमा लम्ब्याउन सक्तैन । हाम्रो उपयोग त त्यसलाई कमजोर पार्न कै लागि हो ।
– प्रतिक्रियावादोन्मुख सिंगो माकेबाट त क्रान्तिकारी बन्ने कुनै सम्भावना नै हामी देख्तैनौं र त्यो अझै चरम राजनीतिक तथा वैचारिक पतनको दिशामा जाने कुरा स्पष्ट नै छ । त्यसैगरी बहिस्कारपन्थी साथीहरुले रहस्यवादी राजनीतिक गर्दै आएका छन् । त्यो पनि सिंगो रुपमा सही दिशामा आउला भन्ने देखिदैन । तर ती संगठनभित्र रहेका क्रान्तिकारीहरुमा ध्रुवीकरण आउने वा ल्याउने कुरा हो, त्यो सम्भावना छ । हाम्रो प्रयत्न सच्चा कम्युनिष्टहरुलाई गोलबन्द गर्ने तर्फ नै हुनुपर्छ ।
– प्रतिक्रियावादी तथा संसदवादी कित्तामा त्यहाँका प्रमुख अभिनेता वा पात्रहरु पक्ष र प्रतिपक्षमा अनेकौं नौटंकीहरु खेल्ने गर्दछन् । अन्तमा ती सबै त्यही सत्ता र व्यवस्थाका संरक्षक नै बनेका हुन्छन् । यस्ता नाटकबाट ठूलै कुरा भयो भन्ने ठान्नु हुँदैन ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन परिणाम, त्यसले पार्टीपंक्ति र जनपंक्तिमा पारेको प्रभावका दृष्टिले ‘निर्वाचनको क्रान्तिकारी उपयोग’को कार्यनीतिमा क्रान्तिकारी माओवादी कति हदसम्म सफल भयो ? यसको समग्र मूल्यांकन कसरी गर्नुभएको छ ?
–यहाँ सर्वप्रथम कुन करामा स्पष्ट हुन जरुरी छ भने हाम्रो पार्टी स्वयम् प्रत्यक्ष रुपमा अहिलेको स्थानीय निर्वाचनको उपयोगमा गएको होइन, पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई समर्थन गर्ने निर्णय गरिएको हो । र, यसैलाई क्रान्तिकारी उपयोगको अर्थमा बुझ्नु पर्दछ । जहाँसम्म यसमा के कति सफलता प्राप्त भयो भन्ने प्रश्न हो, त्यसको निर्धारण हामीले लिएको लक्ष्य र त्यसको परिणामद्वारा निर्धारित हुन्छ ।
हाम्रो मूल लक्ष्य वर्तमान प्रतिगामी राज्यसत्ता, व्यवस्था र त्यसका पक्षधर राजनीतिक शक्तिहरुको भण्डाफोर गर्नु, जनताका बीचमा गई जनाधार तयार पार्नु, संगठन विस्तार गर्नु, आदि थिए र ती लक्ष्य केहीहदसम्म हासिल भएका छन् । निर्वाचनमा विजय हासिल गर्नुलाइ मूल लक्ष्य बनाइएको थिएन । अखिर जे जस्तो अपेक्षा गरिएको थियो, मूलतः त्यही नै भयो । यो आंशिक मूल्यांकन मात्र हो । समग्र मूल्यांकन त दोस्रो चरणको निर्वाचन पछि नै गरिनेछ ।
निर्वाचन उपयोगलाई कार्यनीतिक विषय भन्दै गर्दा कतिपयले यसलाई रणनीतिक अर्थमा बुझेको पनि देखियो नि ? नीतिगत व्याख्याकै अपुग त भएको होइन ?
–एकाध ठाउँमा यस्ता समस्या रहे । समग्रमा भने होइन । तर पनि नीतिगत व्याख्यालाई अझै स्पष्ट पार्न जरुरी छ ।
यसपटक यो कार्यनीतिमा हिंड्दा के कस्ता जटिलताहरुको सामना गर्नुपर्यो ?
–यस प्रकारको कार्यनीतिमा जाँदा दुई प्रकारका जटिलताको सामना गर्नु पर्यो– पहिलो बाह्य र दोस्रो आन्तरिक । बाह्य पक्ष भनेको सरकारले खडा गरेका समस्या हुन् । नयाँ दल दर्ता गर्नका लागि अवसर नदिनु, चुनाव चिन्हबाट बञ्चित गर्नु, मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि आवश्यक समय नदिनु आदि, यसैखाले समस्या हुन् ।
यहाँनेर यो संविधान र लोकतन्त्रलाई उत्कृष्ट भन्नेहरुको तानाशाही चरित्र पनि राम्रोसित उदांगिएको छ । दोस्रो समस्या भनेको आन्तरिक तयारीका लागि आवश्यक समयको अभाव, सांगठानिक परिचालन, प्रचारात्मक कामसित सम्बन्धित समस्या हो । यहाँ हामीलाई आफ्नै कमी, कमजोरी तथा सीमाबाट पनि कैयौं शिक्षा प्राप्त भएका छन् ।
यस पटकको स्थानीयतहको चुनावमा खासगरी माके र कांग्रेस, राप्रपा र एमालेबीचको अपवित्र चुनावी तालमेल पनि देखियो । संसदीय चुनावको यस्तो परिदृश्यलाई कसरी लिनु भएको छ ?
–यस पटकको निर्वाचनमा अपवित्र तालमेलका दृश्य पनि देखिए । कांग्रेस र एमालेका बारेमा बुझिएकै र भनिएकै कुरा हुन् । थप भनिरहनु पर्ने आवश्यकता छैन । जहाँसम्म माकेको कांग्रेससितको अपवित्र तालमेलको विषय हो, यसलाई माकेको तीव्र रुपमा भइरहेको प्रतिक्रियावादीकरणको कुरुप नमूनाका रुपमा लिनु पर्दछ ।
चुनावी परिणामले त प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै अझ मजबुत गराएको विश्लेषण राजनीतिक वृतमा गरिदैछ । क्रान्तिकारी माओवादीको अबको कार्यनीतिक स्टेप के कस्तो हुन्छ ?
–प्रतिक्रियावादी संविधान बन्नु नै प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थालाई स्थापित गर्नु थियो । हामीले यसैविन्दुबाट नै अब अर्को प्रतिक्रियाकाल सुरु भयो भनिसकेका थियौं । अनि यस खालको सत्ता, व्यवस्था र सरकार अन्तर्गत हुने वा गरिने चुनावहरुको परिणाम पनि तदनुरुप हुने नै भयो । र, यसले प्रतिक्रियावादी सत्ता र व्यवस्थालाई बलियो बनाउने कुरा त सिद्धान्ततः स्वतःसिद्ध नै हो । तर पनि वर्तमान सत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरुबीच गम्भीर प्रकारका अन्तर्विरोध छन् ।
त्यसैगरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचका अन्तर्विरोध थप चुलिदै गएका छन् । साम, दाम, दण्ड, भेदका पद्धति अवलम्बन गरेर गरिने चुनावी नौटंकीले अन्ततः प्रतिक्रियावादको आयुलाई कुनै पनि हालतमा लम्ब्याउन सक्तैन । हाम्रो उपयोग त त्यसलाई कमजोर पार्न कै लागि हो । जहाँसम्म पार्टीले अगाडिको कार्यनीतिक स्टेपको कुरा हो, त्यो स्थानीय निर्वाचनपछि बस्ने केन्द्रीय समितिले नै टुंगो लगाउने छ । तर पनि, सामान्य रुपमा भन्नुपर्दा हाम्रो आगामी कार्यनीतिक स्टेप संघीय जनगणतन्त्रको स्थापनाका लागि क्रान्तिको तयारी नै हो ।
प्रतिक्रियावादन्मुख माके र बहिस्कार गरेको नेकपामा बढ्दो निराशाले क्रान्तिकारी ध्रुवीकरण ल्याउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
–प्रतिक्रियावादोन्मुख सिंगो माकेबाट त क्रान्तिकारी बन्ने कुनै सम्भावना नै हामी देख्तैनौं र त्यो अझै चरम राजनीतिक तथा वैचारिक पतनको दिशामा जाने कुरा स्पष्ट नै छ । त्यसैगरी बहिस्कारपन्थी साथीहरुले रहस्यवादी राजनीतिक गर्दै आएका छन् । त्यो पनि सिंगो रुपमा सही दिशामा आउला भन्ने देखिदैन । जहाँसम्म उनीहरुका गलत राजनीति र विचारका कारण ती संगठनभित्र रहेका क्रान्तिकारीहरुमा ध्रुवीकरण आउने वा ल्याउने कुरा हो, त्यो सम्भावना छ । हाम्रो प्रयत्न सच्चा कम्युनिष्टहरुलाई गोलबन्द गर्ने तर्फ नै हुनुपर्छ ।
७. राष्ट्रियता, जनतन्त्र र जनजीविकामा मुद्दाहरुमा यो चुनावले त्यसको प्रधानतामा अदल बदल आउन सक्ने देख्नुहुन्छ ?
–मूलभूत रुपमा केही अदल बदल आउने कुरा अहिले देखिएको जस्तो लाग्दैन ।
सरकार फेरबदल, संविधान संशोधन, प्रधानन्यायाधिश प्रकरण र संघीय गठबन्धनको आन्दोलनलाई चाहिं क्रान्तिकारी माओवादीले कसरी हेरेको छ ?
–यी विषयलाई तीन अर्थमा ग्रहण गर्नु पर्दछ । पहिलो, प्रतिक्रियावादी तथा संसदवादी कित्तामा त्यहाँका प्रमुख अभिनेता वा पात्रहरु पक्ष र प्रतिपक्षमा अनेकौं नौटंकीहरु खेल्ने गर्दछन् । अन्तमा ती सबै त्यही सत्ता र व्यवस्थाका संरक्षक नै बनेका हुन्छन् । यस्ता नाटकबाट ठूलै कुरा भयो भन्ने ठान्नु हुँदैन ।
दोस्रो, संविधान संशोधन, प्रधान न्यायाधिश प्रकरण र संघीय गठबन्धनको आन्दोलनलाई वर्तमान सत्ता, व्यवस्था र तिनका पक्षधरहरुबीच चुलिदै गएको अन्तर्विरोधलाई समाप्त पार्न पनि सक्तछ । तेस्रो, यी सबै आन्तरिक मात्र होइन, मुख्यतः बाह्य चलखेलका, स्पष्ट रुपमा भन्ने हो भने साम्राज्यवादी तथा विस्तारवादी चलखेलका अभिव्यक्ति पनि हुन् । यस अर्थमा देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा थप खतरा पैदा हुँदै गइरहेको देखिन्छ ।
प्रसंग बदलौं । प्रचण्ड नेतृत्वको सरकारको पछिल्लो दश महिने कार्यकाललाई कसरी हेर्नुभएको छ ?
–यो सामान्यतः औपचारिक नै रह्यो । भारत सरकारसित जुन २५ बुँदे सहमति गरियो, त्यो राष्ट्रघाती रहेको छ । साथै, संविधानको कार्यान्वयनमा जसरी जोड दिंदै आउने काम भयो, त्यसले दलाल, नोकरशाही पुँजीपति तथा सामन्तवर्गीय राज्यसत्ता र व्यवस्थाको संरक्षण गर्ने काममा ठूलो मद्दत पुर्याएको छ ।
पछिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले चीनसँग गरेको ओबर सम्झौतालाई चाहिं क्रान्तिकारी माओवादीले कसरी लिएको छ ? ओबिओरप्रति क्रान्तिकारी माओवादीको धारणा के हो ?
–चीनसँग ओबर सम्झौता बाध्यतावश गरियो । तर पनि यो सकारात्मक नै रहेको छ । यसले भारतीय एकाधिकारलाई केही कमजोर नै तुल्याएको छ ।
फेरि प्रसंग बदलौं । निर्वाचनको क्रान्तिकारी उपयोगको कार्यनीति लिएपछि अन्तर्राष्ट्रिय भाइचराहरुको के कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
–हरेक पार्टी आफ्नो देशको स्थिति अनुरुप राजनीतिक कार्यनीति निर्धारणमा स्वतन्त्र छन् र हुनु पनि पर्दछ । अहिलेको हाम्रो चुनाव उपयोगको नीतिबारे कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
दोस्रो चरणको निर्वाचन नजिकिदै गएको अवस्थामा आम पार्टीपंक्ति र जनपंक्तिमा के आव्हान गर्न चाहनु हुन्छ ?
–वर्तमान राज्यसत्ता, व्यवस्था र संविधान पश्चगामी रहेका छन् र तिनको विरोधमा संघीय जनगणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जानका लागि निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुरुप पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चालाई समर्थन गर्ने निर्णय लिएको छ । यस निर्णयलाई कार्यान्वयन गर्न र सघाउन म आम पार्टीपंक्ति र जनसमुदायलाई विशेष आव्हान गर्दछु । क्रान्तिविना राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधान हुन सक्तैन । क्रान्तिको तयारीको दिशामा लाग्न हामी सबैले विशेष जोड दिनु पर्दछ ।































