उत्तर कोरियाद्वारा तीन साताभित्र तेस्रो क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा तीन साताभित्र तेस्रो क्षेप्यास्त्र परीक्षण

एजेन्सी । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट कम दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाली सैनिक अधिकारीहरुका अनुसार झण्डै ४ सय ५० किलोमिटरसम्मको यात्रा पूरा गरी सो क्षेप्यास्त्र सी अफ जापानमा अवतरण गरेको थियो ।

उत्तर कोरियाले पछिल्ला तीन सातामा गरेको यो तेस्रो क्षेप्यास्त्र हो भने यो वर्षभित्र परीक्षण गरेको ९ औं क्षेप्यास्त्र हो । पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

जापानले उत्तर कोरियाको निरन्तरको उत्तेजनात्मक गतिविधि सह्य नहुने चेतावनी दिएको छ ।

अमेरिकी रक्षामन्त्रीले आइतबार सीबीएस टेलिभिजनसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरिया, जापान र रुसलाई समेत खतरा उत्पन्न गराएको बताएका थिए । उनले उत्तर कोरियाका कारण भयावह द्वन्द्व हुन सक्ने चेतावनी दिएको भोलिपल्टै उत्तर कोरियाको यस्तो चेतावनी आएको हो ।

यसअघि उत्तर कोरियाप्रति नरम धारणा राख्ने नेताका रुपमा चिनिने दक्षिण कोरिया राष्ट्रपति मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने खतरा औंल्याएका थिए ।

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षण र पारमाणविक कार्यक्रमलाई लिएर पछिल्लो समय कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।