काठमाडौ । विदेशमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई समकक्षताको प्रमाणपत्र विश्वविद्यालय अनुदान अयोगले दिने भएको छ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले दिँदै आएको समकक्षताको प्रमाणपत्र १ साउनदेखि विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने भएको हो ।
केन्द्रले बिहीबार सूचना जारी गर्दै समकक्षता निर्धारण कार्य बन्द गरिएको जनाएको छ । आज अर्थात् १ साउनदेखि नै केन्द्रले समकक्षता निर्धारणसम्बन्धी आवेदन लिने छैन ।
सरकारी निर्णयका आधारमा त्रिविको रेक्टर कार्यालयमातहतको पाठ्यक्रम विकास केन्द्रले विदेशीसहित स्वदेशी डिग्रीलाई पनि समकक्षता प्रदान गर्ने काम गर्दै आएको थियो ।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ मा विज्ञहरूले त्रिविले गर्दै आएको समकक्षताको काम आयोगलाई दिनुपर्ने सिफारिस गरेका थिए । २०८२ साउनमा केही नेपाल ऐन संशोधनमार्फत विश्वविद्यालय अनुदान आयोग ऐन २०५० मा गरिएको संशोधनबाट आयोगले उक्त अधिकार पाएको थियो ।
संशोधनमा उच्च शिक्षाको नियामक निकाय आयोगलाई समकक्षतासहित क्रेडिट ट्रान्सफर र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्यूएए० को अधिकार दिइएको छ ।
संशोधनमा आयोगको काम, कर्तव्य, अधिकारमा ‘विदेशी विश्वविद्यालय वा सोसरहको शैक्षिक संस्थाबाट प्रदान हुने शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने’ बुँदा थप भएको छ ।
आयोगले समकक्षताका लागि तयारी गरिसकेको जनाएको छ । सरकारी कामकाजमा नेपालकै अन्य विश्वविद्यालयबाट अध्ययन पूरा गरे पनि त्रिविबाट समकक्षता लिनुपर्ने बाध्यात्मक अवस्था छ ।
































