दिल्लीमा ककरोच पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबिच झडप, संसद्‌तर्फ बढे प्रदर्शनकारी

दिल्लीमा ककरोच पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबिच झडप, संसद्‌तर्फ बढे प्रदर्शनकारी

काठमाडौं । दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको संसद् मार्चमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दा कैयौँ मानिस घाइते भएका छन्। यसका बाबजुद पनि प्रदर्शनकारीहरू अघि बढ्दै संसद् मार्ग प्रहरी चौकीसम्म पुगेका भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

सोमबारको प्रदर्शनका लागि आइतबार राति ११ बजेदेखि नै मानिसहरू जन्तर(मन्तरमा भेला हुन थालेका थिए। उनीहरूले फुटपाथमै रात बिताए। सोमबार बिहान मार्च सुरु हुनेबित्तिकै प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। जन्तर(मन्तरका सबै प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले ७ फिट अग्लो ३(तहको ब्यारिकेडिङ गरेको थियो। तर, बढ्दो भिडले ब्यारिकेडहरू पन्छाउँदै र तोड्दै अघि बढ्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

प्रहरीले संसद्को नयाँ अधिवेशन सुरु भएकाले कसैलाई पनि मार्चको अनुमति नदिइएको बताएको छ। जन्तर(मन्तरदेखि संसद्‌सम्म करिब ५ हजार प्रहरी र र्‍यापिड एक्सन फोर्सका जवानहरू तैनाथ गरिएका छन्। यता, प्रदर्शनकारीहरू भने हातमा भारतीय झन्डा बोकेर नाराबाजी गर्दै संसद्‌तर्फ बढिरहेका छन्।

हातमा झण्डा बोकेका प्रदर्शनकारीहरूलाई प्रहरीले दमन गरेपछि भागदौड मच्चिएको थियो भने लाठीचार्जपछि एक प्रदर्शनकारीले ‘मलाई हान’ भन्दै कराएको भिडियो सार्वजनिक भएको छ।आइतबार रातिदेखि नै ककरोच जनता पार्टीका समर्थकहरू जन्तर(मन्तरमा भेला भएर रातभर धर्ना दिएका थिए। झन्डा र मोबाइलको फ्ल्यासलाइट बालेर उनीहरूले आफ्ना माग र अभियन्ता सोनम वाङचुकको समर्थनमा नाराबाजी गरे। सीजेपीको मुख्य माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको छ। यस धर्नामा वाङचुककी पत्नी गीताञ्जली आङ्मो पनि उपस्थित थिइन्।

संसद्‌भित्र पनि विपक्षीको विरोध

संसद्को नयाँ अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरूले प्रश्नपत्र चुहावट र राम मन्दिरको भेटी चोरी जस्ता मुद्दाहरू उठाएर सरकारलाई प्रश्न गरेका छन् । राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेले जंतर(मन्तरमा विद्यार्थीहरूमाथि भएको प्रहरी लाठीचार्जको कडा विरोध गरे। उनले भने, ‘लाखौँ बालबालिकाको भविष्य दाउमा छ। उनीहरूको आवाज दबाउन सरकारले बल प्रयोग गरिरहेको छ।’खड्गेको विरोधपछि राज्यसभाको कारबाही केही समयका लागि स्थगित गरिएको थियो। उता, लोकसभामा विपक्षी सांसदहरूले प्लेकार्ड र ब्यानर बोकेर हंगामा गरेपछि लोकसभाको कारबाही जम्मा १२ मिनेट मात्र चलेर १२ बजेसम्मका लागि स्थगित भयो।

कांग्रेस सांसद मनिष तिवारीले महत्त्वपूर्ण विषयमा छलफल गर्न प्रश्नकाल र शून्यकाल स्थगित गर्न ‘स्थगन प्रस्ताव’ दर्ता गराएका छन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘मनसुन होस् वा मनसुन सत्र, दुवै सक्रिय भए भने निकै उत्पादक हुन्छन्। संसद्‌मा तर्क र तथ्यसहित छलफल हुनुपर्छ।’

यसैबीच, प्रधानमन्त्री मोदीले विपक्षी नेता राहुल गान्धीको नाम नलिइकन उनीमाथि व्यङ्ग्य गरे। भारतको युवा स्टार्टअप ‘स्काईरूट’ ले अन्तरिक्षमा हासिल गरेको सफलताको प्रशंसा गर्दै मोदीले भने, ‘त्यस स्टार्टअपमा काम गर्ने युवाहरूको औसत उमेर २८ वर्ष छ, म कुनै ५६ वर्षे नौजवानको कुरा गरिरहेको छैन।