साँस्कृतिक वलिदान दिवस र इच्छुकको स्मृति सन्देश

प्रकाशित मिति : २०७४ जेष्ठ १४

- ईश्वरचन्द्र ज्ञवाली

जेठ १३ गते साँस्कृतिक वलिदान दिवस हो । यो दिन त्यो दिन हो जुन दिन कृष्ण सेन ‘इच्छुक’लाई हिरासतमा हत्या गरियो । मानवता, मानवीय मूल्य, सम्वेदना र मानव चेतना समेतको ख्याल नगरी मानव अस्तित्वको खिलाफ गर्दै पुलिस क्लबमा पुलिसले कठोर र जघन्य यातनापूर्वक सेनको हत्या गरे । त्यहाँ क्रूरता,निर्ममता, जघन्यता, अमानवीयता प्रयोग भयो । सेन कलम चलाउने मान्छे थिए, बन्दुक होइन । तर बन्दुकले मात्र समाजको वर्ग चरित्र बदलिन्छ भन्ने विचार प्रवाह गर्थे,विश्वास गर्थे । जसका कारण उनलाई एकपटक जेलमा बन्द राखेर टाउकाको मोल तोकियो, अर्को पटक हिरासतमा जेलनेल हत्कडीले बाँधिराखेको बेलामा हत्या गरियो र त्यसैलाई ठूलो पुरुषार्थ भनियो । हातखुट्टा बाँधेर चौखु¥याएको प्राणीलाई हत्या गर्नुमा कुनै पुरुषत्व होइन कायरता र नीचता मात्र छचल्किन्छ । मान्छे पशुभन्दा पनि नृशंस र विवेकहीन भएपछि जेलमा वन्दी बनाइएका मान्छेको टाउको काट्न र चौखु¥याएका मान्छेको हत्या गरेर पुरुषार्थी बन्न पछि नपर्ने रहेछ । सम्भवतः सबभन्दा राम्रो प्राणी मान्छे हो र सम्भवतः सबभन्दा नराम्रो प्राणी पनि मान्छे नै हो ।

कृष्ण सेनको हत्या गरिएको दिनलाई साँस्कृतिक वलिदान दिवसका रुपमा मनाइँदै आएको छ । जनयुद्धका सहिदहरु बिर्सिइँदै गएका छन् । काँगे्रस र एमालेले त तिनै सहिदको रगतको आर्जन उपभोग गर्दै तिनै सहिद र उनको वलिदानलाई अपमान गर्ने, घृणा गर्ने, दुत्कार्ने र हियाउने गरेकै छन् । तिनै जनयुद्धका सहिदले ल्याएको गणतन्त्रको सिनो लुछ्न गिद्धले झैं हानथाप गर्नेहरु तिनैलाई अपमान गर्ने कृतघ्नताको बाटो लिएर वलिदान गर्नुपर्छ भन्ने भावनालाई नै मारिरहेका छन् । तर सेनकै पार्टीका नेताहरुले पनि सेनमाथि धुलो खन्याउने र पुर्ने गर्न थालेका छन् । यस स्थितिमा वलिदानको स्मृति झैं सेनलाई सम्झनु पनि गर्वको विषय भएको छ । तसर्थ यो १३ गते ऐतिहासिक दिन हो र इतिहासको गर्वोन्नत उदात्त आलोक छरिएको दिन पनि हो । यस दिनलाई २५० जति साँस्कृतिक सहिदहरुको त्यागमा सम्मान गर्ने दिन पनि मानिन्छ । यसैले साँस्कृतिक वलिदान दिवस, इच्छुकको हत्या गरिएको दिन पारेर सबै साँस्कृतिक सहिदलाई श्रद्धा र सम्मान अर्पण गर्ने दिन मानिएको छ । यो जनयुद्धका आदर्श र त्याग, वलिदान र विचार निष्ठाप्रति प्रतिवद्ध रहँदै अग्रगामी परिवर्तनको यात्रामा अघि बढ्ने प्रेरणा र उत्साह दिने दिन हो । इच्छुक साँस्कृतिक प्रतिष्ठानले यही दिवसमा माओवादी आन्दोलनमा संलग्न कला–साहित्यका यात्री, प्रगतिवादका अनुयायीलाई पुरष्कृत गर्दै आएको छ । साँस्कृतिक वलिदान दिवसमा हामीले सहिदलाई सम्झदै, उनका विचारलाई निरन्तरता दिन चाहने सर्जकलाई पे्ररित र उत्साहित गर्छांै, पुरष्कृत र सम्मानित गर्छाैं । यसपटक माओवादी आन्दोलनको धारमा समर्पित चार स्रष्टा पुरष्कृत भएका छन् । इच्छुक स्मृृति पुरष्कार रु. एक लाखको छ जुन यस पटक संयुक्त रुपमा २ जना स्रष्टालाई प्रदान गरिएको छ । गद्यतर्फका कथाकार÷पत्रकार–नवीन विभास र पद्यतर्फका कवि अनिल श्रेष्ठलाई । दुबैले सेनको आदर्शप्रति निष्ठावान् रहिरहने बाटो समातेका छन् । सेनका सपना भुलेका छैनन् र दक्षिणपन्थी विचलनलाई पनि विरोध गरिरहेका छन् । दक्षिणपन्थी हावा–हुरीले धेरै नर्कटलाई ढालिरहेको बेला सतिसाल झैं बनेर सही विचारको पक्षमा उँभिनु पनि एउटा युद्ध नै हो । उनीहरु त्यही संघर्षमा सामेल भइरहेकै छन् । त्यसै गरी इच्छुक प्रतिष्ठानले प्रतिभा पुरष्कारतर्फ साहित्यमा पञ्चकुमारी परियार र कलामा च्याङ्वा योञ्जन ‘अनीश’लाई पुरष्कार प्रदान गरेको छ । महिला, त्यसमाथि दलित, त्यसमाथि सत्यको पक्षलाई अनुसरण गर्ने संङ्कल्प बोकेकी भएकोले नै उनको योगदानलाई कदर गर्दै पुरष्कृत गरिएको हो । कलाकार बनेर राजनीतिक सेवागर्ने र सेनको अनुगामी भएर अग्रगामी विचारलाई गीत संगीतमार्फत जनतासम्म पु¥याउने दृढ चेतना र क्रान्तिधाराका गतिशील पात्र हुन् ‘अनीश’ । यसरी चारवटै पात्रमा पुरष्कारको ओज थाम्ने शक्ति देखेर नै उनलाई पुरष्कृत गरिएको हो । यो साँस्कृतिक वलिदान दिवसले इच्छुकको स्मृति, सहिदको सम्मान, पुरष्कार र प्रेरणाको बहुआयामिक मूल्यलाई समेटेको छ । यो दिन बाटो बिराउनेहरुलाई प्रेरणाको दिन बनोस् र सहिदका सपना पूरा गर्ने सङ्कल्प गर्ने दिन बनोस् हामी यही चाहन्छौं ।
“एक सर्वहारावादी क्रान्तिकारी योद्धा, सर्जक र एक महान् सहिदका रुपमा युगले कृष्ण सेनलाई सम्झनेछ । मैले निरन्तर क्रान्तिको दिशामा अघि बढ्ने प्रेरणा स्रोतका रुपमा इच्छुकलाई लिएको छु–प्रचण्ड–इच्छुक स्मति ग्रन्थबाट”

“कमरेड कृष्ण सेन ‘इच्छुक’ नेपाली नयाँ जनवादी क्रान्ति र साँस्कृतिक आन्दोलनका साथै नेपाली कम्युनिष्ट आन्दोलनका समेत एक महान् क्रान्तिकारी योद्धा तथा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो–किरण, ऐ.ऐ.बाट”

“मैले आफूलाई केमा गौरव ठान्दछु भने मैले उहाँको महान् विचार र व्यवहारमा कतैबाट वाधा पु¥याइन, कतैबाट आँच पु¥याउने कोसिस गरिन, गलत विचारका विरुद्ध लड्न प्रेरित गरें–तक्मा के.सी,ऐ.ऐ.बाट” ।

यी उद्धरणका आँखाबाट वर्तमानलाई नियाल्दा यी उद्धरण तीन प्रतिनिधि पात्र, तीन प्रतिनिधि विचार र तीन प्रतिनिधि सङ्कल्पका प्रमाण हुन् भन्ने मलाई लाग्छ । सेनको सम्झना कुरामा होइन व्यवहारमा गर्नुपर्छ । प्रचण्ड निरन्तर क्रान्तिको बाटोमा अघि बढिरहने प्रेरणा–स्रोत इच्छुकलाई मान्नु हुन्छ । किरण नयाँ जनवादी क्रान्तिको बाटो देखाउने आदर्श व्यक्तित्वका रुपमा सेनलाई लिनुहुन्छ । तक्मा गलत विचारका विरुद्ध लड्न प्रेरित गर्ने नायकका रुपमा हेर्नु हुन्छ । यी प्रतिवद्धता हुन्–लिखित प्रतिवद्धता । विप्लव र बाबुरामका कुरा छोडौं । यतिखेर को कहाँ, को कहाँको स्थिति छ र माओवादी आन्दोलननै विसर्जनको मोडमा आइपुगेको छ । के माथिका व्यक्तित्वहरु शब्द र कर्मको सामञ्जस्यप्रति निष्ठावान् छन् ? के उनीहरु हिंडिरहेको राजनैतिक बाटोले क्रान्तिकारी आदर्शको इच्छुकले सोंचेको प्राप्तव्यलाई सहयोग गर्दैछ ? वर्तमानले यही प्रश्न आन्दोलनसामु उठाएको छ । सही बाटो, सही विचार, सही प्राप्तव्य र सही गन्तव्यका बारेमा एक पटक घोत्लिनु पर्ने समय फेरि आएको छ । एमाले–काँगे्रसले फेरि देशलाई पुरानै नियतिमा पु¥याउने र पुरानै तरिकाले देशखाने बाटो प्रशस्त गरेका छन् र सुरसाको जस्तो भ्रष्टाचारी मुख बाएका छन् । हिंजो हामीले ०४६–०५८ का संसदीय व्यवस्थाका ‘दिव्य बाह्र वर्ष’मा त्यो देश खाने सुरसा मुखमा ढुङ्गो कोचिदिएका थियौं तर हाम्रा कमी कमजोरी र गलत विचार र बाटोका कारण उनीहरुले त्यो ढुङ्गो वाक्न सफल भए र फेरि देशखाने अभियान शुरु गरे । हामी कमजोर भयौं । हामीले हाम्रा आदर्श बिस्र्यौं । सहिद बिस्र्यौं । सपना बिस्यौं । त्यो सपना विपनामा बदल्ने शक्तिलाई छिन्नभिन्न र तहसनहस बनायौं । बाबुराम विचारबाटै भागे । विप्लव जम्न लागेको वैकल्पिक शक्तिलाई टुक्र्याएर ठूला सपनाभित्र रित्तो दर्शन छाँटेर त्यो शक्तिलाई क्षीण पार्न कस्सिए । प्रचण्ड संसदवादमा लिसो टाँस्सिए झैं टाँस्सिन पुगे र आफ्नो वर्ग र विचारलाई नै बिर्सिए । किरणले त बाटो बिराएका छैनन् तर उनको शक्ति क्षीण र कमजोर छ । केही गर्न नसक्ने जस्तो । दक्षिणपन्थी हावाहुरीले उनलाई भुमरीका वीचमा घेरिदिएको छ । ठेलिदिएको छ । यो चक्र तोड्न सक्ने नसक्ने परीक्षामा छन्–किरण । यस अवस्थामा शब्द र कर्मवीच सामञ्जस्य र लयको बाटो पहिल्याउनु जरुरी भएको छ । माथिका उद्धरणले सबैलाई औंलो ठड्याएका छन् । यतिखेर ध्रुव ज्ञवालीको गीतले भने झैं “हुँदैन एक्लै बसेर, क्रान्तिका गफ हाँकेर”, “क्रान्तिकारी नेपाल मुक्त बनाइ देऊ” झल्झली याद आइरहेछ । हामीले इच्छुकको सपना पूरा गर्न र विचार आत्मसात् गर्न शब्द र कर्मको मेलमा जोड दिनै पर्छ । इतिहासको प्रश्न पनि यही हो । कहाँ आइ पुग्यौं हामी ? के सोंचेका थियौं ?के भयो ? हाम्रा सारा प्रतिवद्धता के भए ? के सर्वहारा मुक्तभयो ? के देश विस्तारवादको चंगुलबाट मुक्त भयो ? के नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ? के नयाँ पुँजीवादी युग शुरु भयो त ?यी प्रश्नको जवाफ या त समयलाई दिनु पर्नेछ या माओवादी खरानी भएर बिलाउनेछ । माओवादी आन्दोलनको भयावह अग्निपरीक्षामा यसका सबै नायकले आत्मसमीक्षा गर्लान् त ? आफ्नो अतीत र वर्तमानको समीक्षा गर्दै शब्द र कर्मवीच तालमेल गर्लान् त ?

इच्छुक कर्मशील योद्धा थियो–सर्वहारा वर्गको राज्यसत्ताको सपना बोकेको । भारतीय विस्तारवादको सिकञ्जाबाट मुक्त स्वाधीन नेपालको सपना साँचेको एक निर्भीक र अविचल योद्धा थियो–इच्छुक त ! के हामी त्यो सपनाप्रति पूर्णतः निष्ठावान् छौं ? जेलनेल, यातना, दमन र मृत्युसँग पनि ऊ हारेन, झुकेन र बरु मेटियो तर लत्रेन । समाप्त भयो तर थाकेन । तर अहिले सामान्य स्वार्थमा नेताहरु थाके, गले, हारे । इच्छुकले जीवनभर प्रतिरोध ग¥यो–वीचैमा छोडेन । हामीले किन छोड्यौं ? उसले कायरतापूर्वक शत्रुका सामु पुच्छर लुकाएर पीठ फर्काएन । पत्रकारका रुपमा शब्दवाण प्रहार गरिरह्यो । कविका रुपमा कविताका शब्दगुच्छालाई बम बनाएर विस्फोट गरिरह्यो । साँस्कृतिककर्मीका रुपमा मान्छेका गलत आचरणविरुद्ध संघर्षशील भइरह्यो । राजनेताका रुपमा सधै सही र क्रान्तिकारी विचारप्रति अडिग रह्यो । ऊ नैतिकवान् योद्धा थियो तर हामी किन अनैतिकताका पुजारी हुन पुग्यौं ? के यी सबै कुरा भन्नका लागि मात्रै हुन्, आदर्शवादी नारा मात्रै हुन् ? एउटा निष्ठावान् कार्यकर्ताका रुपमा सधैभरि क्रान्तिप्रति समर्पित स्वप्नशील जीवन बाँच्ने इच्छुक जति ऊ सरल थियो त्यत्ति दृढ पनि । तर आज हामीभित्रको दृढता व्यावहारिकताका नाममा किन हरायो ? इच्छुक जत्ति इमान्दार थियो त्यत्ति आदर्शशील पनि ? तर आज हाम्रा आदर्श हराउँदै किन गएका छन् ? व्यवहारमा जति नरम भए पनि विचारमा ऊ कठोर र अविचलित थियो ।सिद्धान्तप्रति अटल र आन्दोलनप्रति प्रतिबद्ध इच्छुक त्याग र वलिदानको शिखर झैं भएर उँभियो पनि । एउटा साहसी वीर कर्तव्यनिष्ठ जनउत्तरदायी कम्युष्टि कार्यकर्ताका रुपमा इच्छुकले खेलेको भूमिका सदा अनुकरणीय र अविस्मरणीय रहनेछ । त्यो सम्मानित र श्रद्धेय पनि हुनेछ ।तर वर्गशत्रुहरुले जसरी अहिले सेनका त्याग, वलिदान र उत्सर्गलाई हियाइरहेछन् त्यसका पछि हामी कारक भएर उँभिएका छौं । सेनहरुले रगत चढाएर धर्ती न सिञ्चेको भए शत्रुहरुले गणतन्त्रको मुख देख्न पाउने थिएनन् । गणतन्त्र बैलगाडामा चढेर आउँदैनथ्यो । यो गणतन्त्र रत्नपार्कमा सयदुईसयको लट्ठी तानातानको खेलबाट आएको पनि होइन । गाउँगाउँबाट सेनहरुका आदर्श पछ्याउँदै जीवन हत्केलामा राखेर सहरका गल्ली गल्ली मरिदिने जङ्गलवर्गका योद्धाहरुको त्याग र रगतको प्रतिफल आएको गणतन्त्रले तिनैको उछित्तो काढिरहेछ ।

अन्तमा सेनको स्मृति दिवसको यस अवसरमा साँस्कृतिक क्षेत्रका सबै महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । तिनै सहिदका सपनाले हामीलाई बाँच्ने धुकधुकी प्रदान गरिरहेछ । मृत्यु होइन जीवन रोजौं, सपनाहरु त्याग्नु त मृत्यु रोज्नु नै हो । कृष्ण सेनहरुलाई सम्झेर फेरि अर्को अभियानको थालनी गरौं । ताकि सहिदहरुको त्यो त्याग र उत्सर्गप्रति न्याय होस् ।हामी विसर्जनतिर खसिरहेछौं । नयाँ ढङ्गले सोंच्ने, नयाँ ढङ्गले सङ्गठित हुने र नयाँ आन्दोलन न उठाउने हो भने वलिदानको मूल्य समाप्त हुनेछ ।फेरि निराशाहरु चिरेर पलायनवादका विरुद्ध दृढ विश्वास जगाउन सक्यौं भने सेनहरुको वलिदानको मूल्य बचाउन सकिन्छ ।