काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्ना उम्मेदवारहरु प्यानलै विजयी भएको काभ्रेको रोशी गाउँपालिकाको वडा नं. ४ मा विजयीसभा सम्पन्न गरेको छ । रोशी गापा–४ को महादेवटारमा आयोजित विजयीसभामा नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य राम आचार्यले विजयी उम्मेदवारहरुलाई अबीर, खादा र माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै देजमोका उम्मेदवारहरुलाई विजयी गराउने जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
उक्त विजयीसभालाई सम्बोधन गर्दै नेता आचार्यले देजमो अन्य संसदवादी पार्टीहरु जस्तो नभएर विद्यमान जनविरोधी सत्ता, व्यवस्था र संविधानकै आमूल परिवर्तनको उद्देश्यमा हिड्ने संगठन भएकोले जनतामा त्यही छाप छोड्ने गरी काम गर्न विजयी उम्मेदवारहरुलाई आग्रह गरे ।
संसदवादी पार्टीका स्थानीय कार्यकर्ताहरुमा विचौलिया प्रवृत्ति हावी रहेको भन्दै भ्रष्टाचार, कमिसन र अनियमित्ताका लगायत जनविरोधी कार्यशैलीका विरुद्ध देजमोका कार्यकर्ताहरु खह«ो रुपमा उत्रन सक्नुपर्ने आवश्यकता औल्याए ।
साइला तामाङको अध्यक्षतामा सम्पन्न उक्त विजयीसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य कान्छाराम तामाङ, जिल्ला संयोजक सोनामसिंह तामाङ, क्रान्तिकारी युवा लिगका केस जितबहादुर तामाङ, शिक्षक संगठनका केन्द्रीय कोषाध्यक्ष सिताराम रेग्मी, पार्टीका सिन्धुपाल्चोक संयोजक कुमार बोगटी र सामना साँस्कृतिक परिवारका कलाकारहरुको उपस्थिति रहेको थियो । उपस्थित जनसमुदाय र अतिथीहरुले वडा अध्यक्षमा विजयी उम्मेदवार तेजबहादुर रानामगर, महिला सदस्य गोपीमाया मगरलगायतलाई भव्यरुपमा सम्मान गरेका थिए । निर्वाचित वडा अध्यक्ष र महिला सदस्यले अन्य संसदवादीहरुले भन्दा फरक जनमुखी तरिकाले कार्यसम्पादन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए ।