भरतपुर । मतगणना कार्य अन्तिम अवस्थामा पुगेका बेला भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ ।
मतगणना चलिरहेका बेला आइतबारराति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो । मतगणनास्थलबाट दुई जना माओवादी केन्द्रका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
राति पौने १२ बजे दुई माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण बनेको थियो । मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले तनावपूर्ण बनाएको बताएका छन् ।
मतपत्र च्यातिएको बारे छानविन गरी प्रतिवेदन आएपछि कारबाही अघि बढ्ने उनको भनाई छ । आफू बाथरुम जान बाहिर निस्किएका बेला होहल्ला भएपछि बाथरुम नै नपसी फर्किदा मतपत्र च्यातिएको भेटिएको उनको भनाई छ ।
एमाले उम्मेदवार देवी ज्ञवालीले भने शान्तिपूर्ण मतगणना भइरहेका बेला सत्तारुढ दलका प्रतिनिधिहरुले तनाव सिर्जना गरी मतगणना रोकेको आरोप लगाएका छन् ।
वैशाख ३१ गते भएको निर्वाचनको गणना अन्तिम चरणमा पुगेको थियो । २९ वडा रहेको भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० नम्बर वडाको मात्र गन्न बाँकी थियो ।