अाज आर्थिक वर्ष २०७४/७५ को जम्बो बजेट ल्याउँदै कामचलाउ सरकार, बजेटकाे अाकार बढ्ने

अाज आर्थिक वर्ष २०७४/७५ को जम्बो बजेट ल्याउँदै कामचलाउ सरकार, बजेटकाे अाकार बढ्ने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/७५ को बार्षिक बजेट आज सार्वजनिक गर्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएर कामचलाउ भएको सरकारले जम्बो आकारको बजेट ल्याउन लागेको हो ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको आचारसंहिता लाग्ने भएकाले पुरानै कार्यक्रमअनुसार सरकारले बजेट ल्याउन लागेको छ ।

यद्यपि अहिलेको बजेटको आकार भने चालु आर्थिक वर्षका भन्दा २ खर्ब बढी हुने जनाइएको छ । चालु बर्षको बजेट १० खर्ब ४८ अर्बको रहेको छ । योजना आयोगका उपाध्यक्ष संयोजकत्वको स्रोत समितिले बजेटको सीमा बढाएर १२ खर्ब ८४ अर्ब बनाएको बताइएको छ ।

यसअघि समितिले १२ खर्ब ६ अर्ब रुपैयाँको सीमा तय गरेपनि पुनः बढाएको हो । समितिले बजेट ल्याउने अघिल्लो दिन सीमा बढाइसकेपछि अर्थमन्त्रीले चाहेमा १२ खर्ब ८४ अर्बसम्मकै बजेट ल्याउन सक्छन् ।

गत वर्ष खर्च नभएको रकम बच्ने र आन्तरिक तथा बाह्य ऋणसमेत उठाउन सकिने सम्भावना देखाउँदै साढे १२ खर्बभन्दा बढीको बजेट ल्याउने योजना अर्थमन्त्रीको छ ।

प्रदेश र केन्द्रको निर्वाचनका लागि ३० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गर्ने तयारी रहेको र पहिले स्थानीय विकास मन्त्रालयमार्फत जाने अनुदान तथा बजेट अब सोझै हालका ७ सय ४४ स्थानीय निकायमा जाने छ ।

काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माण, पुनर्निर्माण, लोडसेडिङ अन्त्यका लागि भन्दै उज्यालो नेपाल अभियानको शीर्षकमा समेत बजेट विनियोजनको तयारी छ ।