गणतन्त्र दिवस मनाईंदै, व्यवस्था फेरियो, नियती फेरिएन

गणतन्त्र दिवस मनाईंदै, व्यवस्था फेरियो, नियती फेरिएन

काठमाडौं । नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईदै छ ।

गणतन्त्र स्थापनाको उद्देश्यसहित जनयुद्धमा गएको तत्कालीन नेकपा (माओवादी) र तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरी सत्ता आफ्नो हातमा लिएपछि सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीका आधारमा भएको २०६२/६३ को जनआन्दोलनको बलमा नेपालमा गणतन्त्रको स्थापना भएको हो ।

पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

झण्डै २४० वर्ष लामो शाही शासनकालको अन्त्य गर्दै नेपाललाई गणतन्त्रात्मक व्यवस्थामा ल्याउने घटना महत्वपूर्ण थियो भने गणतन्त्रको एजेन्डालाई नेपालमा माओवादीले चलाएको १० बर्षे जनयुद्धले सबैभन्दा बलियो बनाएको थियो ।

यद्यपि गणतन्त्रको स्थापनाका लागि जनयुद्धमा होमिएका माओवादी नेता कार्यकर्ताहरुमाथि पुरानै कानुन अनुसार मुद्दा लगाइएको छ भने वास्तविक रुपमा परिवर्तनको एजेन्डालाई सार्थकता प्रदान गर्न सकेको अवस्था छैन ।

नेपालमा राजतन्त्रको औपचारिक रुपमा अन्त्य भएपनि केही राजनीतिक दलले अहिले पनि नेपालमा निरंकुश दलीय शासन सञ्चालन गरिरहेका छन् । दोस्रो संविधानसभामार्फत नेपालको संविधान जारी गरिएपनि त्यसमा जनअधिकारका महत्वपूर्ण पक्षहरु समेटिएका छैनन् ।

नेपालमा गणतन्त्र स्थापनका लागि आफ्नो ज्यानको बाजी थापेर लडाईको मोर्चामा सामेल भएको ठूलो हिस्सा नै गणतन्त्रात्मक शासन व्यवस्थामा बहिस्करणमा परेको छ ।

माओवादी आन्दोलनको नेतृत्वसहितको एउटा हिस्सा पुरानै व्यवस्थालाई समेत माथ दिनेगरी संसदवादी बनेपछि जनयुद्धको एजेन्डा अनुसारको वास्तविक र अधिकारसहितको गणतन्त्र स्थापनाका लागि नयाँ संघर्षको तयारीमा जुटिरहेको छ ।

गणतन्त्रात्मक शासन व्यवस्थामा निर्वाचनमा भाग लिने दलले निर्वाचन चिन्ह पाउने सार्वभौम अधिकार समेत कुन्ठित बनाइएको छ भने निर्वाचन बहिस्कार गर्ने पार्टीका कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाएर जेल हालिएको छ ।

नेपाली जनताले शान्ति, समुन्नत समाज निर्माण, विकास र अधिकार प्राप्तिका लागि संघर्षमा सामेल भएपनि त्यो अनुसार काम हुन नसक्दा निराशा बढ्दो अवस्थामा छ ।