आर्टिफिसियल इन्टेलिजेन्स, अर्थात कृत्रिम प्रज्ञा, मानव निर्मित यन्त्रहरुद्वारा सञ्चालित प्रज्ञा हो । यो कम्युटर विज्ञानको एउटा क्षेत्र हो जसले आम मानिसले जस्तै व्यवहार गर्ने, प्रतिक्रिया गर्ने वौद्धिक मेसिनहरुको निर्माण गर्ने कुरामा जोड दिन्छ । वर्तमान युगमा प्रविधिले मारेको गुणात्मक फड्कोका कारण यस्ता मेसिनहरु बने कि जुन देख्दा मानिस जस्तो मात्रै होइन काम पनि आम मानिसले जस्तै गर्न सक्दछन् । यस्ता मेसिनलाई नयाँ पुस्ताका मानिस पनि भन्ने गरिन्छ । तर जे होस, यस्ता रोबोटहरुले मानिसका आफ्ना कामहरु सम्पन्न गर्न जति सहयोग गरेकोे छ त्यसरी नै यसले मानव जातिकै अस्तित्वमाथि पनि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।
कृत्रिम प्रज्ञा कम्युटर प्रविधिको पछिल्लो कडी हो । यसले विश्वलाई दिन सक्ने फाइदा त छँदै छ तर त्यो भन्दा बढि मात्रामा समस्या दिन्छ भन्ने कुरामा पनि उत्तिकै सतर्क हुनु पर्दछ । योसँग विश्व व्यवस्थालाई सन्तुलित बनाइराख्ने या भंग गर्ने समाथ्र्य रहन्छ । कृत्रिम प्रज्ञाले गरिबी निर्मूल पनि पार्न सक्छ र क्रियाशील नभएका संस्थाहरुलाई सही ढंगले रुपान्तरण गर्न सक्छ अथवा यसले अन्याय र असमानतालाई पनि स्थापित गराउन सक्छ । तर यसको नतिजा भने भविष्यमा हुने परिवर्तनहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा भर पर्छ ।
दुर्भाग्यवश, प्राविधिक क्रान्तिहरुलाई व्यवस्थापन गर्ने कुरामा बरु मानवताकै रेकर्ड कमजोर छ । मानौ इन्टरनेट । यसले हामी कसरी सूचना आदान प्रदान गर्छौ, कसरी काम गर्छौ, र आफूले आफूलाई कसरी नियन्त्रण गर्छौ भन्ने कुरामा एकदम गहिरो गरी प्रभाव पार्दछ । इन्टरनेटका कारण मानव मानव बीचको दुरी झन् बढ्दै छ । नजिक नजिकका मानिसहरु बरु एक अर्कासँग त्यति सम्पर्क गर्दैनन् जति उनीहरु इन्टरनेटको माध्यमबाट भौतिक रुपमा टाढा भएका मानिहरुसँग गर्दछन् । मानिस मानिस बीचको सहकार्य, अन्तरिक्रया, व्यवहार एकदम परिवर्तन हुदैछ । यसका कारणले कतै मानवता नै हराउने त होइन, अथवा मानव जातिमा हुने भावनालाई समाप्त पार्ने त होइन, समस्या यसमै अडिकएको छ ।
तर इन्टरनेटले मानिसहरुले सोचेजस्तो वृहत रुपान्तरण भने ल्याएको छैन । यसले केही ठूला समस्याहरु समाधान गर्न सकेन । संसारको सबैभन्दा समस्याको रुपमा रहेको गरिबी हो । कृत्रिम प्रज्ञाले गरिबी निर्मूल पार्न सकेन । मंगल ग्रहमा बस्ती बसाउन सकिने तथ्य वैज्ञानिकहरुले पत्ता लगाइसक्दा पनि बर्षेनी कुपोषणबाट मर्ने लाखौ बच्चाहरुको जीविन बचाउने काममा यो प्रविधीलाई मानिसले प्रयोग गर्न सकेन । यस्ता यावत समस्या कृत्रिम प्रज्ञाले गर्न सकेन, सकेको छैन । अमेरिकन अनलाईन कम्पनी पे पल का सह संस्थापक पिटर थिलले ट्विटरमा लेख्न सकिने १४० शब्दको सीमालाई व्यंग गर्दै कुनै बेला भनेका थिए, “हामीलाई उड्ने कार चाहिएको थियो, तर हामीले १४० शब्द पायौं ।”
यथार्थमा, इन्टरनेटले जति समस्या हल गर्नुपर्ने हो त्यो सकेन, तर ठिक उल्टो झन् हाम्रा समस्याहरुलाई केही हदसम्म अझ गहिरो बनाइदिएको छ । यसले सामान्य मानिसहरुलाई विभिन्न खाले अवसर प्रदान त गरेको छ, तर यसले धनी र शक्तिशाली मानिसहरुलाई पनि त्यत्तिकै मात्रामा अवसर दिएको छ । अझ भनौं, धनी गरीब बीचको खाडललाई अझ तीब्र बनाउन इन्टरनेटको ठूलो भूमिका छ । नयाँ अनुसन्धानका अनुसार समाजमा असमानता वढाउनुमा इन्टरनेटको ठूलो भूमिका रहेको छ । उच्च आम्दानी भएका मानसिहरुलाई अनलाइनबाटै अझ धेरै फाइदा हुने भएकाले पनि उनीहरु अझै धनी हुने र इन्टरनेटमा पहुँच नै नभएका र जानकारी नै नभएकाहरु ले त्यसको फाइदा उठाउन नसक्ने भएकाले पनि समस्या अरु टड्कारो बनेको छ । यही कारणले धनी र गरीब बीचको दूरी त्यही अनुसार गएको उक्त अनुसन्धानको निष्कर्ष छ । त्यसैले इन्टरनेटको परिचालन सही ढंगले गर्न सकियो भने यसले समस्याको समाधान पक्कै पनि गर्नेछ ।
तर, वास्तवमा कृत्रिम प्रज्ञामा आएको क्रान्तिले हामिले खोजेको परिवर्तन दिने सामथ्र्य राख्दछ । हाम्रा दैनिक जीवनमा आइपर्ने कामहरुलाई यसले धेरै हदसम्म सजिलो बनाएको छ । यसले आँफै चल्ने गाडीहरु, स्वचालित हतियारहरु, व्यक्तिगत सहयोगीहरुका साथसाथै मानिसहरुका काममा सहयोगी हात बनेर आएको छ । यसले हाम्रो जीवनलाई नयाँ आकृति प्रदान गरेको छ । यसको क्षमता यति छ कि यसले सामाजिक, आर्थिक र राजनैतिक रुपान्तरणलाई स्थापित बनाउँछ जसको बारेमा हामीले अहिलेसम्म बुझ्न सकेका छैनौं । कृत्रिम प्रज्ञा कुनै नयाँ उद्योग बन्ने छैन बरु यसले पहिले नै अस्तित्वमा रहेका केही उद्योगहरु भित्र छिरेर त्यसलाई स्थायी रुपले बदल्ने पक्का छ । यसले मानव जीवनलाई परिवर्तन गर्दैन, तर यसले मानव हुनुको अर्थ र सीमाहरुलाई भने अवश्य परिवर्तन गर्ने छ ।
कृत्रिम वुद्धिले यस्तो रुपान्तरण कहिले र कसरी गर्छ अनि यसबाट पर्ने दुरगामी असरहरुलाई कसरी व्यवस्थापन गर्छ भन्ने कुराले अहिलेका नीति निर्माताहरु र विद्वानहरुको नीद हराम गराएको छ । यसले मानव जातिको समस्याको समाधान गर्ने अपेक्षा त लिइएको छ तर सँगसँगै सिँगो मानव जातिको अस्तित्वको बारेमा पनि यसले प्रश्न चिन्ह खडा गरेको छ । अहिलेका जीवित वैज्ञानिक स्टेफन हकिङ्गस ले यो कृत्रिम प्रज्ञा र यसले पृथ्वीमा पार्ने असरका बारेमा डरलाग्दो भविष्यवाणी गरेका छन् । उनले मानिहरुलाई दुइवटा विकल्प दिएका छन्, १) कि त यो पृथ्वी छाडेर अर्को ग्रहमा बस्ती बसाउ, २) कि त आफ्नो अस्तित्व लोप हुन देउ । उनका अनुसार जलवायु परिवर्तन, परमाणु युद्धका कारण हुने ध्वंश र प्रविधिको विकासले यो पृथ्वी अबको सय बर्षसम्ममा ध्वंश हुनेछ र सम्पूर्ण मानव जातिको लोप हुनेछ । उनको भविष्यवाणी कत्तिको सत्य हो र साँच्चै त्यस्तै हुन्छ भन्ने कुरा त समयले नै बताउला, तर उनको कुरालाई त्यत्तिकै नकार्न पनि सकिदैन । त्यतातिर सबैले ध्यान दिन जरुरी छ ।
स्वचालित हातहतियारहरु देखि लिएर रेस्टुरेण्टमा खाना सर्भ गर्ने रोबेटहरु, खेतबारीमा खेती गर्ने अत्याधुनिक मेसिनहरु लगायतका यन्त्रहरु वौद्धिक प्रज्ञा भित्र पर्दछन् । निःसन्देह, यी मेसिनहरुलाई बनाउने हामी जस्तै मानिसहरु नै हुन् । तर मानिसहरुले बनाएको मेसिनले नै स्वयमं मानव जातिकै अस्तित्व खतरामा पारेको छ । यस्ता मेसिनहरुले मानिसहरुको रोजगार विस्थापन गर्दैछ । मानिस मानिस बीचको दुरीलाई अझ बढाउँदै लगिरहेकोे छ । यदि बेरोजगारीहरुको संख्यामा वृद्धि भयो भने हत्या, हिंसा, लुटपाट जस्ता जघन्य अपराधहरुको सिर्जना हुन्छ । मानिस मानिस बीचको सामीप्यता कम हुदै जाने हो भने मानवता पनि स्वतः हराएर जानेछ ।
तर यहाँ केही गम्भीर प्रश्नहरु उठ्छन् । के यी सबै समस्याका कारण प्रविधि नै हो त ? के प्रविधिले समस्याको समाधान गर्दैन ? कदापि होइन । यसले समस्याको समाधान पक्कै पनि गर्छ । पहिले असम्भव मानिएका धेरै जसो कामहरु मेसिनको प्रयोगबाट सम्भव भएका छन् । किनभने प्रविधिको विकास भनेको उत्पादक शक्तिको विकास हो । तर यस्ता समस्याको समाधान गर्ने कुरा प्रविधिलाई कसरी र कसको हितमा प्रयोग गर्ने भन्ने कुरामा भर पर्दछ । यसको व्यवस्थापन उचित ढंगले गर्न सकियो भने प्रविधिको विकासबाट जो पीडित छ त्यसैलाई राहत मिल्नेछ । यदि यस्ता मेसिनहरु सीमित पूँजीपतिहरु र केही सम्भ्रान्त वर्गको हातमा गयो र उनीहरुको फाइदा अनुसार यस्ता मेसिनहरुको प्रयोग हुन थाल्यो भने यसले उत्पीडित वर्ग लाई अझ उत्पीडन गर्नेछ । त्यसैले, यस्ता मेसिनहरुका कारण जुन श्रमजीवि वर्गको श्रम खोसिएको छ त्यही वर्गको सत्ताको मातहतमा यस्ता मेसिनहरुको व्यवस्थापन गर्न सकिन्छ । अनि मात्र यसले आम मानव जातको पक्षमा काम गर्नेछ । होइन भने धनीलाई अझ धनी बनाएर धनी र गरीब बीचको जुन डरलाग्दो खाडल छ त्यसलाई झन गहिरो बनाउँछ । त्यसपछिको परिणाम हाम्रो कल्पना भन्दा धेरै खतरनाक हुनेछ ।
अब अर्को प्रश्न उठ्छ । प्रविधिको नियन्त्रण गर्ने परिस्थिती कतिबेला आउँछ त ? यो राज्यसत्ता कुन वर्गको हातमा छ भन्ने कुरा संग सम्बन्धित छ । जतिबेलासम्म सत्ता पूजीपतिहरुको हातमा हुन्छ त्यो बेला पूजीपतिहरुले प्रविधिलाई आफ्नो आर्थिक फाईदाको निमित्त प्रयोग गर्दछन । त्यतिबेला यस्ता मेसिनहरु आम मानव हितका लागि प्रयोग हुदैनन् बरु त्यसले जनविरोधी परिणाम ल्याउन सक्छ । यसले केही सीमित वर्गलाई मात्र फाइदा दिनेछ । तर श्रमजीवि वर्गको सत्ता स्थापना भयो भने त्यो बेला प्रविधीलाई नाफाको घेरामा होईन कि आम मानव जातिको हितमा प्रयोग हुन्छ र मेसिनहरुको सही सदुपयोग हुनेछ । प्रविधिलाई केही सम्भ्रान्त वर्गको हातमा सुम्पेर एक सीमित वर्गलाई मात्र अझ फाइदा हुन दिने कि, सर्वहारा वर्गको मातहतमा यस्ता प्रविधिको उपयोग हुने स्थिति पैदा गरेर प्रविधीलाई मानव जातिको सेवक बनाउने ? प्रश्न यहाँ केन्द्रित छ । प्रविधी अफैमा सही वा गलत भन्ने हुदैन, कुन वर्गले त्यसको प्रयोग गर्ने अधिकार राख्छ भन्नेमा त्यो निर्धारित हुन्छ । अहिलेका क्रान्तिकारीहरु र परिवर्तनका पक्षधरहरुले यो विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।