नयाँ ढंगको पार्टी निर्माणसम्बन्धी माओवादी मान्यता

नयाँ ढंगको पार्टी निर्माणसम्बन्धी माओवादी मान्यता

१.माक्र्सवादी–लेनिनवादी मान्यता
कम्युनिस्ट पार्टी स्वयंमा एक नयाँ ढंगको पार्टी हो । यस्तो पार्टीको निर्माणको जग माक्र्स–एङ्गेल्सले हाल्नुभयो । उहाँहरुले समाजमा परम्परागत सम्पत्ति–सम्बन्धहरु तथा विचारहरुबाट ‘आमूल सम्बन्ध–विच्छेद’ का निम्ति, कम्युनिज्मको लक्ष्यसिद्धिका निम्ति सर्वहारावर्गको स्वतन्त्र राजनीतिक संगठन अनिवार्य रुपले आवश्यक छ र त्यसले आफ्नो लक्ष्यप्राप्ति बल प्रयोगको भूमिकाबाटै गर्नसक्छ भन्ने कुरा बताउनुभयो । एङ्गेल्सले भन्नुभयो, ‘सर्वहारावर्गले हिंसात्मक क्रान्तिबिना राजनीतिक सत्तामाथि, जुन नयाँ समाजमा प्रवेश गर्ने एकमात्र ढोका हो, कब्जा गर्न सक्तैन । सर्वहारावर्ग निर्णायक रुपमा विजयी बन्नका निम्ति पर्याप्त रुपमा शक्तिशाली होस्, यसनिम्ति त्यसले अरु पार्टीहरुभन्दा भिन्न, तिनका विरुद्ध एक अलग पार्टीको सचेत वर्गको पार्टीको निर्माण गर्नुपर्दछ ।’

उहाँहरुले सच्चा कम्युनिस्ट पार्टीको निर्माणका निम्ति लालसावादी एवं. अराजकतावादीहरुका विरुद्ध भिषण संघर्ष चलाउनुभयो र सिद्धान्त र राजनीतिलाई प्रधानता दिनुभयो । हरेक सत्ताm राजनीति, अनुशासन र संगठनभित्र बहुमतको निर्णयलाई नकार्ने, अराजकतावादी चिन्तनको विरोध गर्दै राजनीति, अनुशासन र संगठनको महत्वमाथि विशेष जोड दिनुभयो । अन्य वर्गबाट पार्टीमा सामेल हुन चाहनेहरुका निम्ति उनीहरुले आफूमा विद्यमान पुँजीवादी तथा निम्न पुँजीवादी दृष्टिकोण त्यागी सर्वहारा दृष्टिकोणलाई सच्चा हृदयले अंगीकार गर्नुपर्ने कुरामा जोड त्यसलाई ‘पहिलो शर्त’ का रुपमा राख्नुभयो ।

यस सन्दर्भमा उहाँहरुले यो बताउनुभएको छ कि गलत तत्वका हातमा नेतृत्व पर्यो भने पार्टीको सीधैं –‘बन्ध्याकरण’ हुनेछ, सर्वहारास्फुर्ति खत्तम हुनेछ । सारमा उहाँहरुको जोड के कुरामा रह्यो भने सर्वहारा–एकता सिद्धान्तमा आधारित हुनुपर्दछ, अन्यथा सर्वहारावर्ग गलत तत्वसित –विजातीय तत्वसित) सम्बन्धबिच्छेद एवम् फुटका निम्ति पनि तयार रहनुपर्दछ । हेगेलललाई उदृत गर्दै एङ्गेल्सले भन्नुभयो, ‘वृद्ध हेगेलले पहिले नै बताइसकेका छन् : जुन पार्टी स्वयम् फुटका निम्ति तयार होस् र त्यो फुटलाई झेल्न सकोस, त्यसले के सिद्ध गर्छ भने त्यो जीवन क्षमता भएको पार्टी हो । सर्वहारा आन्दोलन अनिवार्यतः विकासका विभिन्न चरणहरु हुँदै अघि बढ्छ । हरेक चरणमा हिँड्नेहरुको एउटा हिस्सा बिचैमा छुट्छ र अघि बढ्न साथ दिँदैन । यही कारण हो की ‘सर्वहाराको एकता’ एक अर्काकाविरुद्ध जीवन–मरणको संघर्ष (जस्तो संघर्ष रोमन साम्राज्यमा घनघोर दमनकाबीच, इसाईपन्थीहरुकाबीच चल्ने गथ्र्यो) मा संलग्न विभिन्न पार्टी गुटहरुमा साँच्चै पूरा भइरहेको छ ।’ एकताको नाममा फुटको बिज रोप्ने तत्वहरुका विरुद्धमात्र होइन, सर्वहारावर्गको पार्टीलाई अभिजातवर्गीय मजदुर पार्टीमा बदल्न चाहनेहरुकाविरुद्ध पनि उहाँहरुले यी सबै कुरा व्यवहारतः पनि सम्पन्न गरेर देखाउनुभयो ।

दोस्रो अन्तर्राष्ट्रियका पार्टीहरु बढीमा र सारतः संसदीय चुनावी मञ्चका साधन थिए । साम्राज्यवाद र सर्वहाराक्रान्तिको युगका सर्वहारावर्गको ऐतिहासिक जिम्मेवारी पुरा गर्न सक्ने पार्टी थिएनन्, युद्धको नेतृत्व गर्नसक्ने पार्टी थिएनन् । त्यो स्थितिमा लेनिनले नयाँ ढंगको पार्टी निर्माण गर्ने कुरा महसुस गर्नुभयो । परिस्थितिले कस्तो पार्टीको माग ग¥यो र लेनिनवादको पार्टी कस्तो थियो, स्टालिनले भन्नुभयो– ‘त्यसैले आवश्यकता पैदा भयो– एक नयाँ पार्टीको, एउटा लडाकु र क्रान्तिकारी पार्टीको, जसले राज्यसत्तामाथि अधिकार प्राप्त गर्ने सन्दर्भमा सर्वहारा वर्गको नेतृत्व गर्न सकोस्, त्यस्तो अनुभवी पार्टीको, जसले क्रान्तिकारी परिस्थितिको अत्यन्त जटिल अवस्थामा पनि आफ्नो विवेक नगुमाओस्, यस्तो कार्यकुशल पार्टीको जसले क्रान्तिको जहाजलाई पानीभित्र लुकेका चट्टानहरुबाट बचाएर त्यसलाई आफ्नो लक्ष्यसम्म पुर्याओस्……यस्तो पार्टी लेनिनवादी पार्टी थियो ।’

त्यसरी लेनिनले सबैका निम्ति नमुना बन्नसक्ने पार्टीका रुपमा वोल्सेभिक पार्टीको निर्माण गर्नुभयो । उहाँले त्यस्तो पार्टीको निर्माणका निम्ति पुरानो इस्क्राको कालदेखि नै विचारधारात्मक, राजनीतिक र सांगठनिक रुपमा निकै राम्रो तयारी गर्नुभएको थियो । उहाँले नयाँ ढंगको पार्टीको निम्ति क्रान्तिकारी सिद्धान्त, सही राजनीतिक लाइन, क्रान्तिकारी वर्गसंघर्ष र युद्धको भूमिका, सही दुईलाईन संघर्ष र अवसरवादीसितको निर्णायक सम्बन्धविच्छेद आदि कुरालाई मूल आधार बनाउनुभयो र संगठनको सही परिचालनका निम्ति जनवादी केन्द्रियताको सिद्धान्त प्रतिपादन गर्नुभयो । यस सन्दर्भमा उहाँले अर्थवादी, मेन्सेभिक, विसर्जनवादी, सामाजिक अन्धराष्ट्रवादी, अराजकतावादी, उग्रवादी र मध्यपन्थी अवसरवादी सबैकाविरुद्ध भीषण संघर्ष चलाउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, ‘अवसरवादसित निर्णायक सम्बन्धविच्छेदबिना तथा जनसाधारणलाई त्यसको टाटपल्टाईको जानकारी गराउनुबिना यो बेला समाजावादको लक्ष्यसिद्धि असम्भव छ, मजदुरहरुको सच्चा अन्तर्राष्ट्रिय एकताको उपलब्धि असम्भव छ ।’ यस सन्दर्भमा लेनिनले के कुरामा जोड दिनुभयो भने–पहिले इङ्गल्याण्डमा एकाधिकार पुँजीवादको जन्मका साथै त्यहाँ अभिजातवर्गीय मजदुर पार्टीका जन्म भएको थियो र अब धेरै देशहरुमा एकाधिकार पुँजीवाद अर्थात साम्राज्यवादको जन्म भएको छ । त्यसैले ती देशहरुमा अभिजातवर्गीय मजदुर पार्टी बन्दैछन् । यो स्थितिमा मजदुर आन्दोलनमा फुट हुनु अनिवार्य छ र त्यसप्रकारका गलत पार्टीहरुका विरुद्ध जुधेर नै सही पार्टीको निर्माण हुनसक्छ । पुरानो पार्टीबाट क्रान्तिकारी पार्टीमा संक्रमण हुन किन जरुरी छ ? र त्यो कसरी हुनसक्छ ? लेनिनले जोडदार रुपमा भन्नुभयो– ‘क्रान्तिकारी संगठनमा संक्रमण गर्नुपर्दछ, यो बदलिएको एतिहासिक परिस्थितिको, सर्वहारा क्रान्तिकारी कारबाहीको युगको माग हो । परन्तु, यो पुराना नेताहरु (क्रान्तिकारी उर्जाको गला रेट्नेहरु) प्रति पुरै आँखा चिम्लिएर, पुरानो पाटीप्रति पुरै आँखा चिम्लिएर, त्यसलाई नष्ट गरेर नै गर्न सकिन्छ ।’

नयाँ ढंगको लडाकु पार्टी निर्माणका निम्ति लेनिनले रुसका पुराना नेताहरु तथा पुरानो पार्टीलाई मात्र पुरै बेवास्ता गर्नुभएन, दोस्रो अन्तर्राष्ट्रियका अवसरवादी नेता तथा अवसरवादी पार्टीहरुलाई पनि पुरै बेवास्ता गर्नुभयो, तिनलाई पुरै नष्ट पार्नुभयो । तमाम प्रकारका सुधारवादी एवम् मध्यपन्थी अवसरवादबाट मुक्त तेस्रो अन्तर्राष्ट्रियको स्थानपना गर्नुभयो । यस सन्दर्भमा उहाले गुटबन्दी तथा सबै गुटहरुको अस्तित्वको अन्त्यको कुरा गर्नुभयो र तेस्रो अन्तर्राष्ट्रियको प्रवेशका निम्ति कैंयौं सर्तहरु निश्चित गर्नुभयो । माओले नयाँ ढंगको पार्टी निर्माणका निम्ति यस प्रकारको माक्र्सवादी लेनिनवादी मान्यतालाई निकै दह्रोसँग पक्रनुभयो ।

२. माओवादी मान्यता
चीनमा स्थानपनाको लगत्तै पार्टीले सशस्त्र संघर्ष र संयुक्त मोर्चाको अगुवाई गर्नुपर्यो, त्यो स्थितिमा माओले ‘पार्टी निर्माण र त्यसको वोल्सेभिकीकरणको सवाल, त्यसको राजनीतिक दिशा, संयुक्त मोर्चा र सशस्त्र संघर्षका सवालहरुको गलत या सही समाधानको सवालसँगै जोडिएको’ कुरा बताउनुभयो । दुश्मनकाविरुद्धको जीवन–मरणको वर्गयुद्ध र पार्टीभित्रको भिषण दुई लाईन संघर्षका क्रममा माओले नयाँ ढंगको पार्टी निर्माण सम्बन्धी मान्यताहरुको विकास गर्नुभयो । यो काम माओवादी क्रान्तिकालसम्म, महान सर्वहारा सांस्कृतिक कालसम्म पनि जारी रह्यो । क्रान्तिकारी पार्टी निर्माणका निम्ति पथप्रदर्शनक सिद्धान्त एक प्राथमिक शर्त हो ।

त्यसैले माओले भन्नुभयो, ‘हाम्रा विचारहरुलाई पथप्रदर्शक गर्ने सैद्धान्तिक आधार हो माक्र्सवाद–लेनिनवाद ।’ त्यसप्रकारको सैद्धान्तिक आधारलाई एवम् माओले पनि माओवादका रुपमा विकसित गर्नुभयो । पार्टीभित्रका दश–दशवटा जटिल दुई लाइन संघर्ष पार गरिसकेपछि विचारधारात्मक एवम् राजनीतिक कार्यदिशाको महत्वमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो– ‘विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ, जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला उसको हातमा सबै पर्दछ, यदी मानिस छैनन् भने ति प्राप्त हुन्छन् । बन्दुक छैनन् भने ति प्राप्त हुन्छन्, राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन्छ । यदि कार्यदिशा गलत छ भने जे छन्, ति सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो, जब त्यो तानिन्छ भने पूरै जाल खुल्दछ ।’

विचारधारा र राजनीतिक कार्यदिशा कुनैपनि बनिबनाउ र स्थिर चिज हुँदैनन् । ति विकसित भइरहन्छन् र तिनको विकास संघर्षबाटै हुन्छ । चीनमा सम्पन्न जनयुद्धबाट विचारधारा र राजनीतिको विकासका साथै नयाँ ढंगको पार्टी निर्माणका निम्ति नयाँ मान्यताको पनि विकास हुन गएको छ । माओले भन्नुभयो, ‘चीनमा संघर्षको मुख्यरुप युद्ध हो र संगठनको मुख्यरुप फौज हो ।’ माओको यो भनाईबाट कुन कुराको पुष्टि हुन्छ भने नयाँ ढंगको पार्टी निर्माणका निम्ति सशस्त्र युद्धको आवश्यकता र अनुभव अर्थात सैन्यीकरण एक अनिवार्य शर्त हो । ग्रामीण क्षेत्रमा जानु र त्यहाँ भीषण संघर्षमा भाग लिनु तथा वर्गयुद्ध सञ्चालन गर्नुले पार्टी साँच्चैको वोल्सेभिक एवम् फौजी पार्टी बन्न पुग्यो । त्यसैले त माओले आफूहरुलाई गाउँतिर लखेटेकोमा धन्यवाद दिँदै च्याङ काई–सेकलाई ‘असल शिक्षक’ सम्म भन्न पुग्नुभएको थियो ।

त्यसैले अन्तरसंघर्ष र दुई लाइन संघर्षले नयाँ ढंगको पार्टी निर्माण एवम् विकासका निम्ति आधारभूत भूमिका खेल्न पुगेको छ । पार्टीभित्रको संघर्ष, तेस्रो अन्तर्राष्ट्रिय एवं स्टालिनसँगको अन्तरसंघर्ष र सोभियत संशोधनवादीहरुसँगको भिषण संघर्षले सही विचारधारा एवं. राजनीतिक कार्यदिशाको विकासका साथै नयाँ ढंगको पार्टी–अवधाराणको विकासका निम्ति पनि राम्रो आधार तयार हुन पुग्यो । यी सब कारणले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधिसम्म आउदा विश्वका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुका निम्ति नयाँ ढंगको पार्टी निर्माणका लागि चिनियाँ कम्युनिष्ट पार्टी एक साँच्चैको नमुना बनेको थियो ।

क्रान्तिकारी सिद्धान्त र राजनीतिक कार्यदिशाका साथै माओले क्रान्तिकारी कार्यशैलीको आवश्यकतामाथि पनि जोड दिनुभएको छ । यस सन्दर्भमा उहाँले सिद्धान्तलाई व्यवहारसँग जोड्ने, जनसमूहबाट लिएर जनसमूहलाई दिने, मनोगतवाद, एकलकाँटेपन र टपरटुइँयाँ प्रवृत्तिका विरुद्ध, उदारतावाद र संकीर्णतावादविरुद्ध जुझ्नुपर्ने तथा आलोचना–आत्मआलोचनाको पद्धतिलाई राम्रोसँग पक्रनुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले जनतामा निर्भर रहने, जनताबाटै सिक्ने र जनतालाई जगाउँदै अघि बढ्ने कुरामा जोड दिँदै जननीतिको प्रतिपादन गर्नुभएको छ । उहाँले सांगठनिक कार्यशैली र संगठनात्मक सिद्धान्तका दुवै क्षेत्रमा अन्तरविरोधको नियमलाई राम्रोसँग लागु गर्नुभएको छ ।

उहाँले एकातिर विभिन्न कामहरुमध्ये मुख्य कामलाई पहिलो दर्जामा राख्ने र अर्कोतिर जनवाद तथा केन्द्रियता, अनुशासन तथा स्वतन्त्रताबीचको द्वन्द्वात्मक सम्बन्ध कायम गरिनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ । उहाँ पार्टीमा अनुशासन कायम गरिनुपर्ने प्रश्नलाई निकै गम्भीरताका साथ लिनुहुन्छ । उहाँले केन्द्रीयतालाई समझदारी, नीति, योजना, कमाण्ड र काममा एकरुपताका लागि ‘सही विचारको केन्द्रिकरण’ बताउनुहुन्छ र त्यसनिम्ति जनवादलाई आधार ठान्नुहुन्छ । परन्तु उहाँ क्रान्तिकारी सिद्धान्त तथा राजनीति र क्रान्तिका विरुद्ध संशोधनवादीबाट प्रयोग गरिने यान्त्रिक तथा नोकरशाही जनवादी केन्द्रियताको प्रबल विरोधी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो– ‘विद्रोह गर्ने अधिकार छ ।’

वास्तममा महान् सर्वहारा सांस्कृतिक क्रान्ति, जनवादका आधारमा दक्षिणपन्थी संशोधनवादमाथि बुर्जुवा हेडक्वार्टरमाथि गरिएको भिषण हमला थियो । जब–जब चीन र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा दुई लाइन संघर्ष तिव्र बन्दै गयो, त्यो बेला माओले पार्टीभित्रका क्रान्तिकारी तत्वसँग सतर्क रहने र नयाँ उत्तराधिकारीहरुको सृष्टि तथा प्राप्ती गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुभयो । उहाँले गुटवाद एवम् फुटवादका विरुद्ध कडा संघर्ष चलाउँदै आउनुभयो र क्रान्ति निम्ति नेतृत्वको विशेष महत्व हुने कुरा बताउनुभयो ।

एउटा पार्टीले क्रान्तिकारी आन्दोलनलाई कसरी विजयको दिशातिर अगाडि बढाउन सक्तछ ? माओले भन्नुभयो–‘क्रान्तिकारी सिद्धान्त तथा इतिहासको ज्ञान र व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहुन्जेल कुनै राजनीतिक दलले पनि महान् क्रान्तिकारी आन्दोलनलाई विजयतर्फ लैजान सम्भव छैन ।’ क्रान्तिकारी पार्टीको निर्माणका सम्बन्धमा हामीले माओवको उक्त भनाईलाई अर्थात सिद्धान्त, इतिहास र व्यवहारिक आन्दोलनको गहिरो ज्ञानसँग सम्बन्धित कुरालाई राम्रोसँग समात्न जरुरी छ ।

३. अन्तरसंघर्षको भूमिका
माओले पार्टीको जीवनलाई मान्छको जीवनजस्तै बाल, युवा, प्रौढ र वृद्धावस्था हुँदै एक दिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तर्विरोधलाई पार्टीको जीवन ठान्नुभयो । उहाँ भन्नुहुन्छ– ‘पार्टीभित्र अन्तर्विरोध रहेनन् र तिनको समाधानका लागि सैद्धान्तिक संघर्ष चलाइएन भने पार्टीको जीवन खत्तम हुन्छ ।’

माओले पार्टीको निर्माण र विकासको सवाललाई अन्तर्विरोधको नियमको आधारमा ग्रहण गर्नुभयो र भन्नुभयो–हाम्रो पार्टी पनि एकको दुईमा विभाजित बनेको छ ।’ नयाँ ढंगको पार्टी निर्माण कसरी हुन्छ ? उहाँ भन्नुभयो–त्यो एकता, संघर्ष र रुपान्तरणका आधारमा सम्पन्न हुन्छ । उहाँले नयाँ ढंगको पार्टीको निर्माणका निमित्त शुद्धिकरण आन्दोलनमा जोड दिनुभयो र त्यसको सार खिच्दै ‘एकताको भावनाबाट प्रेरित हुनु, आलोचना या संघर्षका माध्यमबाट अन्तर्विरोधहरुलाई हल गर्नु र नयाँ आधारमा नयाँ एकता कायम गर्नुपर्ने’ कुरा बताउनुभयो ।

उहाँले यसलाई अझै जोडदार रुपमा भन्नुभयो–‘हामीले एकताको पुरानो आधारलाई ध्वस्त पार्नुपर्दछ, सिधै संघर्षमा जानुपर्दछ र नयाँ आधारमा नयाँ एकता हासिल गर्नुपर्दछ । कुन कुरा सही हो, पानी नबग्ने पोखरी या अघि बढ्ने याङ्ग त्से नदीको अनन्त धारा प्रवाह ? पार्टी यसै दिशामा छ, जनता र वर्गपनि त्यसैमा छन ।’ यसरी माओले पार्टीलाई पानी जमेको शान्त पोखरी नभई गर्जदै अघि बढ्ने याङ्ग त्से नदीको अनन्त धाराप्रवाहको रुपमा लिनुभयो ।

माओको पार्टी एकता, नयाँ ढंगको पार्टी वा पार्टीको विकाससँग सम्बन्धित कुराको व्याख्याविपरितहरुको एकताको नियममा आधारित छ । तदअनुसार प्रथम अवस्थामा विपरितहरु परस्पर संघर्ष गर्दै एकजुट हुन्छन् र दोस्रो अवस्थामा ति एकअर्कामा बदलिन्छन् । यसरी एकता, संघर्ष र रुपान्तरणका रुपमा हुने परिवर्तनलाई माओले गुणात्मक परिवर्तनको रुपमा लिनुभएको छ र त्यसैले यसलाई ‘नयाँ आधारमा नयाँ एकता’ बताउन पुग्नुभएको छ । उहाँले पार्टीको यसप्रकारको विकासलाई घट्नु र बढ्नुका रुपमा हुने क्रमिक विकास वा मात्रात्मक विकासका अर्थमा नभई ‘एकताको पुरानो आधारलाई ध्वस्त’ पारेर गरिने विकासको अर्थमा अर्थात छलाङ्गको अर्थमा ग्रहण गर्नुभएको छ र पार्टी जीवनको यो क्रम लगातार उच्च स्तरमा विकसित हुँदै जाने कुरा बताउनुभएको छ ।

अन्तरसंघर्ष वा दुई लाइन संघर्षको सञ्चालनका क्रममा माओले विपरित तत्वहरुको एकता अर्थात एकको दुईमा विभाजनको प्रश्नलाई निकै गम्भीरतापूर्वक लिनुभयो । गल्ती गर्ने साथीहरुप्रति कस्तो रुख हुने ? उहाँले भन्नुभयो–‘पहिलो संघर्ष गर्ने र दोस्रो उसलाई घटाउने ।’ पार्टीभित्र रहेका गलत विचारहरुलाई परास्त गर्न र साथीहरुलाई सच्याउनका लागि माओले पार्टीमा बारम्बार शुद्धिकरण आन्दोलन चलाउनुभयो । विचारधारात्मक संघर्षलाई निकै प्रश्रय दिनुभयो । उहाँले एकता, संघर्ष वा रुपान्तरणको पद्दतिको राम्रो प्रयोग गर्नुभयो । उहाँले परास्त गर्न र साथीहरुलाई सच्याउनका लागि माओले पार्टीमा बारम्बार शुद्धिकरण आन्दोलन चलाउनुभयो ।

विचारधारात्मक संघर्षलाई निकै प्रश्रय दिनुभयो । उहाँले एकता, संघर्ष वा रुपान्तरणको पद्दतिको राम्रो प्रयोग गर्नुभयो । उहाँले ‘भविष्यमा गल्तीबाट बच्नका निम्ति अतितका गल्तीबाट सिक्ने र ‘रोगीलाई बचाउनका निम्ति रोगको उपचार गर्ने’ सिद्धान्तमा जोड दिनुभयो । साथै उहाँले कुन कुरामाथि पनि जोड दिनुभयो भने ट्राटस्की, छन छन त्यु श्यु, च्याङ क्वो, थाओ, ल्यु शाओ ची, खुश्चोभजस्तासँग यो तरिका सम्भव छैन ।

माओले फुटका विरुद्ध एकतामा जोड दिनुभयो, परन्तु उहाँ संघर्षविनाको एकताको–एकमना एकताको कडा विरोध गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो–‘एकमना एकताबारे कुरा गरिरहने तर संघर्षबारे कुरा नगर्ने माक्र्सवादी–लेनिनवादी होइनन् ।’ उहाँ पार्टीभित्र कुनै सन्त वा सतप्रतिशत माक्र्सवादी हुन नसक्ने र एउटा व्यक्ति पनि विश्लेषणको पात्र हुने अर्थात त्यो पनि सही र गलतमा विभाजित हुने कुरा बताउनुहुन्थ्यो ।

दुई लाइन संघर्षको द्वन्द्ववादमा माओ निकै कुशल हुनुहुन्थ्यो । उहाँ एकातिर ‘हरेक कार्यनीतिक चरणमा संघर्ष चलाउनुका साथै सम्झौता गर्नु पनि आवश्यक रुपमा सही हुन्छ’ भन्न पुग्नुहुन्थ्यो । कैंयौं कमरेडहरुको विरोध हँुदाहँुदै पनि उहाँ सातौ महाधिवेशनको के.स. मा वाङ मिङलाई राख्न तयार हुनुहुन्थो भने अर्कोतिर गलत तत्वहरुलाई छुट दिन हुन्न भन्दै ल्यु, पेङ्ग ते हुईजस्तालाई कठोर दण्ड पनि दिन पछि पर्नुहुन्न थियो । जब स्थिति जटिल हुँदै जान्छ, जस्तो कि पछिल्ला लुशान कन्फ्रेन्समा लिन पियाओपन्थीहरु एकदमै लुकेर अचानक हमला गर्न आएका थिए, त्यो बेला उहाँ भन्नुहुन्थ्यो–‘लुशान सम्मेलनपछि मैले तीन तरिकाको प्रयोग गरे : पहिलो– ढुंगा हान्नु थियो, दोस्रो–माटोमा बालुवा मिसाउनु थियो र तेस्रो–पर्खालहरुमा सुरुङ विच्छ्याउनु थियो ।’ यसरी दुई लाईन संघर्षमा द्वन्द्ववादको प्रयोग गर्दा उहाँ कहिले निकै कडा, कहिले निकै नरम, कहिले बांगोटिंगो मोडको रफ्तारसँगै निकै बक्र र घुमाउरो पनि बन्ने गर्नुहुन्थ्यो । परन्तु, सिद्धान्त र कार्यदिशाको प्रश्नमा उहाँ दृढ हुनुहुन्थो । उहाँले भन्नुहुन्थ्यो– ‘कार्यदिशा र सिद्धान्तका प्रमुख प्रश्नमा मैले कुनै छुट दिइन ।’

पार्टीभित्र उहाँ अग्रवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध, विशेषतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध भिषण तरिकाले जुझ्नुभयो । उहाँले जनता र आन्दोलनका बिचमा देखा पर्ने प्रवृत्तिहरुलाई उग्र, दक्षिण र मध्यका रुपमा बिश्लेषण गर्नुभयो । यस सन्दर्भमा उहाँले सन् १९६२ यता पार्टीमा ‘रुपमा वाम र सारमा दक्षिण’ को रुपमा प्रकट अवसरवादको पनि उल्लेख गर्नुभयो र ति सबैका विरुद्ध संघर्ष गर्नुपर्ने कुरामा जोड दिनुभयो । विभिन्न प्रवृत्तिसँगको अन्तरसंघर्ष वा दुई लाइन संघर्षमा कस्तो रुप अपनाउने, यसबारे उहाँले भन्नुभयो– बिचमा मानिसहरुलाई आफ्नो पक्षमा ल्याउनुपर्दछ र दक्षिणपन्थीहरुलाई एक एक गरेर प्रहार गर्दै जानुपर्दछ । उहाँले संशोधनवादलाई पुँजीवादी विचारधाराकै एउटा रुपमा बताउनुभयो र त्यसको साम्राज्यवादसँग अटुट सम्बन्ध रहेको कुरामाथि प्रकाश पार्नुभयो ।

माओले पार्टीभित्रको दुई लाइन संघर्षले शत्रुतापूर्ण रुप लिनसक्ने, असल पक्षमाथि खराब पक्षको विजय हुनसक्ने र एउटा क्रान्तिकारी पार्टी संशोधनवादी, पँुजीवादी पार्टीको रुपमा बदलिनसक्ने कुरामाथि राम्रो प्रकाश पार्नुभयो । उहाँले सन् १९६२ मा भन्नुभएको थियो–‘माक्र्सवाद–लेनिनवाद र संशोधनवादकाबिचको संघर्षमा कसको जित र कसको हार हुने भन्ने कुरा अझै अनिश्चित छ । यहाँनेर कुन कुराको प्रबल सम्भावना छ भने संशोधनवाद विजयी बन्नेछ, हामी हार्नेछौं ।’ यसको अर्थ के हो भने पार्टीभित्रको एकता, संघर्ष र रुपान्तरणको क्रममा गलत पक्षले सही पक्षलाई हराउन सक्छ र त्यो परिवर्तन गुणात्मक ढंगले उल्टो दिशामा पनि हुन सक्छ । माओको के जोड रह्यो भने यद्यपि यो अस्थाई चिज हो, परन्तु त्यसप्रकारको खतराप्रति जनता र कार्यकर्ताहरुलाई पूरै सतर्क पार्नु आवश्यक छ । चीनमा जब दुई लाइन संघर्ष चर्किदै गयो, र त्यसले पटक पटक शत्रुताको रुप लिन थाल्यो, त्यो परिस्थितिमा माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गर्नुभयो, जसको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्नु भयो, संशोधनवादको मूलोच्छेदन गर्नुभयो ।

यस सन्दर्भमा उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकता सम्बन्धि प्रश्नमा अत्यन्तै ध्यान दिनुभयो, खुश्चोभको आधुनिक संशोधनवादमा पतन भएपछि उहाँको निर्देशनमा रुसी पार्टीलाई जुन पत्र पठाइयो, त्यसमा फुट र फुटवाद र एकताको प्रश्नमा राम्रो प्रकाश पारिएको छ । फुटवादी कुन हो ? यसको सिद्धान्तसित, माक्र्सवाद–लेनिनवादसित, क्रान्तिकारी सर्वहारावादी पार्टीसित फुट्ने तथा संशोधनवाद, संशोधनवादी कार्यदिशा, सुधारवादी बुर्जुवा पार्टीमा गिर्नेलाई फुटवादी बताइएको छ र सच्चा कम्युनिस्टहरु कहिल्यै पनि फुटवादी हँुँदैनन् भन्ने कुरामा जोड दिइएको छ । सो पत्रमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एकता र फुटका अनुभवहरुलाई संश्लेषण गर्दै भनिएको छ–‘एकता, संघर्ष या फुटसम्म पनि र नयाँ आधारमा नयाँ एकता, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासको द्वन्द्ववाद यस्तै छ ।’ ‘एकता, संघर्ष या फुटसम्म पनि र नयाँ आधारमा एकता’  यो नयाँ ढंगको पार्टी निर्माण तथा विकास सम्बन्धी मान्यताको एक मूल विशेषता हो । यसले पार्टीको विकास प्रक्रियालाई एकता र संघर्षसम्म मात्र सीमित राख्दैन, अपितु रुपान्तरण, छलाङ्ग र नयाँ आधारमा नयाँ एकता कायम गर्दै निरन्तर विकसित हुँदै जाने अर्थमा ग्रहण गर्दछ । 

यसरी माओ क्रान्तिकारी सिद्धान्त र कार्यदिशाको निम्ति, कम्युनिज्म र क्रान्तिको उज्वल भविष्यको निम्ति भिषण वर्गयुद्ध र दुई लाइन संघर्षहरुमा भिड्नुभयो । नयाँ ढंगको पार्टी निर्माण सम्बन्धि माओवादी मान्यताको विकास पनि ठीक यसै भिडन्तको क्रममा भयो । यी भिडन्तहरुमा उहाँ डग्नुभएन र यसै भिडन्तमा जानुलाई अर्थात ज्वारभाटाको विरुद्ध जानुलाई उहाँले माक्र्सवाद–लेनिनवाद बताउनुभयो ।

४. निश्कर्ष
नयाँ ढंगको पार्टी निर्माणका सम्बन्धमा माओले माक्र्सवादी–लेनिनवादी मान्यतालाई राम्रोसँग पचाउनुभयो र त्यसलाई माओवादी मान्यताका रुपमा विकसित गर्नुभयो । सही विचारधारात्मक एवम् राजनीतिक कार्यदिशाको अवलम्बन, जनयुद्ध, अन्तरसंघर्षबाट दुई लाइन संघर्षको द्वन्द्ववादी परिचालन, शुद्धिकरण अभियान, पार्टीको फौजीकरण, महान् सर्वहारा सांस्कृतिक आन्दोलनमा संलग्नता, नयाँ उत्तराधिकारीहरुको निर्माणको आवश्यकता, जननीति र एकता, संघर्ष र नयाँ आधारमा नयाँ एकता आदि नयाँ ढंगको पार्टी निर्माण सम्बन्धी माओवादी मान्यताका मूल तत्व हुन ।

यद्यपि आज प्रतिक्रान्ति एवम् फुटका कारण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एकता कमजोर भएको छ, परन्तु आज हामीसँग नयाँ ढंगको पार्टी निर्माण सम्बन्धी माक्र्सवाद–लेनिनवादको समृद्ध मान्यताको समृद्ध रुपमा माओवादी मान्यता छ र आज यसै आधारमा संसारमा नयाँ ढंगको कम्युनिस्ट पार्टीहरु निर्मित एवं. विकसित हुँदै गइरहेका छन् । क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलनले यस दिशामा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । नयाँ ढंगको पार्टी निर्माणको निम्ति आज माक्र्सवाद–लेनिनवाद–माओवाद एक अनिवार्य विचाधारात्मक शर्त बन्न पुगेको छ । माओवाद नमान्ने कुनै पनि व्यक्ति अब सच्चा कम्युनिस्ट बन्न नसक्ने कुरा प्रष्ट भइसकेको छ ।