नेपालको राष्ट्रिय खेल टुंगो लाग्यो, डन्डीबियो र कबड्डीलाई छाडेर अर्कै छानियो

नेपालको राष्ट्रिय खेल टुंगो लाग्यो, डन्डीबियो र कबड्डीलाई छाडेर अर्कै छानियो

काठमाडौं । नेपालको राष्ट्रिय खेल के हो ? कसैले यस्तो प्रश्न गरेमा हामीसँग झट्टै दिने उत्तर थिएन ।

कतिपयले डन्डीबियो र कबड्डीलाई राष्ट्रिय खेल भन्ने गर्दथे भने यी दुवै खेलले पनि राष्ट्रिय खेलको दाबी गर्दै आएका थिए । तर अब नेपालको राष्ट्रिय खेलको टुंगो लागेको छ ।

लामो समयदेखिको बहसलाई टुंगो लगाउँद्यै सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल निर्धारण गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो ।

सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो ।

राष्ट्रिय खेल बनाएपनि नेपालमा भलिबल खेल्न एउटै सुविधासम्पन्न कवर्डहल भने छैन । त्रिपुरेश्वरमा भएको हल भूकम्पले क्षतविक्षत भएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।

भलिबललाई राष्ट्रिय खेल बनाउनुपर्ने आफूहरुको लामो समयदेखिको पहलले सार्थकता पाएको भन्दै नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले सरकारलाई धन्यबाद दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदको नेतृत्व संहाल्दा युवराज लामाले राष्ट्रिय खेल निर्धारण गर्नका लागि प्रक्रिया थालेका थिए ।

लामापछि राखेपको नेतृत्वमा आएका केशव विष्टले पनि राष्ट्रिय खेल निर्धारणका लागि प्रयासलाई निरन्तरता दिएका थिए । परिषदले भलिवल, तेक्वान्दो लगायतका केहि खेलहरुको नामावलीमा एकलाई निर्धारण गर्न खेलकुद मन्त्रालयलाई सुझाव दिएको थियो ।