रुपन्देहीको १६ वटै स्थानीय तहमा देजमोले उम्मेदवारी दिने

रुपन्देहीको १६ वटै स्थानीय तहमा देजमोले उम्मेदवारी दिने

बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले रुपन्देहीको १६ वटै स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । स्थानीय निर्वाचनलाई क्रान्तिकारी उपयोगको नीति लिएको मोर्चाले उम्मेदवारी दिनको लागि अन्तिम तयारी गरेको जनाएको छ । रुपन्देहीको एक उपमहानगरपालिका, पाँच नगरपालिका र दश गाउँपालिकाका गरी १६ स्थानीय तहमा मोर्चाले उम्मेदवारी दिन लागेको हो ।

जेष्ठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको मिति नजिकिदैं जाँदा मोर्चाले उम्मेदवार चयन र चुनावी प्रचार अभियानलाई तीब्र पारेको हो । मोर्चाले सबैं तहको उम्मेदवारी तय गरिसकेको र दुई–तीन दिनभित्र बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी सार्वजनिक गर्ने नेकपा (क्रान्तिकारी माओवादी)का अवध राज्य समितिका इन्चार्ज समेत रहेका नेता प्रेमनाथ सुवेदीले जानकारी दिए ।

अहिले मोर्चाले उम्मेदवार सार्वजनिक नगरे पनि चुनावी प्रचार अभियान, घरदैलो, जनभेटघाट, भेला, बैठक जस्ता गतिविधिलाई अगाडि बढाइएको नेता सुवेदीले बताए । पहिलो चरणमा निर्वाचान नभएपछि केही सेलाएको गतिविधि दोस्रो चरणको निर्वाचन हुनेभएपछि मोर्चाले आफ्नो चुनावी अभियान थप तीब्र बनाएको जनाएको छ । यसअघि मोर्चाले पहिलो र दोस्रो चरणमा आफ्नो चुनावी अभियान सम्पन्न गरिसकेको जनाएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नामबाट चिर्वाचनमा भाग लिन लागेको हो ।