९ जेठ, काठमाडौं । साझा यातायातले भोलिबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गर्ने भएको छ । साझाका २० वटा बसलाई भोलिबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरिने भएको हो ।
अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर,मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म जाने साझा यातायातका प्रमुख कार्याकारी अधिकृत महेन्द्रराज पाण्डले जानकारी दिए ।
कोटेश्वरबाट जडिबुटी लोकन्थली, कौशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै सूर्यविनायकसम्म बस सेवा विस्तार हुनेछ । सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।
साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।
नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।
यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।
यो सँगै भक्तपुरको पुरानो बाटोमा अब साझा नजाने पक्का भएको छ । साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १० र १० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्न अनुमति मागेको थियो ।
यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ ।
ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।
साझाले भने अझै पनि विभागले पुरानो बाटोमा आफूलाई इजाजत दिइनेमा आशावादी रहेको बताएको छ ।