प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक (अार्इजीपी) मा नियुक्त

प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक (अार्इजीपी) मा नियुक्त

काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषदको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो ।

गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको हो ।

कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ भने अर्का दावेदार नवराज सिलवालको १५२.४ अंक मात्रै छ । यसैगरी अर्का डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको बताइएको छ ।

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले जिम्मेवारी सम्हाल्नुअघि नै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि रोकिएका थिए ।

चैत ८ गते चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । सर्वोच्चले चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु पर्ने आशयसहितको परमादेश दिएपनि अहिले अर्याललाई प्रहरी प्रमुख बनाइएको हो ।

सर्वोच्चले अन्तिम फैसला गर्नु अघि प्रकाश अर्याल पनि सर्वोच्च पुगेका थिए । उनको मुद्दाको सुनुवाई सर्वोच्चमा हालसम्म पनि भएको छैन ।