बलिरहेको थवाङ र रातो इतिहासको चुनौती

बलिरहेको थवाङ र रातो इतिहासको चुनौती

आजकल थवाङ् भन्ने बित्तिकै यात मानिसहरु तर्सिन्छन् यात आस्थाको केन्द्र भनेर गर्व गर्छन् । साम्राज्यबादी अमेरिका तथा बिस्तारबादी भारत समेत थर्काइको छ थवाङ । बिश्वमा लाल किल्ला भनेर चिनिने रोल्पाको उत्तरपूर्वको एउटा ऐतिहासिक ठाउँ हो थवाङ् । यससँग जलजला पनि जोडिएको छ । प्रश्न उड्दछ किन थवाङ्को बढी चर्चा परिचर्चा हुन्छ? वास्तबमा थवाङ् शान्त र सरल छ । यो साँस्कृतिको सम्पदा पनि हो । भूबनोट र प्राकृतिक मनोरम दृश्यले यसको छबि आकाश जस्तै फराकिलो तुल्याएको छ । यसको महत्व समुद्रजस्तै गहिराइमा पुगेको अनुभूति हुन्छ । जति उत्खनन् ग¥यो उती मोति पाइन्छ । यहाँका सीधासादा मगरहरु अरुलाई ठग्न र जाल झेल गर्न जान्दैनन् । आइपरे आगो बनेर खरानी पारिदिन्छन् थवाङ्गीहरु । यसको बिशेषता हो उनीहरुको चट्टानी एकता । भाषा, जीवन शैली, सँस्कृति परंपरा उनीहरुको जीवन हो । यसैले उनीहरु गोलबन्द भएर बस्न सकेका छन् । चुनाबमा यिनीहरुलाई चित्त नबुझे रित्तो बाक्सा पठाइदिएको उदाहरणहरु छन् । गत २०७२ को संबिधान सभाको निर्वाचनमा उनीहरुले एक भोट पनि नहाली रित्तै ब्यालेट बक्सहरु पठाइ दिएका हुन् । उनीहरुको माग छ संबिधानले उनीहरुलाई संबोधन गरोस् । उनीहरु उज्यालो तिर जान चाहन्छन् । परिवर्तन चाहन्छन् उनीहरु । यिनीहरुको जोडबलले केही बिकासका पूर्वाधारहरु पनि बनेका छन् । यस आलेखका पंक्तिकार २०२५ सालमा थवाङ् पुगेको हो । उसबेला बाटो घाटो राम्रो थिएन । चामल थिएन । भात खान पाइदैनथ्यो । हँसिलो चेहरा गराउँदै एउटा भाइले चरेसको थालभरि आलू लिएर आए । बिहान ११ बजिसकेको थियो । भोक लागेको हुनाले सबै आलू सकें । पैसा दिन थालें । तर पैसा लिएनन् । ‘के को पैसा हो? तिमी त पाहुना हो ।’ भन्थे उनीहरु । उसबेला त्यहाँका नि.मा.बि.शिक्षक खिमान सिं गुरुङ् प्यूठान आईसकेका रहेछन् । थवाङ्गीहरुको चेतना अभिबृद्धिमा उनको योगदान पनि जोडिएको छ । थवाङ्गीहरु थाम भाषा बोल्छन् । यो उनीहरुको मातृभाषा हो । पहिले उनीहरुले चरेसको मनग्गे ब्यापार गरेर पैसा कमाए पनि अहिले उनीहरु त्यस पेसामा लागेको पाइदैन । उनीहरुका गाउँ पाखामा स्याउका दाना झुलिरहेका हुन्छन् । जडीबुटी र खनिज पदार्थको खानी हो थवाङ । भेडा पाल्ने र राडी पाखी बुन्ने काम गर्छन थवाङ्गीहरु । लहरै सटेर बनेका घरहरु धेरैजसो काठैकाठले बनेका छन् । घरको छानै छानाबाट गाउँ नै चाहर्न सकिन्छ । घरको तल्लो तलामा बङ्गुर पाल्थे उनीहरु । दिसा पिसाब एउटा प्वालबाट तल्लोतलामा छोडिदिन्थे । बंगुरहरु भने आहारको लागि तछाडमछाड गर्थे । तर अहिले भने ब्यबस्थितरुपमा फर्ममा पालिएका छन् बंगुरहरु । अहिले पहिलाजस्तै आलू खाएर बस्न पर्दैन ।

थवाङ्गीहरुको राजनैतिक पृुष्ठभूमि

नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको संस्थापना भएपनि रोल्पाको थवाङ्मा भने २०१२ सालमा आइपुगेको हो नेपाल कम्युनिष्ट पार्टी । रोल्पा, प्यूठान, रुकुम कम्युनिष्ट पार्टीको गढनै बने । थवाङ्ग केन्द्र बिन्दु नै बन्यो । यसले अहिलेसम्म बर्चश्व कायम गरेको अवस्था छ । तर अन्य ठाउँहरुमा भने माओबादी केन्द्रले कम्युनिष्टको लाइन छोडेको हुनाले कम्युनिष्ट पार्टी केही पातलिएको अवस्था छ । क.प्रचण्ड र क.डा.बाबुराम भट्टराईले धोका दिएको हुनाले बिजयको संघारमा आउदा आउदै जनयुद्ध बिघटन हुनपुग्यो । जनयुद्धमा १५ ।१६ हजार नेपालीहरुको ज्यान गयो । शहीदको सपनामा बज्रपात भएको छ । शहीदहरुकै भ¥याङ् चढेर अहिले माकेले सत्ता सम्हालेको छ । पहिले भारतलाई बिस्तारबाद भन्ने पार्टीले अहिले भारतसँग आत्मसमर्पण गरेको छ । कार्यकर्ताहरु नवल्लो घाट नपल्लो घाटमा भएका छन् । जनमुक्ति सेना बिचल्लीमा छन् । उनीहरुको गास र बासको ठेगान छैन । सुकुमबासीहरुलाई उठीबास गराइएको छ । मधेश, थरुहट, जनजाति आदिको समश्या ज्यांैका त्यांै छ । मधेशमा लडाईं चलिरहेको छ । अँस्तिभर्खरै एमालेको अभियानको क्रममा सप्तरीमा सरकारबाट ५ जना सर्बसाधारण जनता मारिएका छन् । संबिधान संशोधनको डम्फू बजिरहेको छ । तर एमालेको अडानले गर्दा संशोधन हुन सकिरहेको छैन । सबभन्दा ठूलो कुरा सत्ता चाहिएको छ । युरोपमा पनि असफल भैसकेको पुरानो संसदीय ब्यबस्थाको मरेको लाश लिएर नाचिरहेका छन् सत्ता सम्हालेका नेताहरु । सत्ताको दुरुपयोग गरेर ल्याएको ९० प्रतिशतको रटलगाउदै आएका यथास्थितिबादीहरु संशोधनमा रुमलिएका छन् ।

२०३६ सालको जनमत संग्रहमा बहुदललाई ५ प्रतिशतले पराजित भएको देखाइएको थियो । त्यसको समुचित कदर नगर्नाले पछि ब्यबस्था नै परिवर्तन गर्नुप¥यो । अहिले देशको आधा हिस्सा जनसंख्या भएको मधेशमा समस्याको समाधान नगरी चुनाब गर्ने हो भने त्यसबाट उत्पन्न हुने अपृय घटनाको जिम्मेवारी ३ ठूला राजनैतिक दलहरुले लिनुपर्छ । अझ ठूलो जिम्मेवारी जनयुद्धबाट फर्केर आएको माओबादी केन्द्रले लिनुपर्छ । धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र जस्ता केही कुरा सकारात्मक भए पनि यो संबिधानको चरित्र प्रतिकृयाबादी छ । पश्चगामी छ । थारु जनजाति दलित महिला आदि सबैको माग संबोधन गर्ने हो भने पुरानो कोटमा टालो हालेर हुदैन । राष्ट्रिय सहमती गरी संबिधानको पुनर्लेखन गर्नु पर्छ ।

अहिले ने.क.पा. (क्रान्तिकारी माओवादी)ले स्थानीय तहको निर्बाचाचनको क्रान्तिकारी उपयोगको कार्यनीति लिएको छ । यसको काम प्रतिनिधि छान्ने र छानिने त छदैछ । मुख्य काम भनेको पुरानो संसदीय ब्यबस्थाको भण्डाफोर गर्नु हो । प्रचार प्रसारबाट जनचेतनास्तर अभिबृद्धि गर्नु हो । यो नहुने हो भने उपयोगको केही अर्थ रहदैन ।  

अहिले साम्राज्यवादी युरोप र अमेरिकाले ‘डिभाइड एण्ड रुल’को नीति अबलम्बन गरेका छन् । युरोप र अमेरीका एशीयाका मुलुकहरुमा फाटो पारेर लडाउन चाहन्छन् । उनीहरु चीन र भारतलाई लडाउन चाहन्छन् । उत्तर कोरिया र द.कोरियालाई लडाइरहेका छन् । चीन र जापान बीचमा फाटो पार्छन् । उनीहरुले अराजकता छरेर यी मुलुकहरुमा ईशाइकरण गर्न चाहन्छन् । सबभन्दा ठूलो कुरा नेपाललाई असफल राष्ट्र बनाएर चीनलाई घेर्न चाहन्छन् ।

अहिले नेताहरुको खेल भनेको देशलाई नवउपनिबेश बनाउने र सत्ता प्राप्त गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड भारत जाँदा २५ बुँदे सहमति त्यसै भएको होइन । सतहीमा राष्ट्रियताको नारा त लगाइन्छ तर आई.एन.जी ओ.लगाएर बिदेशी सँस्कृतिको निर्माणमा नेपाली सँस्कृति भत्काइएको छ । आबाशीय बिद्यालयमा अंग्रेजी कल्चर सिकाइन्छ । नेपाली भाषा संस्कृति बिस्थापित गरिन्छ । अमेरीका र युरोपले बेल्ट र रोडको सन्दर्भमा भाँजो हाल्न चाहन्छन् । यसले तिब्बत र नेपाललाई जोडने सडक र रेलवे निर्माणमा जोड दिएको छ । जसले ब्यापार बिस्तार एबं पर्यटनको बिकास गर्ने छ । अमेरीका दादागिरी बन्दैछ । फ्रान्सलाईृ लगाएर चीनको समुद्रलाई हस्तक्षेप गर्न चाहन्छ । अहिले अमेरीकाले बिनाकारण हतारमा सिरियामाथि आक्रमण गरिरहेको छ । पुँजीबादको चरमरुप सामा्रज्यबाद हो भने अहिले साम्राज्यबादीहरुमा कहिले काँहीं फाटो आए पनि अमेरीकाले हैकम जमाएको छ ।

अहिले जनताले छिटो छिटो मुक्ति चाहिरहेका छन् । ठोस स्थितिको ठोस बिश्लेषण गरेर नेपालको मौलिकतामा क्रान्ति पुरा गर्नुको बिकल्प छैन । क्रान्ति गर्ने ब्यक्ति र पार्टी संसदीय ब्यबस्थामा टाँसिदै आउने हो भने अवस्य नै कम्युनिष्ट पार्टी लोगो मात्र हुनेछ । तर माकर््सबादी विज्ञान कहिल्यै हराउने छैन । जनयुद्धको उद्गमस्थल थवाङ् साम्राज्यबाद, बिस्तारबाद, सामन्तबाद र प्रतिकृयाबाद बिरुद्ध संझौताहीन संघर्ष गरिरहेको छ । क्रान्तिको ज्वाला फरफर बलिरहेछ । रक्तिम इतिहासमा राता फूलहरु फुलिरहेका छन् । बिश्वलाई बदलेर बिम्ब प्रतिबिम्बको चुनौती मोलिरहेको छ थवाङ् ।