
एजेन्सी । सिरियामा विद्रोही नियन्त्रणमा रहेको उत्तर–पश्चिमी इदलिब सहरमा भएको संदिग्ध रासायनिक हमलामा कम्तिमा ५८ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।
सिरियाली मोनिटरिङ समूह द सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले इदलिबको खान शेरखौनमा सिरियाली सरकार र रुसी हवाई हमलामा केहीको मृत्यु भएको जनाएको छ ।




राष्ट्रपति बसर अल असदका विरोधी स्थानीय कोअर्डिनेशनल कमितिको नेटवर्कले घटनामा घाइते भएकाहरुको तस्बिर सार्वजनिक गरेको छ ।
घटनामा परी मारिनेमध्ये केही बालबालिका समेत रहेका छन् । एक मेडिकलन सेन्टरले घाइते भएकाहरुको उपचार भइरहेका स्थानमा पुनः आक्रमण भएको जनाएको छ ।
इदलिबका एम्बुलेन्स सर्भिस इन्चार्ज मोहम्मद रसौलले आफूहरु घटना भएको २० मिनेटपछि त्यहाँ पुग्दा केहीको मृत्यु भइसकेको अवस्थामा पाएको र घाइतेहरुलाई अस्पताल लैजान खटिएको बताएका छन् । उनले यो घटनामा मृत्यु हुँनेको संख्या बढ्न सक्ने समेत जानकारी दिएका छन् ।
उनले घटनामा परि ६० जनाभन्दा बढी मारिएको र ३ करिब सय घाइते भएको उल्लेख गर्दै मृतकको संख्या बढ्ने बताएका हुन् । घाइतेहरुमा बेहोशी, बमिट हुनेजस्ता समस्या देखिएको छ । सिरियन अब्जरभेटरीले भने घटनामा परी मारिनेमा ११ जना बालबालिका रहेको जनाएको छ ।
सिरिया सरकारले भने विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हमला गरेको आरोपलाई लगातार अस्वीकार गर्दै आएको छ । हालै राष्ट्र संघ र अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपनले गत अक्टोबरमा गरेको जाँचमा सन् २०१४ देखि सन् २०१५ को बिचमा सरकारी सेनाले कम्तीमा पनि ३ पटक क्लोरिन हतियार प्रयोग गरेको निश्कर्ष निकालेको छ ।