निर्वाचन उपयोग र भण्डाफोरको द्वन्द्ववाद

निर्वाचन उपयोग र भण्डाफोरको द्वन्द्ववाद

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विस्तारित बैठक यही चैत्र १५ गते सफलतापूर्वक सम्पन्न भएको छ । आउने ०७४ सालको बैशाख ३१ गतेका लागि जुराईएको स्थानीय निर्वाचनबारे हाम्रो पार्टीको नीति के हुने भन्ने विषय यो विस्तारित बैठकमा छलफलको मूल एजेण्डा थियो । जम्मा १८६ जना नेता तथा कार्यकर्ताको सहभागितामा दुई दिनसम्म चलेको घनिभूत बहस र छलफलका बीचबाट के.स.को यस विस्तारित बैठकले आगामी स्थानीय निर्वाचनको क्रान्तिकारी उपयोग गरेर संसदीय व्यवस्थाको राष्ट्रघाती तथा जनविरोधी अन्तरवस्तु र संसदवादी पार्टीहरुको राष्ट्रघात तथा जनघातको भण्डाफोर गर्ने कार्यनीति अवलम्बन गरेको छ । यो सबैले बुझेको कुरा हो कि प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने जुनसुकै तहको निर्वाचन एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका निमित्त नितान्त कार्यनीतिको प्रश्न हो । त्यो कार्यनीतिले पार्टीको रणनीतिको सेवागर्ने र त्यसैको मातहतमा रहने हुनाले यसबारे आम पार्टी पंक्ति स्पष्ट हुनु जरुरी छ । यो लेख यसैको सेरोफेरोमा केन्द्रित रहने छ ।
हाम्रो पार्टीको न्युनतम रणनीति नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हो । यो क्रान्ति शान्तिपूर्ण ढङ्गबाट सम्पन्न हुन सक्दैन । त्यसका लागि बल प्रयोग अनिवार्य छ र वर्तमान परिस्थितिमा त्यसको स्वरुप सशस्त्र जनविद्रोह हुनेछ । यो पार्टीको सैन्य कार्यदिशा हो । हाम्रो पार्टीले अवलम्बन गर्ने कुनै पनि कार्यनीति यो सैन्य कार्यदिशा मार्फत नयाँ जनवादी क्रान्तिको रणनीतिलाई पुरागर्न सहयोग गर्ने हुनु अनिवार्य छ । त्यो संसदवाद, दक्षिणपंथी संशोधनवाद, नवसंशोधनवाद सहित माक्र्सवाद–लेनिनवाद–माओवादविरोधी आम गलत प्रवृत्तिहरुका विरुद्ध खडाहुनु जरुरी छ । एउटा क्रान्तिकारीले कहिल्यै बिर्सन नहुने कुरा के हो भने क्रान्तिको रक्षा र विकासका निमित्त सामान्यतः सबैखाले दक्षिणपंथी अवसरवाद र हाम्रो विशिष्टतामा नवसंशोधनवादलाई परास्त गर्नु पहिलो शर्त हो । गलत विचारको खरानीमा मात्र सही विचार मौलाउंछ र सही विचारका आधारमा निर्माण भएको संगठनले मात्र क्रान्तिकारी वर्गसंघर्षलाई अगाडि बढाउन सक्दछ । यो एउटा वैज्ञानिक सत्य हो । एउटा मालेमावादी कम्युनिस्ट पार्टीले यही सत्यका आधारमा आनो कार्यनीतिको विन्यास र विकास गर्नु पर्दछ ।

एउटा कम्युनिस्ट पार्टीले निर्वाचनको उपयोग पनि गर्न सक्दछ र वहिस्कार पनि । यही गर्नुृ पर्छ भन्ने त्यस्तो केही बनिबनाउ मान्यता छैन । के गर्ने भन्ने कुरा सम्बन्धित पार्टीको मनोगत इच्छाद्वारा निर्धारित गर्ने विषय पनि होईन । जनताका बीचमा क्रान्तिकारी विचारको विस्तार गर्न र त्यसका आधारमा वलियो संगठनको जग बसाउन वहिस्कार वा उपयोग कुनचाहीं बिधी बढी सहयोगी हुन्छ त्यसैलाई पार्टीले आनो कार्यनीति बनाउनु पर्दछ । ठोस परिस्थितिको ठोस विश्लेषण र त्यसको वैज्ञानिक संश्लेषणले हामीलाई सही निस्कर्षमा पु¥याउंछ । यही भएर लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण भनेको माक्र्सवादको आत्मा हो भन्नु भएको थियो । यसलाई हामीले राम्रोगरी आत्मसात गर्नु पर्दछ ।
वर्तमान नेपालीे राजनीतिक परिस्थितिका खास विशेषताहरु रहेका छन् । देशमा एउटा संविधान बनेको छ तर त्यसको राष्ट्रघाती तथा जनविरोधी चरीत्रको आम जनताका बीचमा पर्दाफास भै सकेको छैन । क्रान्तिको आवश्यकता अरु बढेर गएको छ तर क्रान्ति उभारको अवस्थामा छैन । स्थानीय निर्वाचन प्रति जनताको एउटा ठूलो हिस्साकोे चासो बढेको छ तर त्यस प्रति वितृष्णा पैदा भैसकेको छैन । क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ, तर त्यसको प्रतिक्रियाकाल अझै सकिएको छैन । क्रान्तिका निमित्त सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने आवश्यकता एकदमै बढेर गएको छ तर त्यसले जनतालाई त्यति धेरै आकर्षण गर्ने स्थिति देखिंदैन । स्थानीय निर्वाचन जनताका विकास निर्माणका समस्याका तुलनामा राष्ट्रिय राजनीतिसंग कम जोडिएको हुन्छ । यो बहिस्कारको विधीबाट भन्दा उपयोग र भण्डाफोरको विधिबाट जनतासम्म पुग्न सहज हुने परिस्थिति हो । तसर्थ यो अवस्थामा पार्टीको क्रान्तिकारी विचारलाई जनतासम्म पु¥याउन र जनताका बीचमा संगठन निर्माण गर्नका लागि निर्वाचनलाई बहिस्कार गर्ने नीति भन्दा उपयोग गर्ने नीति नै पार्टीको लागि बढी उपयोगी हुने कुरा स्पष्ट छ ।

तर, नेपालमा सामान्यतः बहिस्कारलाई क्रान्तिकारी र उपयोगलाई सुधारवादी कार्यनीति मान्ने मानसिकता छ । यो नितान्त गलत कुरा हो । बहिस्कारले क्रान्तिलाई नोक्सान गरेका उदाहरणहरु पनि पाईन्छन् र उपयोगले क्रान्तिलाई फाईदा गरेको ईतिहास पनि हाम्रा सामु छ । लेनिनले दुमाको उपयोग र बहिस्कार दुबै गर्नु भएको छ । हाम्रो पार्टीले ०५१को स्थानीय निर्वाचन उपयोग गरेको थियो र ०५४मा बहिस्कार । त्यसकारण बहिस्कार र उपयोग आफैमा गलत र सही भन्ने हुदैनन् । तत्कालको परिस्थितिमा क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन वहिस्कार वा उपयोग जस्ले बढी सहयोग गर्छ त्यही कार्यनीति उपयुक्त हुन्छ । वस्तुगत परिस्थिति परिवर्तन भैरहने हुनाले पार्टीले आनो कार्यनीतिलाई पनि परिमार्जन गरिराख्नु पर्ने हुन्छ । लेनिनले कार्यनीति २४ घण्टाभित्र पनि बदलिन सक्छ भन्नु भएको थियो । एउटा क्रान्तिकारीले यसको मर्मलाई राम्रो गरी आत्मसात गर्न जरुरी छ ।

बहिस्कार सधैं क्रान्तिकारी र उपयोग सधै सुधारवादी हुन्छ भन्ने ठान्नु हुदैन । बहिस्कार क्रान्तिकारी मात्र होईन सुधारवादी पनि हुन सक्छ । त्यति मात्र होईन, बहिस्कार क्रान्तिकारी, अवसरवादी र प्रतिक्रियावादी तीनै प्रकृतिका हुन सक्छन् । प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारेर त्यसका ठाउमा क्रान्तिकारी सत्ता निर्माणको पक्षमा रहने मालेमावादी विचार र राजनीतिक उद्देश्य सहितको निर्वाचन बहिस्कार क्रान्तिकारी हुन्छ । तर, त्यही बहिस्कार प्रतिक्रियावादी सत्तामा सुधार गरेर आंशिक फाईदा लिनका लागि गरिन्छ भने स्वभावतः त्यो अवसरवादी कार्यनीति हुन्छ । त्यस्तै, कुनै राजनीतिक पार्टीले सत्ताको प्रतिक्रियावादी चरीत्रको रक्षा र समृद्धिका लागि निर्वाचनको वहिस्कार गर्छ भने त्यो प्रतिक्रियावादी कार्यनीति हुन्छ ।

त्यसरी नै निर्वाचन उपयोगको कार्यनीति सधै सुधारवादी हुन्छ भन्ने ठान्नु नितान्त गलत कुरा हो । उपयोगको कार्यनीति पनि बहिस्कार जस्तै क्रान्तिकारी, सुधारवादी र प्रतिक्रियावादी तीनै प्रकारको हुन सक्छ । प्रतिक्रियावादी सत्तालाई ध्वस्त गर्नका लागि क्रान्तिकारी आधार निर्माण गर्न गरिएको निर्वाचनको उपयोग क्रान्तिकारी हुन्छ । सत्तामा आंशिक सुधारका निमित्त निर्वाचनको उपयोग गरिन्छ भने त्यो सुधारवादी हुन्छ । त्यस्तै, यो प्रतिक्रियावादी सत्तालाई बलियो बनाउन गरिने निर्वाचनको प्रयोग प्रतिक्रियावादी हुन्छ । यसरी के बुझ्नु पर्दछ भने बहिस्कार आफैमा सधै क्रान्तिकारी कार्यनीति र उपयोग सधै सुधारवादीे कार्यनीति हो भन्ने कुरा सही होईन । कुनै पनि कार्यनीति क्रान्तिकारी छ कि सुधारवादीे भन्ने कुरा सम्बन्धित पार्टीको निर्देशक विचार के हो र कुन राजनीतिक उद्देश्य पुरागर्न त्यो कार्यनीति अवलम्बन गरिएको छ भन्नेबाट निर्धारित हुन्छ ।

रणनीतिक दृढता र कार्यनीतिक लचकता एउटा क्रान्तिकारी पार्टीको परिचय हो । अर्को कुरा, कम्युनिस्ट पार्टीले रणनीतिमा गल्ति गर्दैन । गल्ती हुन सक्ने र हुने कार्यनीतिमा नै हो । क्रान्तिका क्रममा वर्गलाई रणनीतिक उद्देश्यको प्राप्तिसम्म पु¥याउने पनि कार्यनीतिले नै हो । अर्थात् क्रान्तिको विकास गर्ने पनि कार्यनीतिले नै हो क्रान्तिलाई सिध्याउने पनि त्यसैले हो । कार्यनीति जोखिमपूर्ण हुन्छ त्यसै भएर यसका पछाडि महान् संभावनाहरु पनि लुकेका हुन्छन् । निर्वाचनसंग सम्बन्धित कार्यनीतिक प्रश्नका सन्दर्भमा विश्व कम्युनिस्ट आन्दोलनमा मूख्यतः दुई प्रकारका समस्याहरु देखिने गरेका छन् । ती समस्या निर्वाचन भनेको कार्यनीतिक विषय हो भन्ने कुरालाई सिद्धान्तमा त मान्ने तर एक थरीले त्यसको उपयोग मात्र गर्ने र अर्का थरीले त्यसको बहिस्कार मात्र गर्नेमा व्यक्त हुने गरेका छन् । यो निर्वाचनको प्रश्नलाई कार्यनीति भनिए पनि रणनीतिको अर्थमा बुझ्ने समस्याको अभिव्यक्ति हो ।

कसैले वहिस्कार गरिसके पछि त्यो आन्दोलनलाई चुनाव हुनै नसक्ने स्थितिमा पु¥याउन सक्नु पर्दछ र पार्टीमा त्यो आत्मगत स्थिति पैदा नहुदासम्म बहिस्कार गर्नु गलत हुन्छ भन्ने सोच्दछन् । यो पनि सही सोंच होईन । यसले घुमाई–फिराई निर्वाचनको कार्यनीतिक प्रश्नलाई रणनीतिक प्रश्न बनाईदिन्छ । परिणामतः पार्टी निर्वाचनको गोलचक्करमा फस्न पुग्दछ । त्यसैगरी यतिबेला क्रान्तिको उभार नआएको स्थिति हुनाले निर्वाचनको उपयोग गर्नु पर्दछ भन्ने भनाईलाई पनि यान्त्रिक रुपमा बुझ्नु हुदैन । यो अन्य कतिपय परिस्थितिसंग पनि सम्बन्धित हुन्छ ।

निर्वाचनमा जाने भने पछि वारम्वार सामना गर्नु पर्ने अर्को एउटा प्रश्न चुनाव जित्नु पर्दछ भन्ने हो । सामान्यतः निर्वाचनलाई उपयोग गरिसकेपछि जित्ने आकाँक्षा राख्नु गलत होईन । तर, एउटा क्रान्तिकारीले निर्वाचन जित्न कै निमित्त विचारलाई तिलाञ्जली दिन सक्दैन र हुदैन । निर्वाचनका बेला, यो पार्टीका विरुद्ध यी पार्टीहरुका बीचको मोर्चा, सापेक्षतामा यो पार्टी भन्दा त्यो पार्टी राम्रो जस्ता तुलनावादी तर्कहरु आउने र पार्टी त्यहीं तुलनावादमा फसेर विचारलाई भूत्ते बनाउने खतरा रहन्छ । नेपालको विशिष्ट सन्दर्भमा वर्तमान प्रतिक्रियावादी सत्ताका संरक्षक रहेका नेका, माके, एमाले तथा राप्रपा जस्ता पार्टीहरुसंग कुनै पनि प्रकारको तालमेल गर्ने र यी पार्टीहरुको भण्डाफोरलाई कमजोर बनाउने कुरा नेपाली नयाँ जनवादी क्रान्तिका लागि घातक छ । यस विषयमा एउटा क्रान्तिकारी सधै सतर्क रहनु जरुरी छ । दलाल, नोकरशाही पूजीपतिवर्ग र सामन्तवर्गको प्रतिनिधित्व गर्ने र साम्राज्यवाद तथा भारतीय विस्तारवादको चाकडीमा आनो हित देख्ने नेका, माके, एमाले तथा राप्रपा जस्ता पार्टीको राष्ट्रघाती तथा जनविरोधी चरीत्रको भण्डाफोर गर्ने काममा जोड दिनु पर्दछ । पार्टीको निर्वाचन उपयोगको नीतिको मर्म नै भण्डाफोरको जगमा पार्टीको वैचारिक आधार निर्माण गर्ने र संगठनको विस्तार गर्ने होे भन्ने कुरा कसैले विर्सनु हुदैन ।

यतिबेला नेका, माके, राप्रपा र एमाले सहितको ४–दलीय सिण्डिकेटले स्थानीय निर्वाचनलाई देश र जनताका सम्पूर्ण समस्याको समाधान गर्ने एक मात्र अचुक हतियारको रुपमा निकै उछालेको छ । अर्कोतिर, स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न हाम्रो पार्टी दर्ता गर, निर्वाचन चिन्ह देउ भन्ने ६४ वटा पार्टीहरुमाथि पुलिसका बुट र लाठी बर्साएर माकेको नेतृत्वमा बनेको गठबन्धन सरकारले उनीहरुले नै भनेको संसदीय लोकतन्त्रको खिल्ली उडाएको छ । यसले संसदीय व्यवस्था भनेको कथित ठूला पार्टीका ठूला नेताहरुको राष्ट्र र जनताका विरुद्ध संयुक्त अधिनायकत्व हो भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ ।

हाम्रो पार्टीले आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने सही निर्णय लिएको छ । यति बेला, निस्कृय बसेर बहिस्कारको राग अलाप्न, निर्वाचन खारेज गर्ने बेतुकको तर्क अगाडि सारेर जनतालाई भ्रम दिन र आफुलाई सदावहार क्रान्तिकारी देखाउन गाह्रो छैन । जनताको बीचमा गएर जनविरोधी संसदीय व्यवस्था र साम्राज्यवादका दलालहरुको भण्डाफोर गर्न, जनताका बीचमा मालेमावादी विचार तथा राजनीतिलाई स्थापित गर्न र सँगठन निर्माण गर्न अवश्य गाह्रो छ, तर यतिबेला यसको विकल्प छैन ।

हाम्रो पार्टीले आगामी निर्वाचनको प्रक्रियाबाट प्रतिक्रियावादी तथा अवसरवादीहरुको घेराभित्र रहेर क्रान्तिकारी विचारलाई जनतासम्म पु¥याउने अत्यन्त अपठ्यारो र चुनौतीपूर्ण कार्यनीति लिएको छ । हामीले ढङ्ग पु¥याउन सकेनौ भने हामीले निर्वाचनलाई उपयोग गर्ने होईन निर्वाचनले हामीलाई उपयोग गर्ने र हाम्रो पार्टी अवसरवादी बन्ने गंभीर चुनौती हाम्रा सामु छ । मालेमावादी विश्व दृष्टिकोणका आधारमा वर्गीय तथा राष्ट्रिय मुक्तिको विश्वास सहित ईमान्दारी पूर्वक यो चुनौतीलाई सामना गर्न एकतावद्ध भएर अगाडि बढनु नै अहिलेको आवश्यकता हो ।

चैत्र २०, २०७३