चैत्र १६, २०७३ । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बन्नका लागि दरखास्त फाराम भर्न जिल्ला प्रहरी कार्यालयमा दिनहुँ युवायुवतीहरूको भीड बढ्दै गएको छ । हालसम्म ९ सय १९ पुरुष र २ सय ४० महिला गरी १ हजार १ सय ५९ जनाले फारम भरेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
यसैगरी निर्वाचनको शान्तिसुरक्षालाई मध्यनजर गर्दै वैध तथा अवैध हतियार आफंै प्रहरीमा बुझाउन आह्वान गरेकोमा हालसम्म १४ वटा भरुवा बन्दुक प्राप्त भएको तिवारीले जानकारी दिएका छन् ।
भर्ना हुनेको लर्को
सल्यान– स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना हुन युवा तथा युवतीको सदरमुकाममा लर्को लागेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १८ वर्षदेखि ५४ ननाघेकाले फारम भर्न सक्ने भए पनि युवामा बढी आकर्षण देखिएको छ । प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले दुई दिनमा हजारभन्दा बढीले फारम भरेको बताए । १७ गतेसम्म फारम भर्ने म्याद रहेकाले करिब दुई हजारभन्दा बढीको आवेदन पर्ने उनको अनुमान छ । ‘सल्यान जिल्लामा १ सय ११ मतदान केन्द्रमा ५ सय ९३ जनाको आवश्यकता छ । एक केन्द्रमा ५ देखि ७ जनासम्म खटाइने छ,’ उनले भने । कक्षा ८ पास गरे फारम भर्न पुग्ने भए पनि स्नातक पास गरेकाले समेत बेरोजगारीका कारण फारम भरेको उनले बताए ।
युवाको आकर्षण
मुगु– सोरू गाउँपालिका ४ का १९ वर्षीय कविराज शाहीेले घरबाट दुई दिन हिँडेर सदरमुकाम पुगी म्यादीको दरखास्त फर्म भरेका छन् । उनकै छिमेकी हरिबहादुर मल्लले म्यादीमा उनीसँगै दरखास्त भरेको जनाए । स्थानीय निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले दरखास्त आह्वान गरेपछि ग्रामीण क्षेत्रबाट युवाहरू म्यादी प्रहरीमा भर्ना हुन सदरमुकाम आएका छन् ।
चैत १३ गतेदेखि १७ गतेसम्म म्यादी प्रहरीमा भर्ना हुनका लागि प्रहरी कार्यालयले दरखास्त आह्वान गरेपछि युवायुवतीको सदरमुकाममा घुइँचो लागेको छ । बेरोजगार युवाको म्यादी प्रहरीप्रति आकर्षण देखिएको प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीले बताए । पढेलेखेका युवाहरूसमेत जागिर नपाएपछि केही समयका लागि म्यादीमा भर्ना हुन हौसिएका हुन् । ‘आईए पास गरे पनि जागिर पाइएन,’ शाहीले भने, ‘थोरै समय भए पनि केही रकम कमाइन्छ कि भनेर म्यादीमा दरखास्त दिएको हुँ ।’ म्यादीमा आवेदन दिनेमा पूर्वप्रहरी र सेनाका जवानहरू समेत छन् ।