एजेन्सी । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने तयारी गरिरहेको बताएका छन् ।
आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतले उल्लेख गरेको हो ।
गृहमन्त्री सिंहले भने, ‘भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा सम्भव भएसम्म छिटो बन्द गर्ने योजना बनाइरहेको छ । यो आतंकवाद र शरणार्थीविरुद्ध चाल्ने भारतको प्रमुख कदम हुनेछ ।’
मध्य प्रदेशमा रहेको बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) एकेडेमीबाट तालिम पूरा गरेका बीएसएफ अधिकृतहरुलाई सम्बोधन गर्दै उनले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने तयारी गरेको बताएका हुन् ।
‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,’ उनले भने ।
उनले यसलाई केन्द्रीय स्तरबाट गृहसचिवले र राज्य स्तरबाट बीएसएफ र मुख्य सचिवले अनुगमन गर्ने उल्लेख गरेका छन् । सरकारले सीमा बन्द गर्नका लागि हुने प्राविधिक कठिनाईहरुको समाधान गरिने समेत विश्वास दिलाएका छन् ।
उनले भारतको सीमाको रक्षाका लागि बीएसफएले खेलेको भूमिकाको प्रशंसा समेत गरेका छन् ।