एजेन्सी । भारतको गुजरातस्थित पाटन जिल्लाको एक गाउँमा दुई समुदायबीच भएको हिंसामा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
झडपका क्रममा घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको छ । चानसमा प्रहरी चौकीका प्रमुख सीपी सातियाले शनिबार अबेरराति वडावली गाउँमा हिंसा भएको हो ।
उनले भने, ‘१० कक्षको परिक्षा दिन आएका दुई समुदायका दुई विद्यार्थीबीच झगडा भएको थियो । त्यसको केही बेरमा एक समुदायका मानिस हतियारसहित गाउँ पुगेर स्थानीयका करिब ९० घरमा आगो लगाइदिए ।’
सो क्रममा केही सवारी साधनसमेत जलाइएको छ । हिंसात्मक झडपपछि स्थानीय गाउँमा प्रहरी परिचालन गरिएको छ । यो घटनामा अहिलेसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन ।
स्थानीय पत्रकार अंकुर जैनका अनुसार गाउँमा लागेको आगो निभाउनका लागि अहमदाबाद र गान्धीनगरबाट दमकल पठाइएको थियो भने हिंसा नियन्त्रणमा लिनका लागि लाठी चार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरिएको थियो ।