गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवस, देशमा कुशल नेताकाे अभाव

गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवस, देशमा कुशल नेताकाे अभाव

काठमाडौं । आज चैत ७ गते, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवस, नेपाली काँग्रेस र उसका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी कोइरालाको सम्झना गर्दैछन् ।

काँग्रेसका पूर्वसभापति समेत रहेका स्व.कोइरालाको स्मृति दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २०६६ साल चैत्र ७ गते कोईरालाको ८५ वर्षको उमेरमा निधन भएको थियो ।

चार पटक नेपालका प्रधानमन्त्री भएका कोईरालाको नेतृत्वमा भएको २०६२÷६३ सालको सफल जनआन्दोलनपछि सरकार र तत्कालीन नेकपा (माओवादी) बीच बिस्तृत शान्ति सम्झौता भएको थियो ।

गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री कोईरालाको नेतृत्वमा शान्ति प्रक्रियाबारेको सहमतिको खाका तयार पारिएको थियो ।

शान्ति प्रक्रियाको सुरुवात कोइरालाको पालामा भएपनि उनको निधनपछि शान्ति प्रक्रियालाई ठीक ढंगले अघि बढाउन दलहरु असफल हुँदा पुनः नयाँ संघर्षको अवस्था देखा परेको छ ।

मधेसवादी दल, आदिवासी जनजातिलगायतका मुद्दाको उचित सम्बोधन हुन सकेको छैन भने शान्तिप्रक्रियामा सहभागी भएको माओवादीको ठूलो हिस्सालाई विश्वासमा लिएर अघि बढ्नुको साटो द्वन्द्वकालीन मुद्दा ब्युताउनेदेखि पुरानै कानुनअनुसार मुद्दा चलाउने प्रयासहरु भइरहेका छन् ।

पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेस दोस्रो शक्ति बनेपछि प्रतिपक्षमा बसेपनि कोईरालाले संविधान निर्माणको क्रमलाई अघि बढाएका थिए । संविधानका अन्तरबस्तुमा सहमतिको पहल जारी रहेका समय २०६६ सालमा उनको निधन भएको थियो ।

२००७ सालको राणा बिरोधी आन्दोलनमा सहभागी गिरिजाप्रसाद कोईरालाले २०४७ सालको जनआन्दोलन, ०६२/०६३ को आन्दोलनको नेतृत्व गर्नुका साथै प्रजातन्त्र प्राप्तीपछिका हरेक राजनीतिक घटनाक्रमलाई सहज अवतरण गराउन नेतृत्वदायी भूमिका समेत निभाएका थिए ।