प्रिमियर लिगमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड विजयी

प्रिमियर लिगमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएका खेलमा टोटनह्याम हट्सपर र म्यानचेस्टर युनाईटेड विजयी भएका छन् भने सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । सिटीमा सर्जियो एगुएरोले एक गोल फर्र्काएका हुन् ।

लिगअन्तर्गतको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले मिडिल्सब्रोलाई ३–१ ले हरायो । म्यानचेस्टर युनाईटेडको जितमा मराउने फेलियानी, जेस्सी लिङ्गार्ड र एन्टोनियो भ्यालेन्सियाले एक एक गोल गरे ।

प्रिमियर लिग अन्तर्गत आइतबारराति नै भएको अर्को खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन क्रिश्चियन एरिक्सन र डेले अलीले एक–एक गोल गरे । साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रौजले एक गोल फर्काए ।

जितपछि दोस्रो स्थानको टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दुरी घटाएर १० अंकमा सीमित गरेको छ । २८ खेलबाट टोटनह्यामको ५९ अंक भएको छ भने शीर्ष स्थानको चेल्सीको ६९ अंक छ ।