मेस्सीप्रेरित खेलमा बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित

मेस्सीप्रेरित खेलमा बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित

काठमाडौं । स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले सहज जित हात पारेका छन् ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे भने लुईस स्वारेज र आन्द्रे गोमेजले एक–एक गोल गरे । भ्यालेन्सियाका मांगाला र मुनिर अल हदादीले एक एक गोल फर्काए ।

ला–लिगाअन्तर्गतको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ३–१ ले हराएको छ । एथ्लेटिको मड्रिडलाई विजयी गराउन डिएगो गोडिन, एन्टोनियो ग्रिजम्यान र कोकेले एक–एक गोल गरे ।

गएरातिका अन्य खेलमा स्पोर्टिङ गिजोनले ग्रानाडालई ३–१ ले हरायो भने सेल्टा भिगोले डेपोर्टिभो लाकोरुनालाई १–० ले हराएको छ ।

आइतबाररातिका खेलपछि ला–लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना ६३ अंकका साथ दोस्रो तथा सेभिया ५७ अंकसहित तेस्रो स्थानमा छन् ।