‘सप्तरी हत्याकाण्ड’ पहाडे खस अहंकारवादको भद्दा नमूना हो :

‘सप्तरी हत्याकाण्ड’ पहाडे खस अहंकारवादको भद्दा नमूना हो :

सप्तरी हत्याकाण्डले आम मधेसीको सामाजिक मनोविज्ञानमा कस्तो असर पारेको पाउनु भएको छ ?

सप्तरी हत्याकाण्ड पहाडीया अहंकारवादको अभिव्यक्ति र नमूना हो । यसले आम मधेसीको सामाजिक मनोविज्ञानमा मधेसी जनतालाई यो अहंकारवादले नेपाली नागरिक ठान्दैन भन्ने परेको छ । सप्तरीमा मानवताविरुद्धको पराकाष्ठा एमाले र यहाँको शासकले देखायो । सप्तरी हत्याकाण्डले अहिलेको संसदीय राज्य व्यवस्थाप्रति आम मधेसीमा घृणा भाव प्रवल बनाइदिएको छ ।

पछिल्ला वर्षहरुमा मधेसमा हत्या, हिंसा र अशान्ति बढ्दै जानुको कारण के हो ?

पहिला मधेसमा हत्या हिंसा बढ्दै जानुको कारण भारतीय शासकवर्गद्वारा माओवादीका विरुद्धमा कोन्ट्रा विद्रोही जस्तै जनतान्त्रिकहरुको जन्म गराएको हुनाले भएको हो । विचारविनाका विभिन्न स्वार्थ समूहहरुले हतियार उठाएको हुनाले मधेसमा अस्थीरता पैदा हँुदै आएको छ ।

मधेसवादी दलहरुले उठाएका मागहरु र पहाडे खस ब्राह्मणवादीहरुको हठलाई कसरी हेरिरहनुभएको छ ?

मधेसी पार्टीहरुले उठाएका मागहरुबाट मधेसकै किसान, मजदुर, उत्पीडित समुदायको वास्तविक मुक्ति हुँदैन । किनकि, यही सत्ताभित्र केही सुधार गर्ने माग कुनै ठूलो कुरा होइन । एमालेमा सामन्तवादी हठ देखिन्छ भने मधेसवादीहरु भारतीय विस्तारवादको ग्रयाण्ड डिजाइनमा छन् । उनीहरु दुवै संसदवादी हुन् । सुधारवादी हुन् । उनीहरुबाट जनताको मुक्ति सम्भव छैन । त्यसकारण हिमाल, पहाड, मधेस÷तराईका जनताले अब संसदवादी पार्टीहरुलाई होइन, क्रान्तिकारी शक्तिलाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ ।
मधेस÷तराईको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको क्षेत्रमा भारतीय सुरक्षा बलको ज्यादतिको घटना फेरि पनि सार्वजनिक भइरहेका छन् ।

कञ्चपुरको आनन्द बजारमा नेपाली भूमिमै प्रवेश गरी एक जना नागरिकको हत्या भएको घटनालाई कसरी लिनु भएको छ ?

मधेसमा परापूर्वकालदेखि नै भारतीय विस्तारवादको दादागिरी र नेपाल सरकारको निरीहपनाले गर्दा बारम्बार घटना दोहोरिरहेका छन् । दक्षिणी बेल्टमा बस्ने नेपालीहरु बिना बर्दीका, बिना तलबका भारतीय शासक वा प्रशासकसँग लड्दै आएका सिपही हुन् । उनीहरुले भारतीय ज्यादतीका विरुद्ध सँधै लड्दै आएका छन् । तर जनताको त्यो स्वाभिमानीपूर्ण लडाईंमा यो देशका शासकहरु सहयोगी बन्न सकेका छैनन् । त्यसप्रति नेपालका शासक र प्रशासकहरु मौन छन् । यसकारण कि भारतकै दलाली र चाकरीमा उनीहरु सत्तासिन छन् । सत्तामा टिकेका छन् । कंचनपुर आनन्दबजारको घटना निन्दनीय छ । गोली हान्ने एसएसबी जवानलाई कारबाही गर्नुपर्छ । भारतीय सरकारले माफी माग्नुपर्छ र नेपाल सरकारले मृतकलाई क्षतिपूर्ति दिनुपर्छ ।

मधेसका अधिकांश जिल्लामा सिमाना भारतसँग जोडिएका छन् । सीमामा के–कस्ता भारतीय ज्यादति नेपाली नागरिकले भोग्नुपरेको छ ?
मधेसका सबै जिल्ला र पहाडका केही जिल्लाहरु भारतसँग जोडिएका छन् । ती सबैमा भारतीय विस्तारवादद्वारा समय–समयमा सिमाना सार्ने, नेपाली चेलीहरुमाथि अभद्र व्यवहार गर्ने, बिना कारण धम्क्याउने, कुटपिट गर्ने गर्दै आएका थुप्रै घटनाहरु छन् । पूर्वदेखि दक्षिण हुँदै पश्चिमसम्मका विभिन्न उदाहरणहरु छन्, महाकालीमा भारतले सेना राखेको, मेची नगरपालिकाका केही भू–भागहरु भारतमा मिलाएको, विभिन्न ठाउँमा दशगजा सारेको र बेलाबखतमा नेपालकै भूमिमा पसी गोली हानेर नेपाली नागरिकको हत्या गर्ने गरेका छन् ।

मधेसमा भारतीय हस्तक्षेपविरुद्धको जनमत कस्तो छ ?

मधेसमा भारतीय विस्तारवादको हस्तक्षेकारी भूमिकाको विरुद्ध समय–समयमा बिना वर्दीका मधेसीहरु भिडन्त गरिरहेका छन् । सप्तरीको तिलाठी त्यसैको उदाहारण हो । वास्तवमा नेपालका राजनीतिक पार्टी र नेताहरुले सिमानाका जनताबाट राष्ट्रियताको पाठ सिक्नु पर्दछ । सिमानाका जनतालाई जत्तिको नेपाली राष्ट्रियता प्यारो अरुलाई हुन सक्तैन ।

नेपालका खस ब्राह्मणवादी पहाडे शासकहरुले नेपालको राष्ट्रिय स्वाधीनताप्रतिको मधेसी जनताको स्वाभिमानप्रति सधैं प्रश्न उठाउने गरेका छन् । कारण के देख्नु हुन्छ ?

यो उनीहरुको कायरताको पराकाष्ठा हो । नेपालको शासनसत्तामा सबैभन्दा लामो समयसम्म शासन गर्ने भनेका नेपालका खस ब्राह्मणवादी पहाडे शासकहरु नै हुन् । उनीहरुले नै सबैभन्दा ठूलो राष्ट्रघात गरेका छन्, यहाँका नदीनाला, प्राकृतिक सम्पदा सबै बेची खाएका छन् । मधेसी जनताले भारतीय विस्तारवादलाई के बेचेका छन् ? बरु उनीहरु नेपाली भूमिको माटोको रक्षाका निम्ति विस्तारवादी ज्यादतीका विरुद्ध लड्दा लड्दै जीवन गुमाएका छन् । आफ्नो राष्ट्रघाती चेहेरा छोप्न उनीहरुले मधेसी जनताको नेपाली राष्ट्रियतामाथिको स्वाभिमानलाई शंकाको नजरले हेर्ने गरेका छन् ।

उपेन्द्र यादव र सिके राउतहरुले मधेस टुक्र्याउने धम्की दिने गरेका छन् । उनीहरुको यो भनाइलाई भारतसँग जोडेर हेर्ने गरिन्छ । मधेसवादी दलमा भारतको प्रभाव कस्तो पाउनु भएको छ ?

उपेन्द्र यादव र सिके राउतले समय–समयमा मधेस टुक्राउने जुन कुरा उठाइएका छन्, त्यो खस पहाडीया ब्रह्माणवादीहरुको दमनको विरुद्धमा चित्कारका स्वरहरु हुन् । किनकि बारम्बार मधेसीहरुले जायज मागहरु माग्दा त्यसलाई सम्बोधन गर्नुको सट्टा दमन गर्ने नीति अपनाउनु त्यसैको प्रतिफल हो । जहाँसम्म भारतसँग जोड्नु उनीहरुको कायरता हो । किनकि आपूmहरु सत्तामा जानको लागि त्यही भारतको दलाली गर्ने, खुट्टा समात्ने तर मधेसीहरुले जायज माग राख्दा भारतीय देख्ने यो खस पहाडी अहंकारवादको नालायकपना वा बचपना हो ।

मधेसी मोर्चा वा सिके राउतले उठाएका मुद्दाबाट मधेस समस्याको समाधान हुने देख्नुहुन्छ ?

मधेसी मोर्चा र सिके राउतले उठाएको मुद्दाबाट वास्तविक मधेसीहरुको मुक्ति हुँदैन । किनकि उनीहरु यही संसदवादी सत्ताको वरिपरि गोलचक्कर मार्न चाहन्छन् । यो संसारमा सत्ता वर्गीय हुन्छ । उनीहरुले पुँजीपतिवर्गको सत्ताको कुरा उठाएका छन् । त्यसबाट वास्तविक गरिब, किसान, सुकुम्बासी, मजदुर, उत्पीडित समुदायको समस्या यो पुँजीवादी सत्ताबाट समाधान सम्भव छैन । मधेसी जनताको वास्तविक मुक्ति त मालेमावादी विचारमा आधारित क्रान्तिकारी माओवादीको नेतृत्वमा हुने नयाँ जनवादी क्रान्तिबाट मात्र सम्भव छ ।

मधेस समस्या समाधानका लागि क्रान्तिकारी माओवादीको धारणा के हो ?

मधेसमा मात्र होइन कि यो देश हुँदै सम्पूर्ण संसारमा समस्या समाधानको लागि क्रान्तिकारी माओवादीले आफ्नो नीतिमा प्रष्ट पारेको छ कि जबसम्म उत्पीडित वर्गको राज्यसत्ता आउँदैन, तबसम्म वास्तवमा समस्याको समाधान हुँदैन । यसको लागि मालेमावादी सिद्धान्तको जगमा नयाँ जनवादी क्रान्ति गरेर समाजवाद हुँदै साम्यवादमा पुगेपछि नेपाललगायत सम्पूर्ण दुनियाँका समस्याको समाधान हुन्छ । हामीले आत्मनिर्णयको अधिकार, पहिचानसहितको संघीयता, किसान, मजदुर, महिला, दलित, मुस्लिम, मधेसीलगायत उत्पीडनमा परेका जातिहरुको यो राज्यमा पूर्ण समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गराएर मात्र श्रमजीवि शोषित उत्पीडितहरुलाई मुक्त पार्न सक्छौं भन्ने विचारमा दृढ रहँदै आएका छौं । यही विचार र लाइनबाट मधेसका वास्तविक मधेसी जनताको मुक्ति सम्भव छ ।