तानसेन । नेकपा (क्रान्तिकारी माओवादी) को पूर्वी मगरातस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम पाल्पाको तानसेनमा जारी छ ।
मंगलबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम बिहीबारसम्म चल्नेछ । प्रशिक्षणका क्रममा दर्शनको विषयमा हस्तबहादुर केसी, राजनीतिक अर्थशास्त्रका विषयमा परि थापा र वैज्ञानिक समाजवादका विषयमा परि थापा र हस्तबहादुर केसीले संयुक्त रुपमा कक्षा लिइरहेका छन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय कार्यालय सदस्य तथा पार्टी स्कुल विभाग प्रमुख परि थापाले पार्टीका हरेक कार्यकर्ताको राजनीतिक वैचारिक स्तर वृद्धिका लागि प्रशिक्षणको आवश्यकता रहेको बताए ।
उनले नेपालमा कम्युनिष्ट पार्टीले क्रान्तिका लागि हरेक प्रयत्न गर्दा पनि त्यसलाई वैचारिक रुपमा माथि उठाउन नसक्दा क्रान्ति पछि धकेलिएको उल्लेख गर्दै प्रशिक्षणका माध्यमबाट कार्यकर्ताको क्षमता वृद्धिका लागि राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमको आयोजना गर्न सुरु गरिएको बताए ।
उनले क्रान्तिका लागि र क्रान्ति पछिको राजनीतिक व्यवस्थापन र आर्थिक विकासका लागि पनि प्रशिक्षणको ठूलो महत्व रहेको उल्लेख गरे ।
केही समयअघि क्रान्तिकारी माओवादीले मिथिला राज्यस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेकोे थियो । १० वर्षे जनयुद्धको नेतृत्व गर्दै राज्यको ठूलो भूभागमा कब्जा जमाईसकेको माओवादीमा शान्ति प्रक्रियामा सामेल भएसँगै राजनीतिक वैचारिक स्तर भुत्ते हुँदै गएका बेला यस्ता प्रशिक्षणको ठूलो महत्व रहेको छ ।