‘क्रान्तिकारी’ को हो र को होइन ? –२

‘क्रान्तिकारी’ को हो र को होइन ? –२

सामन्तवाद र साम्राज्यवादको जरा उखालेर नयाँ जनवादी संघीय गणतन्त्रात्मक राज्य सत्ताको स्थापना गर्ने महान उद्देश्यसहित क्रान्तिमा होमिएका योद्धाहरुले हाँसी–हाँसी गोली थापेर शहिद बने, बेपत्ता बने र घाइते भए । तर कसैले पनि पश्चाताप गरेनन् । आफ्नो वर्गको मुक्ति, समानता र राष्ट्रिय स्वाधीनताको निमित्त अझै बलिदान गर्न आतुर थिए । तर क्रान्तिलाई रोकेर शान्ति प्रकृयामा आएर प्रचण्ड र बाबुरामले गरेको नकारात्मक हर्कतहरुका कारण इमान्दार कार्यकर्ताहरुमा एक प्रकारको निरासा, आक्रोश पैदा गरेको छ । जनमुक्ति सेनामा भर्ति भएर लडेका जनमुक्ति सेनालाई अयोग्य ठहर गरेर सेनाबाट छुट्याउनु गम्भीर प्रकारको कमजोरी थियो । योग्य भनेर ठहर गरिएका तर स्वेच्छिक अवकासका नाममा जनमुक्ति सेना बाहिरिन बाध्य पारिएका समेत गर्दा युवाहरुको ठुलो हिस्सा वास्तवमा जनताको मुक्ति आन्दोलनबाट टाढिन पुग्यो । हिजो छातीमा गोली थापेर लडेका युवाहरु जीवनदेखि नै निरास, अराजक, पलायन र विदेशका खाडीमा गएर रगत र पसिना बगाउन बाध्य छन् । युवाहरुको निरासा, कुण्ठा र अराजकतालाई कता–कता साम्राज्यवादका एजेण्टहरुले नजानिदो तबरबाट प्रयोग गर्न खोजेको पनि देखिन्छ । साम्राज्यवादका दलाल एनजीओ र आईएनजीओहरुले केही विष भरिएका र केहि गुलिया लड्ु बाडेर समग्रमा माओवादी क्रान्ति नै बेठिक थियो, माओवादी भन्ने पार्टी नै बेठिक हुन् र माओवादी नेताहरु सबै बेठिक छन् भनेर युवाहरुको आक्रोशलाई वास्तविक माओवादीका विरुद्ध, वास्तविक माओवादी आन्दोलनका विरुद्ध, वास्तविक माओवादी नेताहरुको विरुद्ध नजानिदो तबरबाट उकासिरहेका छन् । यो अत्यन्तै दुखद् र खतरनाक पक्ष हो । प्रचण्ड, बाबुरामले गरेका गलत व्यवहार, गलत निर्णय र गलत चिन्तनका कारणले त्यसलाई मलजल गरी रहेका छन् । यसलाई क्रान्तिकारी तरिकाले अत्यन्तै मिहिन तबरबाट अध्ययन गर्ने, अनुसन्धान गर्ने र भ्रमलाई साफ पार्ने कुरामा मेहनत गर्न आवश्यक छ ।

जनमुक्ति सेनामा आवद्ध युवाहरुलाई मात्र होइन, जनगणतन्त्र प्राप्तिका निमित्त शहीद, बेपत्ता भएका योद्धाका परिवारदेखि घाइते योद्धाहरुलाई समेत वास्तविक क्रान्तिबाट विमुख बनाउन एनजीओ र आईएनजीओमा लागेका एकाध व्यक्तिहरु कम्मर कसेर लागेका छन् । वर्ग दुश्मनका पहरेदार बनेर बसेका संशोधनवादीहरुको काँधमा बन्दुक राखेर सर्वहारा वर्गको छातिमा गुलिया, मिठा गोलीहरु ताक्दै छन् । यसर्थ यतिबेला शहीद÷बेपत्ता योद्धाहरुको परिवार र घाइते योद्धाहरुले आफ्ना परिवारबाट बगेको रगतमाथि कसैलाई होली खल्ने ठाउँ नदिनका निमित्त सचेत बन्न आवश्यक छ । दशवर्षको वर्ग संघर्षको क्रममा तिनै महान शहीदहरु, बेपत्ता योद्धाहरु र घाइते योद्धाहरुले वर्गदुश्मन मुख्य त साम्राज्यवाद, विस्तारवाद र सामन्तवादको अन्त्यका लागि त्याग, वीरता र वलिदान गरेका थिए । तर आज विषय उल्टेको छ । सर्वहारा वर्गको आन्दोलन कमजोर भएको बेला हाम्रा वर्गवैरीहरुले क्रान्तिकारीहरुमाथि बदला लिन पीडामा छटपटी रहेका बेला स्वयम् शहीद र बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई मालेमावादका वैचारिक सिद्धान्तका विरुद्ध, माओवादी पार्टीका विरुद्ध र वर्ग संघर्षका विरुद्ध बोल्न उक्साईरहेका छन् । यस विषयमा होसियार हुन आवश्यक छ ।

विगतमा क्रान्तिको नेतृत्व गरेका एकाध नेताहरुको बेइमानीका कारण इमान्दार व्यक्तिहरुमा समेत नकारात्मक छाप पर्ने र क्रान्तिमा उदासिनता पैदा हँुदोरहेछ । सच्चा सर्वहारावर्गका प्रतिनिधिहरुले यस प्रकारको उदासिनतालाई आफ्नो वर्गप्रति निस्ठावान भएर गहिरो अध्ययनका साथ चिर्न आवश्यक छ । उदासिनता, अकर्मण्यता र वैचारिक विचलनका कारण हिजो जनमुक्ति सेनामा भर्ति भएर वर्गदुश्मनका विरुद्ध जीवन बाजी लगाएर लडेका योद्धाहरुलाई पनि साम्राज्यवादले कतै न कतैबाट भड्काउने कोशिस गर्दैछन् । बाँकि रहेको क्रान्तिको कार्यभारबाट विमुख गराउन हर तहको कोशिस गर्दै छन् । त्यसैले यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका वर्गदुश्मनहरु संशोेधनवादी तथा नवसंशोधनवादीहरुको काँधमा चढेर मालेमावादको वैचारिक हतियारलाई कमजोर बनाउने तथा वर्गसंघर्ष उठेमा दमन गर्ने उद्देश्यका साथ नेपालमा केन्द्रीत छन् । वर्गीय समाजमा यसो हुनु अनिवार्य नै छ ।

तर सवाल के हो भने नेपाली जनता इमान्दार छन् । आफ्नो वर्ग र समाजको मुक्तिका निमित्त प्रतिबद्ध पनि छन् । इमान्दार जनसमुदायको पंक्तिबाट आएका कम्युनिष्ट कार्यकर्ताहरु झनै इमान्दार हुने नै भए । क्रान्तिमा, वर्गसंघर्षमा इमान्दारहरुको ठुलो जथ्या तयार पार्न पर्छ । सर्वहारा वर्गीय क्रान्तिमा इमान्दारिताले मात्र पुग्दैन । वर्ग अन्तरविरोधलाई वस्तुसम्वत तवरबाट बुझ्ने, वर्गसंघर्षप्रति प्रतिबद्ध, वर्गप्रति प्रतिबद्ध, मालेमावादको सिद्धान्तप्रति प्रतिवद्ध तथा संशोेधनवादप्रति घृणा गर्न सक्ने आँट र हिम्मतका साथै वैचारिक क्षमताको विकास भएका व्यक्तिहरुको बढी आवश्यकता पर्दछ । किन कि, सर्वहारा वर्गको आन्दोलनमा संशोधनवाद अत्यन्तै खतरनाक तवरबाट आउने गर्दछ । हाम्रो देशको सर्वहारावर्गीय आन्दोलनमा समेत त्यहि भएको छ । विगतदेखि नै कोहि सामन्तवादका दलालका रुपमा, कोहि साम्राज्यवादका दलालका रुपमा माक्र्सवादको खास्टो ओडेर वर्ग संघर्षका विरुद्ध आफ्ना दैनिक हर्कत गर्दै आएका थिए । दशवर्षको जनयुद्धको भीषण वर्गसंघर्षले ठूलो धक्का दिदै आउने क्रममा प्रतिक्रियावादी वर्गसँगै शंसोधनवाद पनि कमजोर बनेको थियो । जब मालेमावादका नाममा माओवादी पार्टीभित्रैबाट पैदा भएको नवशंसोधनवाद आज निकै खतरनाक रुपमा आईरहेको छ । केहीले मालेमावादलाई ठाडै इन्कार गरेता पनि केहीले अझै भ्रम दिइरहेका छन् । माओवादी आन्दोलनबाट आएका कार्यकर्ताहरु इमान्दार त भए तर वैचारिक बन्न सकेनन् । जसले गर्दा मालेमावादको वैचारिक सिद्धान्तबाट च्युत भएका बाबुराम भट्टराईले समेत एउटा हिस्सालाई अझै भ्रम दिन सफल छन् भने प्रचण्ड र विप्लवले त झन कम्युनिष्टको साइनबोर्ड झुण्डाएर ठुलै भ्रम दिइरहेका छन् । रुप फरक तर सार एउटै ‘सुधारवादी धार’ समातेका कोही माओवादी नाममा, कोही नयाँ शक्तिका नाममा, त कोही कम्युनिष्ट पार्टीका नाममा देखा परेका घोर अवसरवादी तत्वका बारेमा स्पष्ट नपारिकन क्रान्तिकारीहरुलाई गोलबन्द गर्न सकिंदैन ।

१. बाबुराम भट्टराईको नयाँ शक्ति – यो समूह मालेमावादको वैचारिक सिद्धान्तका विरुद्ध मुख्यतः सर्वहारा वर्गीय क्रान्तिको घाँटी निमोठ्नका खातिर खडा गरिएको एउटा बर्जुवा वर्गको प्रतिनिधित्व गर्ने समुह हो । यतिबेला त्यस समुहमा बाबुराम भट्टराई लगायत केही व्यक्तिहरु हिजो जनयुद्धमा लागेका व्यक्तिहरु हुन् भन्नु बाहेक अन्य विषय उनीहरु सँग छैन । उनीहरुसँग मात्र बाँकी रहेको विषय भनेको हिजो उनीहरु पनि माओवादी थिए भन्ने मात्र हो ।

माक्र्सवाद अपुरो छ, त्यसैले पुँजीवाद नै पुर्ण छ, त्यसलाई नयाँ तवरवाट व्याख्या, विश्लेषण र संश्लेषण जरुरत त्यो काम म पुरा गर्छु भनेर स्वयम् बाबुराम भट्टराईले भनिरहँदा र मालेमावादका आधाभूत सिद्धान्तको परित्याग गरी सर्वहारावर्गीय कार्यभारका ठाउँमा पुँजीवादी कार्यभारसहित पार्टीको नाम समेत नयाँ शक्ति नामांकरण गरेर सबै प्रकारका बुर्जुवा पार्टीहरुसँग एकता गर्दै हिडेका अवस्थामा अझै पनि बाबुराम भट्टराईलाई सर्वहारा वर्गका प्रतिनिधि हुन् कि भनेर बुझ्नु वा नयाँ शक्तिलाई सर्वहारावर्गको पार्टी नै हो कि भनेर बुझ्नु भनेको बालुवा पेलेर तेल निकाल्न खोज्नु जस्तै हो । बरु स्वयम् बाबुराम भट्टराई इमान्दार बुद्धिजीवी देखिए । किन कि, म सर्वहारा वर्गको विचार मालेमावादलाई मान्दिनँ, सर्वहारावर्गले चलाउने वर्गसंघर्षलाई मान्दिनँ, सर्वहारा वर्गको अधिनायकत्वलाई मान्दिनँ भनेर खुलेआम भनिदिए । यस कारण अबको बाबुराम भट्टराई र उहाँको नयाँ शक्ति भनेर समुहले समाजमा उत्पीडनमा परेका मजदुर किसान, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लीम र उत्पीडित क्षेत्रका जनताको सरोकारको विषय वा मुक्तिको विषयलाई प्राथामिक होइन बर्तमान अवस्थालाई कायम राख्न उनले भनेका छन् आर्थिक विकास । यो त केवल उत्पीडनमा परेका वर्ग र समुदायलाई झुक्याउने नारा मात्र हो । बरु यसका पछाडि लाग्नु र भ्रममा पर्नु भनेको नै विडम्बना हो ।

२. प्रचण्डको माओवादी केन्द्र– यो समुहले दश वर्षको जनयुद्धको क्रममा दशौ हजार भन्दा बढी महान शहिदहरु, हजारौं हजार बेपत्ता शहीद योद्धा तथा घाइते योद्धाहरुको त्याग, वीरता र वलिदानबाट प्राप्त आधार इलाका, स्थानीय जनसत्ता, जनमुक्ति सेना तथा रगतसँग साटिएका हतियार लगायत कयौँ उपलब्धीहरुलाई समाप्त बनाएर वुर्जुवासँग हातेमालो गर्दै वर्गीय विचार ‘मालेमावाद’को आधारभुत सिद्धान्तलाई परित्याग गर्दै आफुलाई क्रमशः बुर्जुवाकरणको दिशामा अगाडि बढाउदै गरेकाे समुह हो । जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने महान शहीदहरु, बेपत्ता योद्धाहरु र घाइते योद्धाहरुको त्याग, वीरता र वलिदानले स्थापित गरेको इमेजलाई प्रयोग गरेर दुश्मनका अगाडि घुँडा टेकेर पटक–पटक सरकारमा पुगेको उक्त समुह यही बुर्जुवा लोकतान्त्रिक गणतन्त्रलाई संविधानद्वारा संस्थागत गर्न तल्लीन छ ।
यसरी हेर्दा यो समुह वा प्रचण्ड अझै पनि सर्वहारा वर्गलाई झुक्याउन मालेमावाद पार्टीको नामका पछाडि माओवादी राखी राख्न चाहान्छन् । वर्गीय विचार, कार्यदिशा र वर्गसंघर्षलाई छाडेर यतिबेला उनीसँग छ भने केबल नाम मात्र छ । मजदुर, किसान, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लीम र उत्पीडित क्षेत्रका जनताको पक्षमा होइन, बरु वर्गवैरीको हितमा नियम कानुन निर्णय गरेर सर्वहारा वर्गले आन्दोलन उठाइहालेमा दमनका निमित्त प्रशस्त मात्रमा वातावरण बनाइरहेका छन् । यो समुह पनि यहि बुर्जुवा लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्न त्यहि जनविरोधी संविधान लागु गर्न टुप्पीदेखि पैततालासम्मको बल लगाइरहेका छन् । मात्र फरक भनेको नयाँ शक्ति समुहले भित्र जे लागेको थियो, त्यसलाई जस्ताको तस्तै बाहिर ल्याएर आफूलाई इमान्दार बुर्जुवाका रुपमा प्रस्तुत ग¥यो । एक थरी मानिस जानी–जानी लागेका छन्, एकाथरी अझै पनि भ्रमित भएर त्यसको पछाडी पछाडी दुगुर्दै छन् । क्रान्तिकारीहरुको काम भनेको भ्रममा परेकोहरुलाई भ्रमबाट मुक्त बनाउने र बुझेर सर्वहारा वर्गको घाँटी निमोठ्नेहरुको भण्डाफोर गर्ने हुनु पर्दछ ।

३. विप्लवको नेकपा– यो समुह वैचारिक विचलनमा परेको ढुलमुल र अस्थीर समुह हो । यसले रुपमा क्रान्तिकारी देखाउँछ तर सारमा छिटो–छिटो सुधारवादको धार पकड्दै गरेको छ । राजनीतिक कार्यदिशामा अस्पष्टता, फौजी कार्यदिशाको अभाव, विस्तारवाद भन्न छाड्नु, साम्राज्यवादलाई उत्तर साम्राज्यवाद भन्नु जस्ता विषयहरुलाई हेर्दा विप्लव समुह अत्यन्तै केटौले तरिकाबाट अगाडि बढ्दै त छैन ? यस प्रकारको सोचले अन्ततः वर्गसंघर्ष होइन उहाँहरुले भन्दै आएको ‘सत्ता शाझेदारी’को वर्ग समन्वयको दिशामा छिटो–छिटो पु¥याउँदैछ । तर्क जे दिए पनि बरु उहाँहरुले भर्खरै सम्पन्न गर्नु भएको महाधिवेशनबाट पार्टीको नामको पछाडि माओवादी हटाएर एउटा भ्रम दिने कुराबाट मुक्त हुनु भएको छ ।

यसरी हेर्दा हिजो ०५१ सालको तेस्रो विस्तारित बैठकले तय गरेका नीतिहरु, त्यतिबेला गरिएका प्रतिवद्धताहरु वास्तवमा माओवादीको वैचारिक सिद्धान्तका जगमा टेकेर गरिएका थिए । सर्वहारा वर्गीय क्रान्तिका उक्त सारलाई पकड्नका निमित्त पार्टीको नाममा पछाडी माओवादी राखेका थियौँ । आज सामन्तवादको मुख्य प्रतिनिधि राजतन्त्रलाई हटाउन बाहेक अन्य धेरै उपलब्धी प्राप्त गर्न सकेका छैनौँ । मुख्य सर्वहारा वर्गको हातमा राज्य सत्ताको बागडोर नआएसम्म न त मजदुर, किसानका समस्याको समाधान हुन्छ न त महिलाको नत दलितका समस्या नै समाधान हुन्छ न त मुस्लीमको, न त आदिवासी जनजातिका समस्या समाधान हुन्छन्, न त मधेसीको । बुर्जुवा पार्टीहरुबाट यी समस्याको समाधान होइन यो त सर्वहारा वर्गको विचार बोकेको पार्टीले गर्ने हो । अहिले यतिबेला समाजमा दुई प्रकारका अन्तरविरोध रहेका छन् । एउटा, वुर्जुवा–बुर्जुवा वर्गको बीचको अन्तरविरोध । अर्को शोषित, उत्पीडित र शासितका बीचको अन्तरविरोध । यो अन्तरविरोधको समाधान भनेको मालेमावादको गाइडलाइनलाई दह्रोसँग पकडेको एक मात्र क्रान्तिकारी पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा हुने सशसस्त्र विद्रोहद्वारा बुर्जुवा वर्गको विचारमा निर्मित सत्तालाई विस्थापित गर्नु हो ।

तसर्थ, बाबुराम समुह, प्रचण्ड समुह वा विप्लव समुहहरु यतिवेला न त क्रान्तिकारी विचारका आधारमा स्पष्ट कार्यदिशा, नीति, योजना र कार्यक्रम बोकेका समुह हुन्, न त त्यो हो जसले आफ्ना वर्गीय लक्ष्य बाकेको होउन् । यीनीहरु वर्गीय विचार, वर्गीय दृष्टिकोणबाट च्युत भएका गैर माओवादी हुन् । माओवादी त त्यो हो जसले आफ्नो वर्गीय लक्ष्य बाकेको हुन्छ । यिनीहरु त केबल दशवर्षको जनयुद्धको बेला माओवादी थिए तर आज त्यो छाडेर गए । त्यसैले अबका दिनमा भ्रममा नपरौं । एक मात्र क्रान्तिकारी विचारसहितको जनविद्रोहको कार्यदिशा भएको नेकपा (क्रान्तिकारी माओवादी) को वरिपरि गोलबन्द हँुदै ०५१ सालको तेस्रो विस्तारित बैठकले गरेको प्रतिबद्धतालाई पुरा गर्न नयाँ जनवादी क्रान्तिमा सहभागी बन्नु नै आजको मुख्य अभिभारा हो ।