
एजेन्सी । सिरियाको दमास्कसको पुरानो सहरमा दुई वटा बम विस्फोट गराउँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
बाब अल–सागिर नजिकै शिया तिर्थयात्रीलाई लक्षित गरी भएको सो आक्रमणमा थप सय जनाभन्दा बढी घाइते भएका छन् ।
आक्रमणमा परी मारिएका र घाइते भएका इराकी तिर्थयात्री रहेको जनाइएको छ । सिरियाको राजधानी दमास्कसमा भएको यसप्रकारका हिंसाका घटनामा सुन्नी लडाकुहरुको संलग्नता रहने गरेको छ ।
सिरियामा गत ३० डिसेम्बरमा रुस, टर्की र इरानको मध्यस्थतामा राष्ट्रव्यापी रुपमा युद्धविराम भई कजाकस्तानको राजधानी अस्तानामा वार्ता भएपनि यसप्रकारका छिटपुट घटनाहरु भइरहेका छन् ।
दमास्कस सिरियाली सरकारको बलयो पकड क्षेत्रका रुपमा रहेपनि सहरको बाहिरी क्षेत्रमा विद्रोहीको उपस्थिति रहेको छ । यो समाचार तयार पार्दासम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । इराकी विदेशमन्त्री अहमेद जमलले यो घटनालाई आपराधिक घटनाको संज्ञा दिएका छन् ।
सिया तिर्थयात्री सवार बसलाई लक्षित गरी दुई वटा आत्मघाती बम हमला भएको हो । विस्फोटमा परी क्षतिग्रस्त बनेका बसको नजिकै रगत बगेका दृश्यहरु देखिएका छन् । गत जनवरीमा पनि काफ्र सौसा जिल्लामा गराएको यस्तै बम विस्फोटमा १० जनाको मृत्यु भएको थियो ।