काठमाडौं । आज मार्च ८ अर्थात १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ ।
‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूलनाराका साथ श्रमिक महिला दिवस मनाउन लागिएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।
सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालेका हुन् ।